जंगली जनवारको आतंक भो
मोहमद ताहिर मियाँ
प्रदेशसभा सदस्य, सुनसरी
म आफ्नो क्षेत्रको केही कुरा राख्न चाहन्छु । कोशीटप्पु वन क्षेत्रका जनावर विशेषगरी निलगाई, हरिण आदि जङ्गलबाट निस्किएर किसानको मकैबालीमा आतंक मच्चाइरहेको छ । यो वन क्षेत्रमा नियन्त्रण गर्ने कुनै मानिस वा निकाय छ कि छैन ? म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु यी जङ्गली जनावर दक्षिण बोर्डरसम्म पुग्छ । कतिपय पारी जान्छ र सखाप हुन्छ ।
अर्को कुरा हामीले धुमधामका साथ पर्यटन वर्ष मनायौं । मुख्यमन्त्रीले उद्घाटन गर्नुभयो । त्यहाँ मानिसहरु त्यहि जनावर हेर्न जान्छन् । घाँसपात हेर्न जादैनन् । त्यसैले जनावरको उचित संरक्षण गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।
फागुन ११ स्वर्णिम दिन
सीता थेवे
प्रदेशसभा सदस्य, पाँचथर
म आज आफू पाँचथरको जनप्रतिनिधिको हैसियतबाट यहाँ कविता र खिसिट्युरीको भाषामा व्यङ्ग्य गरिएको फागुन ११ लाई धन्यवाद दिन उभिएको छु । खास गरेर फागुन ११ पाँचथरवासी सुख्खाग्रस्त क्षेत्रका जनताको निम्ति एउटा स्वर्णीम दिन बनेर आयो । त्यहाँ उपस्थित हुनुहुने प्रधानमन्त्री केपी शर्मा ओली, खानेपानीमन्त्री बीना मगर र मुख्यमन्त्री शेरधन राईलगायतलाई धन्यवाद ज्ञापन गर्न चाहान्छु ।
२०६८ सालमा सुख्खाग्रस्त क्षेत्र घोषित कुम्मायक र तुम्मेवा गाउँपालिकामा वार्षिक तीन÷चार सयको हाराहारीमा बसाई जानेको संख्या निरन्तर थियो । गत वर्षको पम्पिङ खानेपानी योजनाले त्यो संख्यामा घटेर २ सयको संख्यामा झरेको थियो । यस पटकको १९ करोडको लागतमा ३ हजार घरधुरीलाई लक्षित गरेर निर्माण भएको तमर लिफ्टिङ खानेपानी योजना मार्फत २ हजार ८० वटा धारा जोडिएका छन् । त्यसबाट सबै जनतालाई सुविधा भएको छ । अब त्यहाँबाट बसाई सर्ने क्रम रोकिने छ । गएकाहरु फर्किने मैले आशा गरेको छु ।
त्यहाँ १० करोडको लागतमा बनेको जनविद्युत आयोजना उद्घाटन भएको छ । नकारात्मक कुरा गर्दागर्दा अब त सकारात्मक कुरा सोच्नसमेत बिर्सने अवस्था आएको छ । यसबाट सबै मुक्त हुन आवश्यक छ । पाँचथरवासीको तर्फबाट त्यो फागुन ११ मा त्यहाँ आउने सबैलाई धन्यवाद व्यक्त गर्न चाहान्छु ।
सरकार काण्डैकाण्डमा मुछियो
राजीव कोइराला
नेता, नेपाली काँग्रेस संसदीय दल
विगतको निर्वाचन पछाडि संघीय सरकार र ६ वटा प्रदेशमा नेकपामा दुईतिहाईको बहुमतसहितको सरकार छ । समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर हिँडेको सरकार काण्डैकाण्डमा मुछिएको छ । टेपकाण्डदेखि पार्टी विशेषको कुनै आदरणीय नेतालाई राष्ट्रियसभामा लैजाने र प्रधानमन्त्री बनाउने अनि त्यसका लागि संविधान संशोधनको कुरासम्म आइरहेका छन् । संविधान संशोधनका लागि धेरै मुद्दाहरु छन् । मधेशको आवाज छ । त्यो मुद्दा कति जायज छ भनेर हेर्न बाँकी छ । तर, कुनै एकजना व्यक्ति विशेषलाई प्रधानमन्त्री बनाउन संशोधन गर्नु कतिसम्म जायज हुन्छ ? यसले केन्द्रीय राजनीतिमा अस्थिरताको बादललाई सिर्जना गर्न खोजिरहेको छ । त्यतातिर हाम्रो ध्यान गम्भीरतापूर्वक आकर्षण भएको छ ।
अहिले सम्माननीय राष्ट्रपतिको दार्चुला र बैतडीको भ्रमण भइरहेको छ । त्यहाँ सार्वजनिक बिदा दिने काम गरिएको छ । यसले संघीय गणतन्त्रलाई राम्रो गर्दैन । यो राजा महाराजाको पालाको संस्कारलाई बन्द गर्नुपर्छ ।
एक हप्ता अगाडि प्रदेश सरकारले सरकारको कार्यप्रगति विवरण मुख्यमन्त्रीबाट सार्वजनिक भएको छ । त्यसमा भाषा अत्यन्त राम्रो छ । तर, भौतिक पूर्वाधार विकास मन्त्रालयले केही गरेजस्तो देखिन्छ । अरु मन्त्रालयको प्रगतिमा गरिनेछ, हुनेछ भन्ने जस्ता अमुर्त तथा घोषणा पत्रमा लेखेजस्ता कुरा छन् । अबको तीन वर्षमा कुन लक्ष्य प्राप्त गर्न सक्छ प्रदेश सरकारले ? ७ महिनामा २६ प्रतिशत बजेट खर्च गरेको छ । अब ५ महिनामा विकासमा हामी कति खर्च गर्न सक्छौं ? असारे बजेट खर्च हुने संकेत छ ।
यो प्रदेश १ मा प्रदेशसभामा विभिन्न कुराहरु उठाउने र ध्यानाकर्षण गराउने गरिएको छ । तर, त्यसको जवाफ आउने गरेको मैले पाएको छैन । विषय उठान गर्नेले नै बिर्सिसकेपछि जवाफ आउने गरेको छ । जसले जवाफदेहिताप्रति प्रश्न उठेको छ । संसद भनेको कसले राम्रो भाषण गर्छ भनेर सुन्ने अनि घर गएर पत्रिकामा नाम हेर्नका लागि मात्र हुन्छ कि त्यसको कार्यान्वयन पनि हुन्छ ?
हरेक विधेयकहरुमा २५ पल्टसम्म तोकेबमोजिम भनेर राखिएको छ । यो नभई पनि नहुने तर यसको प्रयोग मन्त्रिपरिषद्मा बढी भएजस्तो भयो । संसदमा थाहै नहुने मन्त्रिपरिषद् अगाडि बढ्ने भयो । कतिवटा नियमावली र निर्देशिका बने भन्ने कुरा संसदलाई थाहा नहुने अवस्था भयो । त्यसको तत्काल व्यवस्था मिलाइयोस् ।
अन्तिममा इटहरी उपमहानगर १० बाट तिर्थयात्रीहरुको निधनप्रति हार्दिक श्रद्धाञ्जली र पीडित परिवारलाई राहातको व्यवस्था होस् ।