प्रदेशसभाको बजेट अधिवेशन सुरु :

विदेशबाट आएका सबैको कोरोना परीक्षण गर्छौः मुख्यमन्त्री राई

तीन तहको सरकार भएकैले कोरोना विरुद्धको लडाई सहज/स्थानीय तहको काम प्रसंशनीय
serdhan

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकार भएकै कारण महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न सहज भएको बताउनुभएको छ ।

बुधबार सुरु भएको प्रदेशसभाको छैटौं तथा बजेट अधिवेशनलाई सम्बोधन गर्दै मूख्यमनत्री राईले तीन तहको संघीय संरचनाकै नभएको भए कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथाम गर्न निक्कै मुस्किल पर्ने बताउनुभयो ।

प्रदेशमा कोरोना रोकथाममा सरकारले प्रभाबकारी योजना बनाएर काम गरिरहेको जानकारी दिँदै मुख्यमन्त्री राईले यसमा स्थानीय तहले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । सरकारले कोरोना नियन्त्रणको लागि प्रदेशका ४० हजार नागरिकको परीक्षण गर्ने योजना बनाएको जानकारी दिँदै मुख्यमन्त्री राईले प्रदेश सरकारलाई थप २ थान परीक्षण ल्याब चीनबाट सहयोग प्राप्त भएकोले अब विस्तारै दैनिक २ हजारको पिसिआर परीक्षण हुनसक्ने बताउनुभयो ।

हाल विराटनगरमा दैनिक १५०, धरानमा १५० र विराटनगरको प्रादेशिक प्रयोगशालमा २० जनाको पीसीआर परीक्षण हुँदै आएको छ । राईले आइसोलसन बेडसहितको अस्पताल संख्या र क्षमता बढाउने सरकारले निर्णय गरिसकेको पनि बताउनुभयो । प्रदेशमा हालसम्म ५ हजार ५ सय ६६ जनाको पीसीआर र ११ हजार २ सय ५२ जनामा आरडीटी परीक्षण भएको छ ।

चीनको तिब्बत सरकारको सहयोगमा पिसिआर ल्याबसहित ८ करोड मुल्य बराबरको सामान तातोपानी नाका आइसकेको मुख्यमन्त्री राइृले जानकारी दिनुभयो । प्रदेशमा विदेशबाट आउने सबैलाई व्यवस्थित रुपमा होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षण गर्ने मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।

विदेशबाट आएका प्रदेश १ का नागरिक सबैको पिसिआर परीक्षण गर्ने र अन्य प्रदेशका नागरिकको आरडिटी परीक्षण गर्ने योजना सरकारले बनाएको मुख्यमन्त्री राईले जानकारी दिनुभयो । प्रदेशमा भारतबाट मात्र २५ देखि ३० हजार नागरिक आउने अनुमान गरिएको उहाँको भनाई छ । भारतबाट आउने नागरिकलाई व्यवस्थित रुपमा झापाको काँकडभिट्टा भद्रपुर र गौरिगञ्ज, इलामको पशुपतिनगर, मोरङको विरानगर र रंगेली साथै सुनसरीको भन्टाबारी नाकाबाट मात्र प्रवेश दिने सरकारले योजना बनाएको उहाँको भनाइ छ ।

अब लकडाउनको स्वरुप अब परिवर्तन गर्नुपर्ने भन्दै मुख्यमन्त्री राईले सबैको साथ पाएकोले प्रदेश १ ले कोरोना भाइरस विरुद्धको लडाइँमा अब्बल देखिएको दाबी गर्नुभयो । समस्यालाई सम्हाल्नसक्ने अवस्थामा सरकार रहेको जिकिर गर्दै उहाँले अब कोरोना प्रभाव हेरेर जिल्लागत रुपमा केही खुकुलो गर्ने बताउनुभयो ।

मुख्यमन्त्री राईले किसानका लागि राहत प्याकेज घोषणा गर्ने र विदेशबाट फर्कनेलाई पनि स्वरोजगारमुलक पेसामा लगाउने तयारी थालेको बताउनुभयो ।

प्रदेशसभाको वैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता राजिव कोइराला, समाजवादी पार्टीका नेता जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुम्बाहाम्फे र राप्रपाका इन्दिरा राईले शुभकामनना दिनुभएको थियो । उहाँहरुले कोरोना विरुद्धको लडाईमा केन्द्रित हुन र सबैलाई एकताबद्ध गरेर अगाडि बढ्न सरकारलाई सुझाब दिनुभयो ।

बुधबार, १४ जेठ, २०७७, साँझको ०६:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर