उर्लाबारी । अपांगता भएकालाई माया सम्मान र अवसर दिनसके उनीहरुले आफूलाई मात्र होइन समाजलाई पनि राम्रो योगदान दिनसक्छन् । मोरङ उर्लाबारी–२ का रुद्र दास त्यस्तै उदाहरणीय व्यक्ति हुन् ।
जन्मदैदेखि दृष्टिविहिन भएपनि ४७ वर्षीय दासमा बेजोड प्रतिभा छ । दास बाँसुरी बजाउन माहिर छन् । जुनसुकै गीतको धुन पनि हुबहु प्रस्तुत गर्दछन् ।
दासले पूर्वको झापा, मोरङका विभिन्न स्थानहरुमा पुगेर बाँसुरीको धुन सुनाइसकेका छन् । उनले बाँसुरीबाट निकाल्ने धुनबाट प्रभावित नहुने कमै होलान् । उनी बाँसुरीसँग बादल र हारमोनियम पनि उत्तिकै राम्रो बजाउँछन् । नौमति बाजा बजाउन पनि निपूर्ण छन् । उनी मुढा बुन्न र मोही पार्ने मदानी बनाउन पनि अब्बल छन् ।
दृष्टिविहिन हुनुको पीडैपीडा
‘मदानी बनाएर बेच्न लग्यो ‘अन्धो’ ले पनि मदानी बनाउँदो रहेछ भन्दै खिस्सी उडाइन्छ, मुढा बुनेर बेच्न लग्यो, हेर ‘अन्धो’ ले पनि मुढा बेच्न ल्यायो भन्दै मजाक उडाइन्छ’ उनको गुनासो छ । बाटोमा हिँड्दा पनि ‘अन्धो’ पो रहेछ भन्ने तथा गाडीमा चढ्न खोज्दा ‘अन्धो’ लाई नचढा भन्दै अपहेलना गर्ने गरेको उनको गुनासो छ ।
आपांगता भएको परिचय पत्र देखाएर भाडा छुट माग्दा ‘अन्धोलाई पनि छुट रे, यसले पैसा पनि चिन्छ ?’ भन्दै अपहेलना दासले भोगेका छन् । प्रहरी कार्यालय अगाडि गएर उभिँदा पनि अपमान सहनुपरेको र गाडी चढाइदिन सहयोग माग्दा गाली खानुपरेको उनको गुनासो छ । आफूलाई शिक्षित भन्ने युवाहरुबाटै पनि अपांगता भएकाहरु मार खेप्नु परिरहेको छ ।
अपाङ्ग भएका ब्यक्तिहरुका अधिकार कागजमा ठूलै अक्षरले लेखेर पनि व्यवहार भने निच रहेको दासको भोगाइ छ । स्थानीय तहको वडा कार्यालयका अध्यक्षदेखि मेयरसम्मलाई भेटेर आफ्ना समस्याहरु सहज रुपमा अपाङ्गता भएकै आधारमा राख्न नसकिएको उनी गुनासो गर्छन् । दुःख बिरामीमा प¥र्या भने ‘यो त मरेपनि हुने’जस्ता अपशब्द सुन्नपर्ने उनको भनाइ छ ।
यो समस्या दासको मात्र होइन । उनीजस्ता हाम्रो समाजमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुको समस्या पनि हो । उनी एउटा प्रतिनिधि पात्र हुन् । आफूलाई अगुवा भनेर चित्रण गर्नेहरुबाट उनीहरु अपहेलित हुँदै आएका छन् ।
अपाङ्गता भएका ब्यक्तिहरु घरबाटै अपहेलित छन्, त्यसपछि हाम्रो समाजबाट । अपाङ्गता भएका ब्यक्तिहरुलाई सरकारी कार्यालयमा त अपाङ्ग भएका ब्यक्तिहरुलाई दुःखै दुःख मात्र छ । उनीहरुलाई सरकारी कर्मचारीले पनि सहयोग गर्दैनन् ।
रुद्रकै कुरा मान्ने हो भने इलाका प्रशासन कार्यालय उर्लाबारीमा केही काम लिएर जाँदा धेरै दुःख र अपहेलनाको शिकार बन्नुपरेको छ । स्थानीय तहका कार्यालयहरु अपाङ्गमैत्री छैनन् । वडाध्यक्षदेखि मेयरसम्मलाई सहज रुपमा उनीहरुले भेटेर कुरा राख्न सक्ने वातावरण छैन ।