अघिल्लो सोमबार पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्की गम्भीर घाइते र घरमा काम गर्ने दाङका विजय चौधरी मृत अवस्थामा भेटिए । मुनालाई चोटसहित गम्भीर घाइते भएको अवस्थामा अस्पताल पु¥याइएको थियो भने विजय झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । मुनाको पनि अस्पतालमै मृत्यु भयो । यो घटनापछि मृतक मुना र विजयका परिवार शोकमा छन् । वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, केही युट्युबरले यसलाई ‘डलर तान्ने मेसो’ बनाएका छन् । संवेदनशील घटनालाई सनसनीपूर्ण बनाउनु युट्युबरका लागि आमकुरा भइसकेको छ । टेलिभिजनकर्मी रवि लामिछाने आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ पर्दा यसैगरी कतिपय युट्युबरले आतंक मच्चाएका थिए, ‘रवि लामिछाने जेलभित्र यस्तो अवस्थामा’ ‘हिरासतबाट रविले मुख खोले’ ‘प्रहरीले फेला पा¥यो यस्तो सनसनीपूर्ण प्रमाण, अब के हुन्छ ?’ ‘पुडासैनी प्रकरण यसरी भएको हो, रविलाई यसकारण फसाइयो’ ‘हुने भो शालिकरामको भिडियोभित्रको रहस्य, हुने भो सबै खुलासा’ । यसबारे त्यतिबेला लेखेको एउटा ब्लगलाई लिएर कतिपय युट्युबरले लेखकलाई गाली पनि गरे ।
नेपालमा व्यवसायिक ढंगले अघि बढेका युट्युबर पनि छन् । आलोचना उनीहरूको होइन । चित्त दुखाई उनीहरूबाट हो, जसले कसैका दुःखलाई डलर तान्ने अस्त्रका रूपमा प्रयोग गरिरहेका छन् । पूर्वसचिव कार्कीकी पत्नी मुना र उनको घरमा काम गर्ने विजयको मृत्युबारे ’सेन्सेसनल हेड्लाइन्स’ युट्युबमा छ्यापछ्याप्ती भेटिन थालेको छ । ती हेडलाइनमा राखिएका तस्वीरको त कुरै नगरौं ।
केही हेडलाइन हेरौंः
– पूर्वसचिव पत्नी हत्या प्रकरणः सीसीटीभी फुटेज बाहिरियो,
– मुना कार्कीको हत्यारा चिन्नुहोस्,
– कामदारले ग¥यो मुना कार्कीको हत्या, सीसीटीभीमा यस्तो देखियो
– काठमाडौंमा दिउँसै पुर्वसचिव पत्नी र कामदारको हत्या, कसरी भयो ? यस्तो छिमेकी यसो भन्छन्
– पूर्वसचिवकी श्रीमतीलाई यसरी हत्या गरेको रहेछ, देखियो यस्तो फुटेज
– ललितपुरमा मुना कार्कीको आफ्नै कामदारबाट हत्या, यसो भन्छन् छिमेकी
– पूर्वसचिवकी पत्नी मुनाको कामदारले लियो ज्यान, कारण यस्तो
– भेटियो सीसीटीभी फुटेज, कामदारले नै गरे पूर्वसचिव पत्नी मुना कार्कीको विभत्स हत्या, कारण यस्तो ।
हेडलाइन पढ्दा लाग्छ, हत्यारा पत्ता लागिसक्यो, प्रहरीले सीसीटिभी फुटेज युट्युबरलाई दिइसक्यो । तर, वास्तवमा हेडलाइनमा मात्रै हुन्छ सीसीटिभी फुटेज, भित्र केही हुँदैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, युट्युबरले ‘फैसला’ गरिसकेका छन्, हत्यारा को हो, कसरी हत्या ग¥यो, के कारणले ग¥यो ? मृत्यु वा हत्याजस्तो घटनामा रिपोर्टिङ गर्न क्यामेरा र माइक बोकेर गएपछि सर्वसाधरणलाई सही सूचना दिने हो, न कि व्यापारका लागि सेन्सेसनल हेड्लाइन राखेर घटना र विषयलाई तोडमोड गर्ने । यस्ता शीर्षक राखेर युट्युबरले दर्शक र डलर त बटुलेका छन् । तर मिडियाको मर्म र कुनै मुद्दाको संवेदनशीलतालाई पनि त्यसैगरी लत्याएका छन् । घतलाग्दो कुरा यो छ कि यस्तै हेडलाइनसहितका भिडियो धेरैले सेयर गर्छन् । पत्याएरै त गरेका होलान् !
युट्युब हेरेर धारणा बनाउने धेरै छन् यहाँ । त्यसैले युट्युबरले राखेका सामाग्री अर्थपूर्ण हुनुपर्छ । तर, हामीकहाँ खै यस्तो ? युट्युबरले यस्तो चर्को हेड्लाइन राख्नुको मुख्य कारण नै डलर हो । देश तथा विदेशमा बस्ने नेपालीलाई नेपालको समसामयिक घटनाबारे स्वाभाविक रुपमा बढी चासो हुन्छ । यसबारे थाहा पाउन उनीहरु युट्युब र डिजिटल मिडियाको साहारा लिन्छन् । युट्युब च्यानलहरुको तार्गेट खासगरी विदेशमा बस्ने नेपाली हुन् । किनकि, नेपालमा खोलिएका युट्युब च्यानलले पाउने पैसा नेपालभन्दा बाहिरका देशबाट आउने ‘भ्युज’ का आधारमा बढी हुन्छ । विशेषगरी मलेसिया, दुबई, कतार, साउदीलगायतका खाडी मुलुकमा रहेका नेपालीले युट्युब च्यानल बढी हेर्ने गरेका छन् । युरोप तथा अमेरिकाबाट हेरियो भने अझ धेरै रोयल्टी आउने गरेको छ ।
यसरी भ्यूजका आधारमा मात्र भन्दा पनि देशबाहिरबाट कतिले भिडियो हेरे भन्ने आधारमा युट्युवरलाई पैसा आउँछ । मोनिटाइज भएपछिको सम्झौताका आधारमा ‘वेस्र्टन युनियन मनी ट्रान्सफर’बाट उनीहरुले पैसा लिने गरेका छन् । त्यसैले जतिसुकै संवेदनशील घटनामा पनि ‘सिरिअल इपिसोड’ हान्न पछि पर्दैनन्, कतिपय युट्युबर । के यस्तो प्रवृत्तिले हाम्रो समाजलाई सही दिशातिर लैजान्छ ?