वृहत राष्ट्रिय शिक्षा अभियान के हो ?
समग्र शिक्षाको सुधार र औपचारिक सिकाईं प्रक्रियामा समयानुकुल परिवर्तन र रुपान्तरण हुनुपर्छ भनेर सुरु गरिएको अभियान हो वृहत राष्ट्रिय शिक्षा अभियान । यसका दुईवटा पाटामा रहेर काम गरिरहेको छ । पहिलोमा, शिक्षाका नीतिगत तह र मुद्दा समेटिएको छ । संघीय संरचना अनुकुलका नियमावली र कानून, शिक्षाका संबैधानिक हक र अधिकारको कार्यान्वयन, पाठ्यक्रम, परीक्षा प्रणाली, विद्यालय शान्ति क्षेत्रलगायतका विषयमा छलफल, अन्तरक्रिया तथा दबाबमूलक क्रियाकलाप संचालन गर्ने गरेका छौं ।
दोस्रो, नेपालको कुल बजेटको सबैभन्दा लगानी भएको माध्यमिक तहसम्मको सार्वजनिक विद्यालयको सुधार र व्यवस्थापन । यस अन्तर्गत स्थानीय तहसँगको समन्वय र सहकार्यमा विद्यालयको कक्षाकोठामै पुगेर विद्यालय व्यवस्थापन, कक्षाकोठा व्यवस्थापन, शिक्षण सिकाइ क्रियाकलाप र उपलब्धीलगायतका विद्यार्थीको चौतर्फी विकासका पक्षमा विद्यालय, विद्यार्थी र अभिभावक सबैलाई जोडेर काम गर्दछौं । समग्रमा भन्दा शिक्षा सुधारको लागि जनस्तरबाट संचालित एक सामाजिक क्रान्ति हो, अभियान ।
यसको आवश्यकता किन प¥यो ?
नेपालमा सार्वजनिक विद्यालय तथा विश्व विद्यालय र कलेजको शिक्षा चित्तबुझ्दो छैन । नेपाल सरकारले संवैधानिक रुपमै अनिवार्य गरेको आधारभूत तथा माध्यमिक तहसम्मको विद्यालय शिक्षाको अवस्था झन् कहालीलाग्दो छ । हालसालै शैक्षिक गुणस्तर केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनले नेपालका १ प्रतिशतभन्दा कम विद्यालय मात्र पठनपाठनका दृष्टिकोणले उपयुक्त रहेको भनेको छ । यसको अर्थ हो, बाँकी ९९ प्रतिशत विद्यालयमा बालबालिका पठाउनु समयको बर्बादी मात्र हो । नेपाल सरकारले विद्यालय शिक्षा सुधारका क्षेत्रमा बर्सेनी अर्बौं रुपैयाँ लगानी गरेपनि प्रतिफल अत्यन्त निरासाजनक देखिन्छ । सार्वजनिक विद्यालय रुग्ण उद्योग जस्तै बनेका छन् ।
हाम्रा विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना बनेका छन् । अध्ययन, अनुसन्धान शून्य छ । बीसौं शताब्दीका नोट र लेक्चरका भरमा विद्यार्थी परीक्षा दिन्छन् । व्यवहारिक प्रयोग र शीपभन्दा पनि परीक्षा र अंक केन्द्रित मूल्यांकन पद्दति अबलम्बन गरिएको छ । विश्वविद्यालय राजनीतिक खिचातानीको केन्द्र बनेका छन् । यो सन्दर्भमा हेर्ने हो भने हाम्रो देशको अबको भविष्य त्यति सुनिश्चित देखिँदैन । शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो । शिक्षाको जग र आधार नै बलियो बनेन भने राष्ट्र पछि पर्छ । कुनै पनि राष्ट्रको शिक्षाको गुणस्तरले नै त्यो देशको भविष्य तय गर्ने भएकाले एक सचेत नागरिकको हैसियतले शैक्षिक सुधारको अभियान सुरु गरिएको हो ।
शैक्षिक विकासका लागि कस्ता योजना ल्याइनु पर्दछ ?
विद्यालय शिक्षा, उच्च शिक्षाको शैक्षिक स्तरलाई सुधार्ने हो भने हाम्रो शिक्षा प्रणालीलाई जरैदेखि रुपान्तरण गर्ने हिम्मत राख्नुपर्छ । पुरानो ढाँचा, पद्दति, संस्कार, सोच, पूरातन मानसिकता बोकेका शिक्षक कर्मचारी सबै परिवर्तन गर्नुपर्छ । शिक्षालयलाई पूर्ण रुपमा प्राज्ञिक थलोको रुपमा सम्मान गरिनु पर्छ । सिकाइ परीक्षाका लागि नभएर जीवनका लागि, जीवनको अभिन्न अंगको रुपमा हुनुपर्छ । दवावमूलक नभई स्वस्फूर्त रुपमा हुनुपर्छ ।
जीवनयापन र जीवनका आधारभूत आवश्यकता पूर्तिका लागि गरिखाने शीपयुक्त शिक्षा दिने सवालमा राज्यले कुनै कसर बाँकी राख्नु हुँदैन । ज्ञान, आचारण, चरित्र र संस्कार जोडिएको हुनुपर्छ । साथै खोज, अनुसन्धान, आविष्कार, अग्रगमनका सलावमा शिक्षाले सबैभन्दा बढी जोड्नुपर्छ ।
समृद्ध देशको कल्पना र शैक्षिक रुपान्तरणका लागि शिक्षामा नीतिगत सुधार र सिकाइ पद्दतिमा परिवर्तन ल्याउन जरुरी छ । नीतिगत तहमा सरकारबाट केही काम हुँदैछ । पाठ्यक्रम परिवर्तन हुँदैछ । सुधार गर्नु पर्ने केही कुरा भए समयको माग अनुसार परिवर्तन वा थपघट गर्न सकिन्छ । तर, नियत बनाएर शिक्षा नीतिमै राजनीतिक हस्तक्षेप गर्ने, शिक्षालयको नेतृत्वलाई स्वायत्त अधिकार दिन कन्जुस्याई गर्ने, शिक्षालयलाई आफ्नो स्वार्थसिद्धका लागि कठपुतली बनाउने, विद्यालय तथा क्याम्पसलाई आफ्ना राजनीतिक कार्यकर्ता भर्तीकेन्द्रका रुपमा विकास गर्ने लगायतका कुरालाई केही नसोची रोक्नु पर्छ ।