विराटनगर । कोरोना भाइरस (कोभिड–१९) का कारण अमेरिकामा एक लाख भन्दा बढीले ज्यान गुमाएका छन् । कोरोनाले विश्वमा ३ लाख ५२ हजार जनाको मृत्यु हुँदा अमेरिकामा एक लाख भन्दा धेरैको ज्यान गएको हो ।
कोरोना भाइरस संक्रमणपनि अमेरिकामा सबैभन्दा धेरै फैलिएको छ । त्यहाँका १७ लाख २५ हजार २७५ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने त्यसबाट १ लाख ५ सय ७२ जनाको मृत्यु भएको छ । भाइरस संक्रमित ४ लाख ७९ हजार ९६९ जना उपचार पछि निको भएका छन् । अहिले पनि अमेरिकाका ११ लाख ४४ हजार ७३४ जनामा भाइरसको संक्रमण विद्यमान रहेको छ ।
कोरोना भाइरसबाट अमेरिकाको न्युयोर्क सहर सबैभन्दा धेरै प्रभावित छ । न्युयोर्कमा ३ लाख ७३ हजार ६२२ जनामा भाइरस संक्रमण भएको छ भने २९ हजार ४५१ जनाको मृत्यु भएको छ । यस्तै दोश्रो प्रभावित राज्य न्यु जर्सरी हो जहाँ १ लाख ५७ हजार भन्दा बढीमा भाइरसको संक्रमण भएको छ भने ११ हजार १९७ जनाको ज्यान गएको छ । अमेरिकाको इलिनोइस, क्यालिफोर्निया, म्यसाच्युसेट आदि राज्यहरु भाइरसबाट सबैभन्दा धेरै प्रभावित छन् ।