नेपालमा भ्रमण वर्ष २०२० चलिरहेको छ । नेपाल सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, भ्रमण वर्षको प्रारम्भमा नै चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस विश्वका विभिन्न मुलुकमा भित्रिएपछि त्यसको असर भ्रमण वर्षलाई पनि परेको छ ।
यद्यपी भ्रमण वर्ष चलिरहँदा आन्तरिक पर्यटकको चहलपहल भने बढ्दै गएको छ । अपेक्षाकृत नभएपनि बाह्य पर्यटकहरु भित्रने क्रम पूर्ण ठप्प भएको छैन । भ्रमण वर्ष मनाईरहँदा तीनै तहका सरकारले भौतिक पूर्वाधारमा भने पर्याप्त लगानी गर्न नसकेको आभाष हुन्छ ।
नेपालको घुम्नैपर्ने १ सय गन्तव्य सूचीमा रहेको ईलामको पर्यटकीय स्थल सुर्योदय नगरपालिकाको श्रीअन्तु पनि एक हो । श्रीअन्तु होस् या चियाबगानले मनमोहक देखिने कन्याममा पर्यटकहरुको चहलपहल निकै हुने गरेको छ । तर, त्यहाँ पुग्ने धेरै पर्यटकरुहले मनोरञ्जन त लिएर फर्किन्छन् नै, साथमा गुनासासमेत पोख्ने गरेका छन् । अत्यन्त चहलपहल हुने श्रीअन्तुसम्म पुग्ने सडक, स्वास्थ्य संस्था, बैंक, इन्टरनेटलगायतका पूर्वाधार नहुँदा पर्यटकहरुले समस्या झेल्दै आउनुपरेको छ । पर्यटकीय दृष्टिकोणबाट अपरिहार्य हुने यस्ता पूर्वाधारहरुको विकासमा सम्बन्धित निकायको ध्यान जान सकेको देखिदैन ।
यस्तै ‘होमस्टे’को व्यवस्था रहेको श्रीअन्तुमा होमस्टेको नाममा होटलहरु मात्र रहेको अनुभूति जोकोहीले गर्ने गरेका छन् । श्रीअन्तु पुगेर स्थानीय अग्र्यानिक परिकार खान रहर गर्नेहरुको त्यो रहर भने पुरा नहुनसक्छ । त्यसैले पनि स्थानीय होमस्टे सञ्चालकहरुले पनि पाहुनाको चाहना अनुसार आफूहरुलाई रुपान्तरण गर्न आवश्यक देखिन्छ ।
होमस्टेको अवधारणामा कस्तो हुनुपर्छ ?
–पाहुनाहरुको लागि हरेक घरमा कम्तीमा एउटा कोठा र दुई ओच्छयान भएको हुनुपर्छ, भने एक घरमा बढीमा ४ कोठा र ८ बेड मात्रै राख्न पाइन्छ ।
– शौचालय र स्नानगृह अनिवार्य हुनुपर्नेछ ।
– घरायसी र वातावरणीय सरसफाई हुनुपर्नेछ ।
– घरायसी फोहरमैला व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोरको छुट्टाछुट्टै व्यवस्थापन गर्नुपर्नेछ ।
– टेलिफोन, ईन्टरनेट र वित्तीय संस्थाको व्यवस्था हुनुपर्नेछ ।
– स्थानीय कृषि घरेलु तथा हस्तकला प्रविधिमा सहभागी गराई पर्यटक तथा स्थानीय जनताबीच जीवनशैली कला संस्कृति भेषभुषाको विषयमा जानकारी गराउनुपर्नेछ ।
यी होमस्टेका आधारभुत विषय हुन् । तर, श्रीअन्तुमा पुग्ने पर्यटकहरुले यी विषयको पूर्ण स्वाद चाख्न पाउदैनन् । त्यसैले होमस्टेमा भेटिएका आन्तरिक पर्यटक रोमन कोइरालाले भने, ‘होमस्टेका नाममा होटल जस्तो लाग्यो । यहाँ पनि नास्तामा चाउचाउ पाइने रहेछ ।’ यो त एउटा उदाहरण मात्र हो । श्रीअन्तुमा न्यूनतम एटिएम, इन्टरनेट र स्थानीय परिकारमा जोड दिन आवश्यक देखिन्छ । यसलाई स्वीकार गर्दै सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले श्रीअन्तुको विकासका लागि विभिन्न क्षेत्रसँग छलफल भइरहेको प्रतिक्रिया दिनुभयो । उहाँले होमस्टेको विषयमा गुनासो आएको र त्यसलाई व्यवस्थापनका लागि कार्यविधि बनाइने बताइरहँदा त्यो चाँडै होस् भन्ने शुभकामना दिन मन लागेको छ । यस्तै श्रीअन्तुको विकासका लागि त्यहाँको लेप्चा समुदायको संस्कृति उत्थान गर्न पनि उत्तिकै आवश्यक छ ।
नेपालमा रहेका संस्कार र संस्कृतिलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्न र पर्यटकीय स्थानलाइ व्यवस्थित बनाउन तीनै तहका सरकारसँगै स्थानीयले ध्यान दिन सकुन् । जय भ्रमण वर्ष !