पत्रकारितामा एउटा भनाई छ ‘जो पत्रकारले प्रमाण नपु¥याई हचुवाका भरमा समाचार लेख्छ वा अर्काले लेखेको समाचारमा आफनो नाम टाँसेर ‘वाईलाईन’ समाचर छाप्छ त्यो आत्मसम्मान गुमाएको पत्रकार हो ।’ प्रसिद्ध खोज पत्रकार दिपक मेहताले भनेका छन्, ‘आत्मसम्मान गुमाएका पत्रकार हुन् वा साधारण नागरिक ती दुबै समाजका लागि हानिकारक हुन्छन् ।’
पत्रकारितामा मान्यता छ– ‘असल पत्रकार राष्ट्रका लागि असल पहरेदार हुनसक्छ ।’ तर, नाम र दाम कमाउनका लागि मात्रै मरिहत्ते गर्ने पत्रकार भनाउँदोले कतिबेला कुन संकट निम्त्याएर समाजलाई फसाउने हो थाहा हुदैन । नाम टाँस्ने पत्रकार र तीनलाई संरक्षण गर्ने सञ्चार माध्यम दुबै आत्मसम्मान गुमाएका लुब्धाहरु हुन् । दुबै देश र नाागरिकप्रति जिम्मेवार हुदैनन् । समाजको हित चाहदैनन् । आफ्नो बिजनेश (व्यापारी व्यवहार) को मात्र चिन्ता गर्छन् । दुबैको उद्देश्य समान हुन्छ– ‘सधै आफूलाई बडो बनाउन आफू नजिकका बडाको आशिर्वाद प्राप्त गर्न वरिपरी घुमेर पुच्छर हल्लाइरहनु ।’
लुब्धो पत्रकार र उसको सञ्चार संस्था सधै आफ्नो ‘भोक र भोग’ सँग मात्र सरोकार राख्छ । समाजको पीडा कष्टलाई महशुस गर्न सक्दैन । आत्मसम्मान गुमिसकेकोले राष्ट्रको पीडा महशुस गर्नसक्ने सामथ्र्य पनि राख्दैन । यसैले असल छिमेकीहरुको मानप्रतिष्ठा र दुःखकष्टको उनीहरुलाई हेक्का नै हुदैन । लुब्धो पत्रकारिता चटकेले हातमा नचाएको पुतली जस्तै अर्काको ईशारामा नाचिरहेको हुन्छ । यसैले लुब्धो पत्रकारिता राष्ट्रको पहरेदार हुनुभन्दा पनि माल पाउने आशमा मालिकका अगाडि सधैभरि पुच्छर घुमाइरहने ईमान्दार डग बनिरहन चाहन्छ । अन्तराष्ट्रिय प्रचलन अनुसार पत्रकारितामा आत्मसम्मान गुमाएका लुब्धा पत्रकारहरुलाई वाचडग हैन ‘ल्यापडग’ भनिन्छ ।
ल्यापडगहरु जनपक्षीय पत्रकारितामा हैन, सधैं नाफाको चिन्तामा हुन्छन् । यसैले सधै साहुकारी मानासिकता राख्ने घरानीयाहरुको जयगान गाउँछन् । संरक्षण गर्छन् र बढीभन्दा बढी नाफा कमाइरहने ध्येय लिइरहन्छन् । यसैले उनीहरु जनताले भोगेको कष्टभन्दा अमिताभ बच्चनका दारी र माधुरीका सारीका कथाहरु महत्वपूर्ण बनाइरहन्छन् । कसैलाई उचाल्छन् त कसैलाई स्वात्तै थेचार्छन् । आफ्नो आचारसंहिता आफैले उल्लघन गर्छन् । तत्व र मूल्य मान्यताको पनि ख्याल गदैनन् । उनीहरु वषौदेखि पानी खान नपाएका दुर्गमका जनताहरुलाई पानी माग्ने संघर्ष छाडेर पेप्सी किनेर पिउन सुझाउँछन् । सरकारलाई पनि पानी आयोजना लानुभन्दा बहुराष्ट्रिय कम्पनीका पेयहरु आपूर्ति गराउनु उचित हुन्छ भनेर बुझाउँछन् । दुर्गममा औषधि पु¥याउने र स्वास्थ्य चौकी बनाउने झन्झट गर्नुभन्दा जनतालाई सुगम ठाउँमा सारेर शरणार्थी बनाउनु जाती भन्ने सिकाउँछन् ।
ल्यापडगहरुमा स्वभाभिमान मरिसकेको हुन्छ । यसैले उनीहरु असल छिमेकीहरुको आत्मसम्मानमा चोट पुगेको पनि महशुस गर्न सक्दैनन् । जानाजान गरेको गल्तीलाई पनि सुर्धान चाहदैनन् । बरु अभिव्यक्ति स्वतन्त्रतालाई ढाल बनाएर उल्टै छिमेकीहरुलाई हुँकारर्छन् । उनीहरुलाई हेक्का हुदैन – जुन छिमेकीले हाम्रो स्वाधिनतालाई कहिल्यै अपमान गरेको छैन र सधै उँचो सम्मान गरिरहन्छ भन्ने । असिमित शक्ति भएपनि कहिल्यै हस्तक्षेपकारी व्यवहार देखाउँदैन र जहिल्यै असल मानवीय नियत लिएर सहयोगी बनिरहन्छ भन्ने ।
व्यावसायिकताको बहानामा अकुत कमाउन चाहिरहने साहुकारी पत्रकारिता र त्यसैको वरिपरि घुमिरहने ‘ल्यापडग’ हरुलाई निरुत्साहित नगरेसम्म देश र समाज अग्रमनमा जान सक्दैन । समाजले समाजवादी व्यवहारको अनुभूति गर्न पाउदैन । समाजमा समाजवाद लागू गराउन असल र सबल पत्रकार र पत्रकारिताले मात्र सघाउँछ । जो देश र समाजको वाचडग हुन्छ, उसको आत्मसम्मान र मनोबल सधै उँचो हुन्छ । वाचडग सधै अलोचनात्मक चेत राख्छ, यसैले सही सुझाव दिन्छ । अन्यायलाई सहदैन । भ्रष्टचारको भण्डाफोर गर्छ । अन्धबिश्वास र बिकृति बिसंगतिको सधै बिरोध गर्छ । आफ्नो राष्ट्रलाई आत्मनिर्भर बनाउन सघाउँछ । असल छिमेकीहरुको पहिचान गरेर उनीहरुको मानप्रतिष्ठाको ईज्जत गर्छ र गर्न सिकाउँछ ।
इतिहास अनुसार जनयुद्धकाल २०६० मा मेची–कोशी व्युरो अन्तर्गत जोखिम मोलेर साप्ताहिक रुपमा जनविद्रोह प्रकाशन सुरु भएको थियो । शान्ति प्रक्रियापछि जनविद्रोह दैनिक बन्यो । अभावलाई झेलेर अनि अनेक दबाबहरु सहेर व्यवसायिक पत्रकारितामा खरो उत्रियो । कसैको ‘ल्यापडग’ बनेन, बरु समाजको ‘वाचडग’ बनेर आफ्नो स्वाभिमानलाई सधै उँचो राख्न सफल भयो । ९ फागुन २०७६ देखि त्यही गौरवपूर्ण ईतिहास बोकेको जनविद्रोह रंगीन स्वरुप र ‘ब्रोडसिट’ आकारमा ‘हाम्रोमत’ दैनिकमा रुपान्तरण भएको छ । असल र सबल पत्रकाहरुको समूह आवद्ध भएको हाम्रोमत दैनिक ‘ल्यापडग’ कहिल्यै नबनोस् । सधै ‘वाचडग’ बनिरहोस शुभकामना !
gl3630019@gmail.com