कोइराला समूहको स्ववियु निर्वाचन विशेष भेला

काठमाडौं । नेविसंघको संस्थापन इतर समूहले स्ववियु निर्वाचन विशेष उपत्यकास्तरीय भेला गरेका छन् ।

डा.शेखर कोइराला समूहबाट प्रतिनिधित्व गर्ने विद्यार्थीहरूले बुधबार आरआर क्याम्पसमा उपत्यका स्तरीय भेला गरेका हुन् ।
उक्त भेलामा नेविसंघका पूर्वअध्यक्ष रहिसकेका युवा नेताहरू गुरुराज घिमिरे र रञ्जित कर्ण, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की सहभागी थिए ।

नेविसंघमा कोइराला समूहको नेतृत्व गर्दै आएकी केन्द्रीय सदस्य प्रेमिका रानामगरको सभापतित्वमा आयोजित भेलामा उपत्यकाका विभिन्न विश्वविद्यालय र आंगिक क्याम्पसहरुका स्ववियु सभापतिहरूको पनि उपस्थिति रहेको केन्द्रीय सदस्य भुवन भट्टले जानकारी दिए ।

भट्टले अन्तरक्रियाका क्रममा भेलामा उपस्थित झण्डै २५ क्याम्पसका विद्यार्थी नेताहरूले प्रतिनिधिमुलक रुपमा आ–आफ्नो धारणा व्यक्त गरेको बताए ।

भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता घिमिरेले स्ववियुको स्थापनाका बेलाको कठिनाईं स्मरण गर्दै अहिले स्ववियुको भूमिका सही दिशामा अगाडि नबढेको बताए । उनले स्ववियु निर्वाचनमा नेविसंघले अरु सङ्गठनसँग चुनावी तालमेल नगरी निर्वाचनमा जानुपर्ने धारणा पनि व्यक्त गरे ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले स्ववियु निर्वाचन समयमै हुनुपर्ने र संगठनभित्र दुःख गरेका र लोकप्रिय विद्यार्थी नेतालाई समूहका नाममा अन्याय गरिए आवाज बुलन्द गर्नुपर्नेमा जोड दिए । ‘तपाईंहरू स्ववियु चुनावको तयारीमा जुट्नुस्,’ उनले भने, ‘साथीहरूको संरक्षण हामी गर्छौँ । अन्याय हुन दिँदैनौँ ।’

बुधबार, २३ माघ, २०८१, साँझको ०५:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर