‘हाम्रो मत’ जनविद्रोहका नाममा फर्कने दिन नआओस्

नेपाली पत्रकारिता विकासे हो कि मिसन भन्ने बहस अहिले पनि जारी छ । वास्तवमा नेपाली पत्रकारिताको शुरुवात मिसन पत्रकारिताबाटै भएको हो भन्नेमा दुईमत नहोला । तर, हाम्रो समाजमा पछिल्लो समयमा पत्रिकाहरु पार्टीका मुखपत्र र नेताका पिछलग्गु बने भन्ने आरोप पत्रकारिता जगतले खेपिरहेको अवस्था छ । वास्तवमा नेपाली पत्रकारिता जुन मिसनबाट सुरु भएको हो, त्यो पुरा भएकै हो त ? अब हाम्रो पत्रकारिता पुरै विकासे हुनुपर्छ भन्नेबारेमा आ–आफ्नै तर्क छन् । त्यसमा मेरो तर्क नेपाली पत्रकारिता जुन उद्देश्यले सुरु भएको हो, त्यो पुरा त भएको छ । तर, त्यसको स्थायीत्व अबको मिसन हुनुपर्छ भन्ने हो ।

नेपाली पत्रकारिताले प्रजान्तत्रदेखि गणतन्त्रसम्म आइपुग्दा पु¥याएको योगदान ऐना जस्तै छर्लङ्ग छ । कालरात्री समयमा बन्द कोठावाट निस्केका आवाज हुन् वा जहानीया शासन विरुद्ध जगंलबाट सुरु भएको पत्रकारिता होस्, दुबैको एउटै उद्देश्य थियो । हाम्रो लक्ष्यमा हामी पुगेका छौं । तर, त्यही अडिग रहन केहि समय लाग्छ । प्रजातन्त्र स्थापनापछि नेपाली पत्रकारिताले एउटा ठूलो भुल ग¥यो, परिणाम राजा ज्ञानेन्द्रले शाही कदम चाले ।

त्यसबेला नेपाली पत्रकारिताले केहि नेताले गरेका कुकर्मलाई बाहिर ल्याउने नाममा सबै नेतालाई भ्रष्ट हुन् भन्ने भ्रम समाजमा छर्नपुग्यो । जनतामा नेता विरुद्ध भएका नभएका भ्रमहरु फैलाइयो । त्यसबेला केहि खुमबहादुर, गोविन्दराजहरु थिए होलान् । तर, सबैलाई एउटा डालोमा हाल्ने काम नेपाली पत्रकारहरुले नै गरेका हुन् । मौकाको पर्खाइमा बसेको दरबार जुरुक्क उठ्यो र दलहरुलाई प्रतिवन्ध लगायो । फेरि जनता सडकमा उत्रनुप¥यो । सडक र जंगलको बलले जनताले आफ्नो अधिकार फर्काए । त्यसबेला घरमा ढोका बन्द गरेर बसेका नेतालाई सडकमा ल्याउने काम यिनै पत्रकारहरुले गरेका हुन् ।

आज फेरि तिनै हिजोका परिदृष्यहरु नेपाली राजनितिमा देखिन थालेका छन् । घटनाहरु एकपछि अर्को गर्दै बाहिरन थालेका छन् । यो क्रम रोकिनेभन्दा बढ्ने क्रममा छ । हिजो नाटकीय ढंगले निर्वाचनमा तत्कालीन एमाले र माओवादीबीच चुनावी साठ्गाँठ भयो । जनताले दुबै दललाई प्रचण्ड बहुमत दिए । कांग्रेसलाई सानो साइजको प्रतिपक्षी बनाए । भित्र जे नाटक भएपनि यो जनादेश कुनै नाटक वा कसैको इसारामा आएको हैन भन्ने कुरा सबैमा चेतना हुन आवश्यक छ । नाटकको श्रृङ्खला दुई वाम शक्ति एक हुनसम्म चलकै हैन भन्ने कुरा घटनाक्रमलाई हेर्दा भन्नसक्ने अवस्था छैन । फेरि त्यही शैलीमा नेकपाले दुईतिहाइको सरकार केन्द्रमा र ६ वटा प्रदेशमा बनायो । यसले राजनीतिक स्थायीत्वसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली हाँसेको हेर्ने चाहाना राखेकोसँग जोडिएको थियो । तर, आज हाँसो त छ, त्यो समृद्धिको हैन् । लाज र श्रमको छ ।

महरा काण्ड, गच्छदार काण्ड हँुदै बाँस्कोटा काण्डसम्म आइपुग्दा हाम्रा दल र नेताप्रति समाजमा नकारात्मक भावनाको विजारोपण गर्न सम्बन्धित पक्ष सफल भएको छ । अब यस्तै दुई÷चार वटा स्क्याण्डलहरु आउनेछन् । केहि भएका र केही नभएका यस्ता काण्डबाट गणतन्त्र पक्षधर नेताहरुलाई बद्नाम गरिनेछ । आफ्नो अनिष्ठ पुरा गर्ने प्रयास हुनेछ । त्यसैले नेपाली पत्रकारिता फेरि सजग हुन आवश्यक छ । फेरि पनि हामीले हिजोको जस्तो समाजमा नेता र व्यवस्थाका नकारात्मक विजारोपण मात्र गरिरहँदा अर्को निरंकुशतालाई प्रश्रय हुदैन भन्ने कुरामा विश्वास गर्ने आधार छैन । तसर्थ मेरो मत नेपाली पत्रकारिता अहिले पनि मिसन नै छ भन्नेमा जान्छ ।

त्यसैको प्रारुपका रुपमा मैले यो पत्रिकामा हरेक आइतबार एउटा नियमित स्तम्भ लेख्न थालेको हुँ । जङ्गली पत्रकारिताबाट सुरु भएको यो पत्रिका दुई दिनअघि मात्र जनविद्रोहबाट हाम्रोमतमा परिणत भएको छ । अब जनविद्रोहको युग समाप्त भयो भन्ने छाप पाठकमा प¥यो भन्ने सोचले प्रकाशन समूहले पत्रिकाको नाम नै परिर्वतन गरेको हुनुपर्छ । जनविद्रोह भन्ने शब्द माओवादीको हो भन्ने छाप हाम्रो समाजमा नभएको हैन । अवश्य पनि नै यो व्यवस्था र अहिलेको समयमा जनविद्रोह आवश्यक छैन र हुन पनि सक्दैन । त्यसो भन्दैमा फेरि जनताले विद्रोह गर्नुपर्ने दिन आउँदैनन् भन्ने चाँही हैन । फेरि जनता विद्रोहमा उत्रिएका दिन यो पत्रिकाको नाम पनि पुरानै नहोला भन्न सकिदैन । तर, हामी सबैले प्रण र कामना गरौं यो ‘हाम्रोमत’ अब कहिल्यै जनविद्रोह नाममा फर्कनुपर्ने दिन नआओस् । यसैमा सबैको कल्याण छ । यो युगमा राजनीतिक दल र नेताको विकल्प अरु हुन सक्दैन । सबैमा चेतना भया….।

शनिबार, १० फागुन, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर