केबलकार निर्माणमा अबरोध नगर्न महासंघको आग्रह

विराटनगर । कोशी प्रदेशको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथिभरा(मुक्कुमलुङ) क्षेत्रमा निर्माण सुरु भएको केबलकार परियोजनापछि उत्पन्न गतिबिधिप्रति नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघको कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले पर्यटन व्यवसायको विकास र रोजगारी सिर्जना गर्न केबलकार निर्माण हुनुपर्ने बताएका छन् ।

केबलकार निर्माणको सबै प्रक्रिया पुरा भई निर्माणको कार्य अघि बढ्न लाग्दा निर्माणमा अवरोध हुनु उचित नभएको भन्दै महासंघले वार्षिक लाखौं भारतीय पर्यटकलाई प्रदेशमा भित्राउन कोशेढुंगा सावित हुनसक्ने केबलकार परियोजनाको अवरोधले ताप्लेजुङ र समग्र प्रदेशवासीको हित नगर्ने दावी गरिएको छ । देशमा लगानीका लागि बाह्य लगानीकर्ताहरूलाई अपिल गरिरहेको अवस्थामा देशभित्रकै निजी क्षेत्रलाई निरुत्साहित गर्नु उचित नहुने भन्दै महासंघले प्रत्यक्ष वैदेशिक लगानीका लागि सर्वप्रथम स्वदेशमा नै लगानीको वातावरण निर्माण गर्नुपर्ने बताएको छ ।

कोशी प्रदेश सरकारले प्रदेश लगानी सम्मेलन, पर्यटन वर्ष २०८२ र चिया सम्मेलनको आयोजना गर्ने घोषणा गरिसकेको पृष्ठभूमिमा लगानीकर्तालाई अबरोध गर्ने कार्यले गलत सन्देश जाने र लगानीकर्ताहरु निरुत्साहित हुने राउतले बताएका छन् । धार्मिक सांस्कृतिक विविधताले नै पर्यटनको महत्वपूर्ण आधारशिला खडा गरेको भन्दै विज्ञप्तिमा अहिले देखिएको विवाद÷अवरोधलाई वार्ता संवादको माध्यमद्वारा समाधान गर्न अपिल गरिएको छ ।

पूर्वाधार निर्माणलगायतका विकासमुलक कार्यमा स्थानीयको सहभागिताको विधि अवलम्वन गर्न, विकासका प्रतिफलमा सम्वन्धित क्षेत्रका स्थानीयबासीको हिस्सा स्थापित गर्न आयोजनाले पनि स्वीकार गरेको विज्ञप्तिमा जनाइएको छ ।
यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी र कर्णाली प्रदेशका सभापतिरूले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस विषयमा महासंघ प्रदेश समितिको ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले कोभिड महामारीलगायतका कारण संकटमा परेको अर्थतन्त्रको विकास गरी पुरानै अवस्थामा ल्याउनका लागि नेपाल सरकार र निजी क्षेत्र लागि परिरहेको अवस्थामा विकासका लागि भइरहेका प्रयासमा अवरोध हट्नुपर्ने धारणा राखेका छन् ।

मङ्गलबार, २२ माघ, २०८१, साँझको ०६:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर