सभ्य शहरको परिचय व्यवस्थित फुटपाथ 

नेपालको सडक मापदण्ड अनुसार व्यस्त ठाउँमा कम्तिमा १.५ मिटर फुटपाथ हुनुपर्छ ।  फुटपाथमा मान्छेको चाप अनुसार चौडाई बढाउनुपर्छ । ५ सयभन्दा बढी मानिस आवतजावत गर्ने सडकमा १.५ मिटर चौडाईको फुटपाथ हुनुपर्छ । १५ सय जना हिँड्ने सडकमा २ मिटरको र ३५ सय मानिसले प्रयोग गर्ने ठाउँमा ३ मिटर चौडाइको फुटपाथ हुनुपर्ने कानूनी व्यवस्था छ । विश्वव्यापी रुपमा फुटपाथको चौडाई ४ मिटर हुनुपर्ने मापदण्ड छ । तर, हरेक ठाउँमा सोहि मापदण्ड अनुसार फुटपाथ निर्माण सम्भव नभएकाले कम्तिमा १.२ देखि १.५ मिटरसम्मको फुटपाथ निर्माण गर्नुपर्छ ।

ऐनमा उल्लेख भएको मापदण्ड अनुसार भए नभएपनि विराटनगर महानगरपालिकामा फराकिला सडक बन्दा टायल छापिएका फुटपाथ पनि बनाइएका छन् । तर, ती  फुटपाथमा  यात्रुहरुले निर्धक्क हिँड्न पाइरहेका छैनन् । अझै पनि फुटपाथमा बाधा हाल्ने र अतिक्रमण गर्ने काम उस्तै छ । कतै पसलेहरुले मेरै निजी सम्पत्ती त हो नि भनेझै फुटपाथ अतिक्रमण गरिहेका छन् । कतै खुद्रा पसलेहरुले आफ्नो जिविकोपार्जनको माध्यम फुटपाथलाई बनाइरहेका छन् । कतै टहरा राखिएका छन् भने कतै वर्कसपहरु खोलिएका छन् । कतै फुटपाथमै सवारी पार्किङ गरिन्छन् । कतै साइनबोर्डहरु राखिन्छन् ।

झन् गज्जब चाँही के भने जान्नेबुझ्ने समाजसेवीहरुले पनि फुटपाथमै बाधा हाल्ने गरेका छन् । फुटपाथमा बाधा नहाली समाजसेवा गर्ने विकल्पहरु भएपनि देखासिखीका लागि विराटनगरमा सस्तो भात पसल सञ्चालन गरिदैछ । विराटनगरको मेनरोड स्थित जैन भवन अगाडिको फुटपाथमा टेण्ट लगाएर महिनौदेखि सस्तो भात पसल चलिरहेको छ । दश रुपैयाँमा भरपेट खाना प्रदान गरेर देखिने समाजसेवाको प्रशंसा बटुल्नु पक्कै राम्रो कार्य हो । तर, समाजसेवाका लागि फुटपाथमै बाधा हाल्नु चाँही सुहाउने कार्य हैन । समाजसेवीहरुले सञ्चालन गरेको जैनभवन आगाडिको फुटपाथमा बाधा हाल्दा बिहान ११ देखि १ बजेसम्म त्यहाँ निक्कै ट्राफिक समस्या हुनेगरेको छ । अस्तव्यस्त भीड र पार्किङले गर्दा कुनै दिन अप्रिय घटना हुदैन भन्न सकिदैन । अर्कोतिर महिनांै फुटपाथमा बाधा हुँदा सुरक्षित बाटो हिँड्न पाउने यात्रीहरुको अधिकार हनन् भइरहेकोप्रति ट्राफिक प्रहरी र महानगरपालिकाले देखेर पनि नदेखेझै गरेका छन् । यसैले फुटपाथमा बाधा हालेर सञ्चालन भएको पसललाई बिकल्प दिएर अन्तै सार्न लगाउनुपर्नेमा बरु अतिथि भनेर खाना खाएर नगरप्रमुखहरुले हौसला दिँदै आएका छन् । यसलाई दिगो रुपले सञ्चालन गर्ने हो भने  महानगरपालिकाले विकल्प दिएर फुटपाथ खाली गराउनु आवश्यक छ । अस्थायी हो भने समाजसेवीहरुले तुरुन्त फुटपाथमा बाधा नपर्ने गरि पसल सञ्चालन गर्नु उपपुक्त हुन्छ ।

फुटपाथमा स्वतन्त्र र सुरक्षितपूर्वक हिँड्न पाउने हरेक मानिसको अधिकार हो । फुटपाथमा प्रायः बालबालिका , जेष्ठ नागरिक, असक्त अपाङ्गता भएका र गरिबहरुले धेरै  हिँड्नुपर्छ  । किनमेल गर्ने धनीहरुलाई पनि फुटपाथ आवश्य पर्छ । फुटपाथमा बाधा हालेर स्वतन्त्र र सुरक्षित रुपले  हिँड्ने अधिकार उल्लंघन गर्नु असभ्य व्यवहार त हो नै मानव अधिकार बिरोधी कार्य पनि हो ।

सडक र ढलनाला स्तरोन्नतीले गर्दा ५ वर्ष  अस्तव्यस्त भएको  विराटनगर  बिस्तारै १ नम्बर प्रदेशको राजधानी शहर हो कि ! जस्तो लाग्न थालेको छ । बाँकी निर्माण कार्य सम्पन्न भएपछि विराटनगरले पक्कै राजधानी शहरको रुप लिनेछ । अनि शहरलाई सुन्दर बनाउन महानगरले रेलिङ राखेर चौकहरुको सौन्दर्यकरण गरेपछि झनै राम्रो हुनेछ । सुनिदैछ महानगरले हाइबेमा फुलरोप्ने योजना बनाइरहेको छ । हिमालय रोडलाई स्मार्ट पार्क रोडमा विकास गर्दैछ । शहरका बिभिन्न चौकमा २५ भन्दा बढि हरियाली पार्कहरु निर्माण गर्दैछ । यसबाहेक महानगरपालिकाले सडक किनारमा फुलका गमला राख्ने काम सुरु गरिसकेको छ । आवतजावतलाई सहज बनाउन आकाशे पुलहरुको निर्माणका लागि डिपिआर पनि तयार गरिसकेको छ । उत्तर र दक्षिणमा आकर्षक प्रबेशद्वार पनि निर्माण गरिरहेको छ । तर, किन हो अझै शहर राम्रो बनाउने योजना अन्तर्गत  महानगरपालिकाले  विराटनगरको फुटपाथ व्यावस्थापनमा चाँही चासो दिइरहेको छैन ।

शहरको सुन्दरता चिल्ला सडक, अग्ला महल, भ्यु टावर र हरियाली पार्कहरुले मात्र हुदैन । जबसम्म शहरको फुटपाथ व्यविस्थत हुदैन, तबसम्म शहर सभ्य र सुन्दर हुनसक्दैन । किनकी फुटपाथ व्यवस्थित नभएसम्म ट्राफिक व्यवस्थापन नै हुदैन । यसैले महानगरपालिकाले अब फुटपाथ अनुगनम गरेर खाली गराउनुपर्छ । अटेर गर्नेहरुलाई कानून अनुसार कार्वाही गर्नुपर्छ । अर्कोतिर फुटपाथलाई  सम्मान गर्ने सँस्कृतिको विकास गराउन पहल पनि थाल्नुपर्छ । किनभने फुटपाथ गरिब, असाहय र असक्तहरुको मात्र हैन, सबै मानवको साझा अधिकार  हो । फुटपाथ व्यस्थित भए हिँड्ने पैदलयात्रीलाई मात्र हैन पसले, महानगर, महानगरबासी र सिंगो देशलाई फाइदा पुग्छ । हामी राष्ट्रिय अन्तराष्ट्रियमा सम्य महानगरका बासिन्दा कहलिन सक्नेछौ । फुटपाथलाई सम्मान गर्ने सँस्कृतिको बिकासका लागि  हामी नगरका सचेत पेशाकर्मी, पत्रकार, समाजसेवी, नागरिक समाज, उद्योगी व्यपारी सबैले साथ दिन जरुरी छ ।

सोमबार, १९ फागुन, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर