अमेरिकामा कोरोना संक्रमण र मृत्युदर घट्दै

विराटनगर । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा पछिल्लो केही दिनदेखि भाइरस संक्रमण र मृत्युदर दुवै घट्न थालेको छ ।

सरकारले बिरामीहरुको उपचारमा देखाएको गम्भीरता र भेन्टिलेटर लगायतको स्वास्थ्य उपकरणहरुको अधिक प्रयोग गरेका कारण अमेरिकामा पछिल्लो समय गम्भीर बिरामीहरु निकोहुने दर बढेको छ र बिरामीहरुको मृत्युहुने क्रम घटेको छ ।

मई १२ देखि अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या निरन्तर घटिरहेको छ । मई १२ का दिन अमेरिकामा १८ सय ७१ जनाको मृत्यु भएको थियो । त्यसपछि मृत्यु हुनेको संख्या निरन्तर घट्दै गएको देखिन्छ । मई १९ मा १५ सय ५२ जनाको मृत्यु भएको थियो । त्यसपछि मृत्यु हुनेको संख्या १५ सयमा उक्लिएको छैन । मई २२ मा १२ सय ९३ जनाको मृत्यु भएको अमेरिकामा मई २३ मा एक हजार ३६ जना र मई २४ मा ६१७ जनाको मृत्यु भएको छ । यसरी पछिल्लो समय अमेरिकामा कोरोनाबाट हुने मृत्यु दरमा निरन्तर सुधार आएको छ ।

भाइरसबाट प्रभावित मुलुक अमेरिकामा एकै दिन ३८ हजार भन्दा बढीमा संक्रमण भेटिएको थियो । अहिले संक्रमण दर पनि घट्दै गएको तथ्यांकहरुले देखाएको छ । अप्रिल २४ का दिन अमेरिकामा सबैभन्दा धेरै ३८ हजार ९५८ जना संक्रमित भएका थिए । पछिल्लो समय दैनिक २५ हजारदेखि ३० हजारको दरले संक्रमित पहिचान भइरहेको थियो । अहिले त्यो संख्या घटेको छ । मई २१ पछि अमेरिकामा नयाँ संक्रमितको संख्या निरन्तर घटिरहेको छ । सो दिन २८ हजार १७५ नयाँ केस पहिचान भएको थियो । मई २२ मा २४ हजार दुई जना, मई २३ मा १९ हजार ९२९ जना र मई २४ मा १९ हजार ६०८ जना नयाँ संक्रमितको पहिचान भएको छ ।

अहिलेसम्म अमेरिकामा १६ लाख ८६ हजार ४३६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ भने ९९ हजार ३०० जनाको मृत्यु भएको छ ।

सोमबार, १२ जेठ, २०७७, बिहानको ०९:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर