विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको कार्यालय भवन निर्माण हुने भएको छ । मोरङको बुढीगंगा २ सख्मामा निर्माण हुने कार्यालय भवनको सोमबार शिलान्यास सम्पन्न भएको छ । अहिलेसम्म भाडाको घरमा संचालनमा रहेको महासंघले जग्गा खरिद गरी कार्यालय भवन शिलान्यास गरेको हो । शिलान्याससँगै भवन निर्माण कार्यलाई द्रुत गतिले अघि बढाइने महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । उनले कार्यालय प्रयोजनका लागि तीनतले भवन निर्माण हुने बताए ।आइतबार सातौं प्रदेश सभा उद्घाटनकै क्रममा कार्यालय भवन शिलान्यास गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले भवन शिलान्यास तथा सभा उद्घाटन गरेका थिए ।
महासंघका अध्यक्ष राजेन्द्र राउतले मुलुकको व्यापार घाटा कम गर्न सिमेन्ट क्लिंकर, प्लाइउड, अदुवा, चिया, अलैंची र कफीजस्ता नेपाली उत्पादनको निर्यात बढाउन सरकारले विषेध जोड दिनुपर्ने बताए । वर्तमान आर्थिक चुनौती र समाधानका उपायहरूबारेमा चर्चा गर्दै उनले चालु आर्थिक वर्ष २०८१ को अर्धवार्षिक समीक्षामा नेपालको कूल वैदेशिक व्यापार नौ खर्ब २१ अर्ब १६ करोड रहेको र यसमध्ये मात्र ९८ अर्ब ७८ करोड ९२ लाख बराबरको निर्यात भएको जानकारी दिए ।
उनले चालु आर्थिक वर्षको पहिलो छ महिनामा वस्तु तथा सेवाको आयातबाट सरकारले २ खर्ब २४ अर्ब ३४ करोड रुपियाँ राजस्व संकलन गरेको र यस अवधिमा निर्यातमा खाने तेलको हिस्सा २५ अर्ब २ करोड रुपियाँ बराबर रहेको पनि उल्लेख गरे ।
कच्चा तेल आयात गरी प्रशोधन गरेर निर्यात गर्ने व्यवसायले व्यापार घाटा केही मात्रामा कम गर्न योगदान पु¥याएको भएपनि अन्य देशबाट कच्चा पदार्थ आयात गरी तयारी वस्तु पुनः निर्यात गर्ने रणनीति दीर्घकालीन समाधान हुन नसक्ने उनको भनाइ थियो ।
अध्यक्ष राउतले सरकारले स्वदेशी उत्पादन प्रवद्र्धन गर्न महत्वपूर्ण कदम चालेको भन्दै प्रसंशा पनि गरे हालै जारी गरिएको निर्देशिका अनुसार सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकता दिइएको र यस कार्यले स्थानीय उत्पादन, रोजगारी सिर्जना र आयात व्यवस्थापनमा सहयोग पुग्ने उनको अपेक्षा थियो ।
उनले क्लिंकर, प्लाइउड, अदुवा, चिया, अलैंची र कफी जस्ता नेपाली उत्पादनहरूले निर्यातमा उल्लेखनीय सम्भावना देखिएको भन्दै यी वस्तुहरूको गुणस्तर सुधार र उत्पादन वृद्धिका लागि नवीन प्रविधिको प्रयोग र चोरी पैठारी नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए ।
महासंघले गरेका महत्वपूर्ण कार्यहरूको पनि अध्यक्ष राउतले समीक्षा गरेका थिए । महासंघले जग्गा खरिद, भवन निर्माण आरम्भ गर्नेदेखि अपाङ्गता भएका व्यक्तिहरूका लागि रोजगार मेला, कृषि एक्सपो २०८१, र श्रमधान रोजगार मेला २०८१ को सफल आयोजना गरेको उनले बताए ।
महासंघले वैदेशिक रोजगारीबाट फर्किएका ६०० कामदारको सीप प्रोफाइलिङ गरेको र उनीहरूको सीपलाई स्थानीय उद्योगमा उपयोग गर्ने प्रयास गरिरहेको पनि जनाएको छ । यसैगरी, कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र २०८१ तयार पारेर विकासका लागि सरकार र साझेदारहरुलाई सहयोग गरेको अध्यक्ष राउतले बताए ।
अध्यक्ष राउतले आगामी २०८२ वैशाखमा कोशी प्रदेश सरकारले लगानी सम्मेलनको तयारी गरिरहेको र आउँदो नयाँ वर्षसँगै पर्यटन वर्ष २०८२ र चिया सम्मेलन पनि आयोजना हुने भएकोले यस क्षेत्रको आर्थिक गतिविधि सकारात्मक ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गरे । यति हुँदाहुँदै पनि प्रदेशमा लगानीको वातावरण भने बिग्रँदै गएकोमा चिन्ता व्यक्त गरे ।
विशेषगरी पाथिभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको विवादप्रति उनको चिन्ता थियो । यस्ता विवादले निजी क्षेत्रको लगानीलाई निरुत्साहित पार्ने भन्दै उनले सबै सरोकारवालाहरूलाई वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरे ।कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल प्रमुख अतिथिको रूपमा उपस्थित थिए । सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष, महासंघका विभिन्न पदाधिकारीहरू तथा स्थानीय सरकारका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।