अवसरहरु भएर पनि व्यवस्थित हुन नसकेको हाम्रो कृषि

प्रदेश १ व्यवसायिक कृषिको लागि नेपालकै मुख्य कृषि उत्पादन क्षेत्र हो । नेपालबाट निर्यात हुने अलैंची, चिया, अदुवा, अम्लिसो, तरकारीहरु, दुध, मासु र जडिबुटीहरुको मुख्य उत्पादन क्षेत्र हो, यो । नेपालबाट बिदेश निर्यात हुने अलैंची, चिया र अदुवा उत्पादनको क्रमशः ९०, ९९ र ३३ प्रतिशतभन्दा ठूलो हिस्सामा यो प्रदेशको योगदान रहने गरेको छ । त्यसरी नै देशको खाद्यान्न आपूर्तिको मुख्य क्षेत्र पनि हो, यो । यो प्रदेशले आफूलाई पु¥याएर बढि भएको ३ लाख मेट्रिकटनभन्दा बढी खाद्यान्न देशको अन्नभण्डारमा योगदान दिन्छ । यहाँबाट ठूलो मात्रामा बेमौसमी तरकारी भारततर्फ र केरा काठमाडौं निर्यात हुनेगर्छ । मासु, दुध, चीज, छुर्पीजस्ता उत्पादनमा यो क्षेत्र अगाडि छ भने बंगुरपालनमा यो क्षेत्रको योगदान ३७ प्रतिशत रहेको छ । माछा, मासुको माग बढेसँगै कुखुरा तथा माछा पालनमा यो क्षेत्रले तीब्र गतिमा प्रगति गरिरहेको छ ।

प्रदेशमार्फत भएका कृषि वस्तुहरुको आयात–निर्यात
यो प्रदेशमा रहेका विराटनगर र काँकडभिटा भन्सार नाकाबाट आर्थिक वर्ष २०७५÷७६ मा ११ अर्ब ५५ करोड बराबरको कृषि वस्तुहरु आयात भएको थिए । जसमा २ अर्ब ४८ करोडको मकै, २ अर्ब ५१ करोड ४० लाखको धानचामल, ६१ करोड ८१ लाखको आलु, ४६ करोड ८० लाखको प्याज र २१ करोड ४८ लाख बराबरको कोदो लगायतका वस्तुहरु थिए । यो आँकडा अघिल्लो वर्षभन्दा ३ अर्बभन्दा बढिले कम हो । नेपालमा आयात हुने कृषि वस्तुहरुमा माथि उल्लेख गरिएबाहेक तोरी, भटमास, मसुरो, लसुन, मुङ्ग दाल, फलफुल, ताजा तरकारीहरु, मुख्य हुन् । यस्ता कृषि वस्तुहरु भारतबाहेक क्यानडा, ताञ्जानिया, म्यानमार, ब्राजिल, भियतनाम, ईन्डोनेसियाबाट आयात भइरहेका छन् । क्यानडाबाट मसुरो र केराउ आयात भइरहेको छ भने म्यानमारबाट कालो दाल, भियतनामबाट मरिच र ईन्डोनेसियाबाट सुपारी आयात भइरहेको छ । निर्यातको कुरा गर्दा यो प्रदेशको नाका भएर ७ अर्ब १५ करोड मूल्यका कृषि वस्तुहरु निर्यात भएका थिए । जसमा मुख्य उत्पादनका रुपमा अलैंची (४ अर्ब २४ करोड), चिया (१० करोड ८२ लाख), अदुवा (२२ करोड ९३ लाख), अम्लिसो (३३ करोड ७२ लाख), बन्दा (६ करोड १४ लाख) आदि निर्यात भएका थिए । मसुरोको आयात निर्यात उस्तै भएकोले यो उत्पादनलाई प्रदेशको संभावनासँग जोडेर हेरिएको छैन । माथिको तथ्याङ्कहरु हेर्दा यो प्रदेशमा आयात भइरहेका वस्तुहरुको प्रतिस्थापन गर्न र निर्यात भइरहेका वस्तुहरुको परिमाण बढाउने संभावनाहरु हामीसँग जति पनि रहेका छन् ।

हाम्रा संभावनाहरु
संभावनाहरु धेरै छन् । तर, आज पनि देशको कृषि वस्तु आवश्यकताको ठूलो हिस्सा आयातित कृषि उत्पादनले ओगटिरहेको छ । पूर्वी नाकाबाट आयात भइरहेका कृषि वस्तुहरुमा धान, चामल, मकै, आलु, कोदो, दालबाली, तरकारी, फलफुलको परिमाण ठूलो छ । हालको अवस्थामा यो कुरा नकारात्मक भएपनि अवसरको रुपमा हेर्ने हो भने यो अवस्था प्रदेश १ को लागि अवसर पनि होे । किनकि यी सबै बस्तुहरुको उत्पादन योे प्रदेशमा संभव छ । धानखेतीपछि बाँझै रहने तराईको जमिन तथा बिस्तारै बाझिँदै गइरहेको पहाडको ठूलो भू–भागहरुमा ठूलो मात्रामा यी वस्तुहरु उत्पादन बढाउन सकिन्छ । अहिले पनि यो प्रदेशले देशको खाद्यान्न, केरा, दुध, मासु, चिया, आलु, तरकारीहरु, सुपारी, मसलाहरुको आवश्यकताको ठूलो मात्रामा आपूर्ति गरिरहेको छ । एभोकाडो, किवी, स्ट्रबेरी, मह उत्पादनले नयाँ संभावनाहरु देखाईरहेका छन् । माछा, बंगुर र बाख्रापालन पशुपालनको क्षेत्रमा तीब्र विकास भइरहेका क्षेत्रहरु हुन्, जसमा अझै धेरै विकासका संभावनाहरु रहेका छन् ।

प्रदेशमा पूर्वाधारहरु छन् तर प्रदेशको स्वामित्वमा छैनन्
यो प्रदेशमा तरहरा, पाख्रीबास, पारिपात्ले, सोलु, ईलाम, उदयपुर, ईटहरी, चन्द्रडागी, झुम्कालगायतका ठाँउहरुमा कृषि अनुसन्धान केन्द्रहरु तथा कृषि फार्महरु रहेका छन् । गोठगाउँ, ईलाम, पाख्रिबास, ईटहरी, गौरादहमा कृषि कलेजहरु सञ्चालनमा रहेका छन् । त्यसरी नै धनकुटा, मंगलबारे, सिसबनी जहदा, ईलाम, झापा, भोजपुर, ओखलढुंगालगायत ठाउँहरुमा मध्यम स्तरका कृषि प्राविधिक उत्पादन गर्ने प्राविधिक स्कूलहरु रहेका छन् । यी सबै संघसंस्थाहरु हाल पूर्ण क्षमतामा चलेका छैनन् र हामीले सोचेजस्तो उपलब्धीमुलक पनि बन्न सकेका छैनन् । यी सबैको रुपान्तरण तथा स्तरोन्नती गर्न सकिन्छ र यो राज्यको कृषि विकासका लागि चाहिने ज्ञान र शिपको नमुना केन्द्रहरु बनाउन सकिन्छ । तर, यिमध्ये धेरैजसो संस्थाहरु प्रदेश सरकारको स्वामित्वमा छैनन् । यिनीहरुलाई प्रदेशकै आवश्यकता अनुसार परिचालन गर्न पाईएको छैन । कृषिको अनुसन्धान र विकासका लागि स्थापना गरिएका र प्रदेश १ नै मुख्य कार्यक्षेत्र रहेका कृषि र पशुपालनका अनुसन्धान केन्द्र तथा फार्महरु यथाशिघ्र प्रदेश सरकारको मातहत ल्याई यिनीहरुलाई प्रदेशको आवश्यकतामा सघन रुपमा परिचालन गर्ने व्यवस्था गर्न जरुरी छ ।

सुनसरी मोरङ्ग, कन्काई जस्ता ठूला सिचाई आयोजनाहरु र अन्य सयौं साना सिचाई नहर कूलोहरु यो राज्यमा रहेका छन । यो प्रदेशमा रहेका पानीका श्रोतहरुको संरक्षण र सदुपयोगबाट राज्यले कृषिमा उल्लेख्य फड्को मार्नसक्छ । हाम्रो हाल भइरहेको कृषि अनुसन्धान र विकासले हाम्रा किसानका आवश्यकताहरु पुरा गर्न सकिरहेका छैनन् र हामीसँग भएका श्रोतसाधन र जनशक्तिबाट विश्वस्तरको प्रतिष्प्रधी अनुसन्धान पनि सहज छैन । तर, संसारभरी रहेर बिभिन्न विश्वसंस्थामा कार्यरत रहेका नेपालीहरु र अन्तर्राष्ट्रिय संस्थाहरुसँगको सहकार्यमा त्यो कमी हामीले सहजै पुरा गर्नसक्छांै । सडक सञ्जालको बिस्तारसँगै यो प्रदेशका सबै जिल्लाहरु र धेरैजसो उत्पादन क्षेत्रहरु बाटोले जोडिएका छन् । हरेक वर्ष यसको स्तारोन्नती भइरहेको छ । यि सबै पूर्वाधारहरु हाम्रो कृषिको रुपान्तरणका लागि सहयोगी हुनसक्छन् । तर, यहाँ पनि प्रदेशको आवश्यकतालाई मुख्य प्राथमिकतामा राखेर पूर्वाधारहरु निर्माण र प्रयोग हुनु जरुरी छ ।

संभावनासँगै रहेका चुनौतीहरु
हामीसँग अरबौको आन्तरिक बजार छ । तर, त्यो अर्कैको उत्पादनले कब्जा गरिरहेको छ । बाह्य बजारमा पनि हामीले त्यतिकै उत्पादन पठाउन सक्छौं । मध्यपूर्वमा गएको वर्षबाट सुरु भएको तरकारी निर्यात यो वर्ष अझै बढेको छ । वर्षेनी आउने बाढिले भारत र बंगलादेशको ठूलो हिस्सा डुबाएको बेला त्यो क्षेत्रमा तरकारीको आपूर्तिकर्ता हामी हुनसक्छौं । तर, परम्परागत खेती किसानीले जिविकोपार्जन धान्न नसक्दा हाम्रा लाखांै युवाहरु सस्तो ज्यामीको रुपमा बिदेशी भूमिमा पसिना बगाइरहेका छन् । नेपालमा रहेका उनीहरुका परिवारहरु सहज जीवनयापन र बच्चाहरुको शिक्षादिक्षाको लागि भनेर गाउँघर छोडेर शहरतिर लाग्दा गाउँहरु बृद्धबृद्धाहरु मात्र बाँकी रहन थालेका छन् र उत्पादन क्षेत्रका जग्गा जमिनहरु बाँझिने क्रम तीब्र भएको छ । तराईकै आधाभन्दा धेरै जमिन एक बाली धान खेतिमा सिमित छ । थोरै–थोरै उत्पान हुने स–साना उत्पादन एकाईहरु एकीकृत हुन नसक्दा बजारले खोजेको व्यवसायिक उत्पादन परिणाम पुग्न सकेको छैन र उत्पादनले उचित बजारमूल्य पाउन सकेको छैन । जसबाट कृषकहरुको मुनाफा कम हुने र विचौलियाहरुले धेरै कमाउने भैरहेको छ । यसबाट कृषकहरुको जिविकोपार्जन कठिन भइरहेको, कृषि क्षेत्र झन्झन् अपहेलित हुँदै गइरहेको र कृषि क्षेत्रबाट गैरकृषिक्षेत्रतर्फको पलायन तीब्र भएको छ । मानिसहरुसँग भएको केहि पुस्तैनि जग्गा जमिनहरु बेचबिखन गरेर त्यो सम्पती अरु अनुत्पादक क्षेत्रमा लगानी भइरहेको छ । त्यस्ता धेरैजसो जग्गा जमिनहरु प्लटिङ्ग भएर गैरकृषिक्षेत्रमा गइरहेका छन् । जसका कारणबाट जमिनको भाउ आकासिँदो छ र कृषिक्षेत्र निरन्तर खुम्चिँदो छ । तर, यो अवस्था रुपान्तरण हुनै नसक्ने चै छैन ।

हाम्रो परिवर्तन कसरी ?
हामीले हालको अवस्थालाई परिवर्तन गर्नसक्छौ । हामीसँग जमिन छ, पानी छ, बजार छ, मौकाको तलास गरिरहेका विदेशको अनुभवले खारिएका परिश्रमी युवाहरु छन् । तर, हामीले हाम्रो सरकारले त्यसको व्यवस्थापन गर्न सकेका छैनौं । हाम्रा श्रोतहरुको (प्राकृतिक तथा मानवीय) सदुपयोग हुनसकेको छैन । हामीले परिवर्तन चाहने हांै भने पहिलो कुरा हामीले परम्परागत रुपमा अपनाउँदै आएका हाम्रा कार्यक्रमहरु र हाम्रो सोचलाई परिवर्तन गर्नुपर्छ । हाम्रा कार्यक्रमहरुले धेरैभन्दा धेरै उत्पादकहरुलाई वस्तुविशेषका उत्पादन क्षेत्रहरुमा सामेल गराउन सक्नुपर्छ । ताकी हामीले गर्ने उत्पादन ठूलो मात्रामा गर्न सकियोस् र ठूला बजार तथा कृषि उद्योगहरुसँग जोड्न सकियोस् ।

प्राथमिकता तोकौं र अभियान श्रृजना गरांै
प्रदेश १ ले सबैभन्दा राम्रो उत्पादन गर्नसक्ने र प्रतिस्पर्धी उत्पादन गर्नसक्ने कृषि वस्तुहरुलाई प्राथमिकतामा राखौं । हाम्रो पहाडमा उत्पादन भइरहेको अलैची, चिया, ताजा तरकारी, अदुवा, दुध, पशुपालन, जडिबुटी, फलफुलले आन्तरिक तथा बाह्य बजारमा आफ्नो पहिचान बनाईसकेको छ । यी कृषि वस्तुहरु अझै ठूलो स्तरमा उत्पादन गर्न सकिन्छ । उत्पादनसँगै उत्पादित वस्तुहरुको गुणस्तर बढाउने कुराहरु, बजारसम्मको आफ्नै पहँुच बढाउने कुरा र निर्यातको लागि कानूनी अवरोधहरुको सहजिकरण हामीले तत्काल गर्नुपर्ने कार्यहरु हुन् ।

तराई हाम्रो मुख्य खाद्यान्न उत्पादनको क्षेत्र हो । धान, मकै हाम्रा दुई मुख्य र प्रतिस्पर्धा गर्नसक्ने अन्नबालीहरु हुन् । चैते र वर्षे सिजनको व्यवस्थित धानखेती र हिउँदे तथा बसन्ते सिजनको मकैखेतीले यो क्षेत्रका किसानहरुको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउनसक्छ । धान र मकै खेतीपछि आलु, तरकारी, माछापालन, तेलहन बाली तथा मौरीपालन यो प्रदेशको लागि अरु महत्वपूर्ण क्षेत्रहरु हुनसक्छन् । हाम्रा खोलाका बगरहरु जमिनमुनीको पानीको सतहको अनुकुलताले वर्षात्पछिको एक बाली आलु तथा तरकारी खेतीको लागि महत्वपूर्ण उत्पादन क्षेत्र हुनसक्छन् । यो अवसरको सदुपयोग गर्न सकिन्छ । यो अलावा पशुपालनका धेरै संभावना बोकेका क्षेत्रहरु यो प्रदेशमा छन् । जसलाई प्राथमिकतामा राखेर विकास गर्न सकिन्छ । हाम्रा वर्षभरी पानी बग्ने सानाठूला धेरै खोलानालाहरु छन् । तिनीहरुलाई नहरकुलोमार्फत वा पानी पम्प गरेर सिचाईको क्षेत्र बढाउन सकिन्छ र एक बालीको ठाउँमा दुईदेखि तिनबाली खेती गर्न सकिन्छ । उत्पादन लागत घटाउन कृषिको यान्त्रीकरण अपरिहार्य छ । तर, ठाउँ अनुसारका उपयुक्त मेसिन औजारहरु खोजी गर्ने र तिनको प्रयोग गर्ने शिप सिकाउने कुरा आज एकदमै जरुरी भएको छ । यो सबैका लागि सघनरुपमा अभियान श्रृजना गरेर जानुपर्छ जसले बिविध उत्पादनका परिमाणात्मक क्षेत्रहरु विकास गर्नसक्छ । उत्पादनको परिमाणले बजार र मूल्यको निर्धारण गर्नसक्छ ।

निश्कर्ष
हामीहरु केहि गरिरहेका र धेरै कुरा गर्नसक्ने स्थितिमा छांै । केहि पूर्वाधारहरु हामीसँग छन्, केहि बनाउनु पर्छ । राजनीतिक रुपान्तरणपछि हामी प्रशासनिक र विकास अभियान रुपान्तरणको चरणमा प्रवेश गरेका छांै । आ–आफना सानातिना स्वार्थबाट मुक्त हुँदै दृढ अठोटका साथ ईमान्दार प्रयास गर्ने हो भने यो प्रदेश अनि देशकै समृद्धिका अपार संभवनाहरु हामीसँग रहेका छन् । आर्थिक समृद्धि र देशमै सुरक्षित रोजगारीका संभावनाहरु हामीसँग जति पनि छन । तर, हामी कहिल्यै लागिपरेका छैनांै । सामूहिक अभियान श्रृजना गर्न लागिपरांै परिवर्तन संभव छ ।
(लेखक प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको खाद्य सुरक्षा तथा कृषि वयवसाय प्रवद्र्धन महाशाखा प्रमुख हुन्)

शनिबार, १० फागुन, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर