ट्रम्पले भनेअनुसार मलेरियाको औषधी खाएकोले अमेरिकामा ज्यान गुमाउने धेरै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेअनुसार कोरोनाबाट बच्न मलेरिया विरुद्धको औषधी सेवन गरेका बिरामीको धमाधम मृत्यु भएको एक अनुसन्धानले देखाएको छ।

ट्रम्पले मलेरिया विरुद्धको हाइड्रोक्सिक्लोरक्विन नामक औषधी सेवन गरे कोरोना परास्त गर्न सकिने बताएपछि धेरैले सो औषधि सेवन गर्दा ज्यान गएको हो ।

ट्रम्पले आफूले पनि सो औषधि सेवन गरेकोले कोरोना संक्रमण नदेखिएको बताउँदै आएका छन् । ट्रम्पको भनाईपछि अमेरिकाका हजारौं संक्रमितहरुलाई मलेरियाविरुद्धको यो औषधी खुवाइएको थियो। तर, विज्ञान शोध पत्रिका लेसेन्टले गरेको अध्ययनअनुसार मलेरियाविरुद्धको औषधी सेवन गर्नेहरुको मृत्युदर उच्च रहेको छ ।

लेसेन्टले ९६ हजार कोरोना संक्रमितमा यो औषधीको प्रभावकारिताबारे अध्ययन गरेको थियो। यीमध्ये १५ हजार संक्रमितलाई हाइड्रोक्सिक्लोरक्विन दिइएको थियो। बिरामीहरुलाई एन्टिबायोटिकसहित या सीधै यो औषधी दिएको पाइएको छ।

यो औषधी खान दिइएका संक्रमितको मृत्युदर नखानेहरुको भन्दा निकै धेरै देखिएको छ। हाइड्रोक्सिक्लोरक्विन खुवाइएका बिरामीहरुमा हृदयघातको समस्या देखिएको अध्ययनले देखाएको छ। हाइड्रोक्सिक्लोरक्विन खुवाइएका हरेक १०० संक्रमितमध्ये १८ जनाको ज्यान गएको छ। यस्तै क्लोरोक्विन दिइएकामध्ये १६.४ प्रतिशतको ज्यान गएको छ। औषधी नदिइएकाहरुमा भने मृत्युदर ९ प्रतिशत मात्र रहेको थियो ।

चिकित्सकीय परीक्षण नै नगरी हाइड्रोक्सिक्लोरक्विन खुवाउनु निकै खतरनाक रहेको अध्ययनले देखाएको छ। मलेरियाविरुद्धको औषधीले कोरोना संक्रमितलाई कुनै फाइदा नभएको देखिएको छ ।

ट्रम्पले यो औषधी खाँदै गर्दा चिकित्सकहरुले यसबाट हृदयघात हुनसक्ने चेतावनी दिएका थिए। तर, चिकित्सकीय अध्ययन र चेतावनीलाई उपेक्षा गर्दै ट्रम्पले यो औषधी प्रयोगमा ल्याउन दबाब दिएको कारण अमेरिकामा मृतकको संख्या बढेको हो ।

हाइड्रोक्सिक्लोरक्विन मलेरिया र आथ्राइटिसका केही मामिलामा लाभकारी औषधी हो। तर, कोरोना संक्रमितको उपचारमा यो औषधी प्रयोग गर्न कुनै मेडिकल ट्रायल भएको छैन ।

यो औषधी खुवाउँदा संक्रमितहरूको ज्यान जाने खतरा अत्यधिक रहेको चिकित्सकहरुले बताएका छन्। (बीबीसीबाट)

शनिबार, १० जेठ, २०७७, बिहानको १०:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर