पूर्वराष्ट्रपति भण्डारीको सक्रियता : ओलीलाई गलाएर नेतृत्व लिने पहल

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ता लामो भ्रमण सकेर आइतबार काठमाडौं फर्किएकी छन् । एक हप्ता कोशी प्रदेशको राजधानी विराटनगरमा बसेर अर्थपूर्ण ‘राजनीतिक मुभ’ गरेकी उनले सयौं नेता तथा कार्यकर्तासँग भेट गरिन् ।
भण्डारीले एक सातामा ८ वटा औपचारिक कार्यक्रममा सहभागी भइन् भने त्योभन्दा धेरै भेटघाट गरिन् । औपचारिक कार्यक्रममा पनि समूहगत र व्यक्तिगत ढंगले अनौपचारिक भेटघाटहरु धेरै गरिनन् ।

विराटनगरको होटल बिगमा ढुक्कले बसेर उनले सयौं एमालेका नेता तथा कार्यकर्ताहरुसँग भेट गरिन् । शनिबार मात्रै उनले तीन दर्जन बढी समूहका एक सयभन्दा बढी नेता, कार्यकर्तासँग भेट गरिन् । भेटघाट गर्नेहरुमा अधिकांश एमालेका नेता कार्यकर्ता छन् थिए भने कतिपय काँग्रेस र नेकपा एसका नेता तथा कार्यकर्ता पनि थिए ।

‘उहाँ औपचारिक रुपमा ८ वटा कार्यक्रममा सहभागी हुनुभयो । अनौपचारिक रुपमा त उहाँले पालो पाइराख्नु भएको छैन’ भण्डारीको भेटको व्यवस्थापन गरेका एमाले नेता सोमराज थापाले भने, ‘१४ गतेदेखि लगातार भेटघाटका कार्यक्रम भएका छन् ।’ थापाका अनुसार १४ पत्रकार सम्मेलनपछि विद्यार्थीसँग र केहि नेता र कार्यकर्तासँग भेटघाट गरेकी भण्डारीले १५ गते इटहरीको जनता माविको औपचारिक कार्यक्रममा सहभागी भइन् । इटहरीमा उनले सुनसरीका एमाले नेता, कार्यकर्तासँग छलफल गरिन् ।

भण्डारीले १६ गते भण्डारी मोरङ बुढीगंगामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा आयोजित कार्यक्रम र एक निजी स्कुलको औपचारिक कार्यक्रममा सहभागी भइन् । १७ गते उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी भएकी उनी १८ गते मोरङको ग्रामथानमा रहेको एक विद्यालय र धरानको इन्जिनियरिङ क्याम्पसको कार्यक्रममा सहभागी भइन् । १९ गते सुनसरीको इटहरीमा रहेको एनटिभी इटहरी च्यानलको कार्यक्रममा सहभागी भएकी उनी सोही दिन विराटनगरमा सञ्चालित विराट एक्स्पोको अवलोकन गर्न पुगिन् ।

औपचारिक कार्यक्रमबाहेक भण्डारीले प्राध्यापक, बुद्धिजीवि, मदन भण्डारी फाउण्डेसनको टिम, काँग्रेस नेता ज्ञानेन्द्र कार्की, भीम पराजुलीसम्मलाई भेटिन् । काँग्रेस नेता कार्की भण्डारीको पारिवारिक नातामा दाजु पर्छन् । भण्डारीलाई मोरङका अधिकांश नेता र कार्यकर्ताले भेटे ।

शनिबार दिउँसो सभामुख देवराज घिमिरेले पनि भण्डारीलाई होटलमै भेटेका थिए । नेकपा (एकीकृत समाजवादी)का नेता महेश रेग्मीसहितले पनि उनीसँग भेटेका छन् । भण्डारीले प्रत्येक दिन भएका कार्यक्रम र भेटघाटको विषयमा आधा घण्टा समीक्षा गर्ने गरेकी थिइन् ।

भण्डारीसँग भेटघाटमा गएका एमालेका नेता कार्यकर्ताहरुले गुम्सिएर बसेको कुरा गर्ने गरेको स्रोतले बताएको छ । ‘कहाँ भनौं, कसलाई पीडा कहाँ पोखौं भन्ने भएकाहरुले भण्डारीसँग आएर पर्याप्त गुनासो पोखेका छन्,’ स्रोतले भन्यो, ‘सबैको गुनासो नै गुनासो छ । म साइड लागें, मलाई साइड लगाइयो । हजुर संरक्षक बनिदिनु पर्यो भन्ने मात्रै आएका छन् ।’

भेटमा सहभागीहरुले ‘केपी ओलीको बोली पनि ठिक छैन । हाम्रो अबको लिडर को हो भन्ने प्रश्न जनतामा रहेको छ’ भन्दै भण्डारीलाई गुनासो गरेका थिए । एमालेभित्र नेतृत्वको संकट देखिएको बेला प्रतिस्पर्धाविनै आफू नेतृत्वमा पुग्न सकिन्छ भन्ने आत्मविश्वास भण्डारीमा रहेको बुझिएको भेटमा सहभागी एक नेताले बताए । भेटमा एमाले नेतृत्वको स्वभावजन्य कुराले पार्टीमा पनि गज्याङ गुजुङ भएकोदेखि माओवादी र नेकपा एसलगायतका कार्यकर्ताले पनि नेतृत्व लिन आग्रह गरेको विषय भेटमा उठेको बताइएको छ ।

भण्डारीले सर्वसम्मत रुपमा पार्टीले आह्वान गरे नेतृत्वमा तयार रहेको संकेत गरिसकेकी छन् । तर, चुनाव लडेरै एमाले अध्यक्ष बन्ने मनस्थितिमा भने नरहेको स्रोतको दाबी छ । ‘आफैं लडेर आउने मनस्थिति छैन’ भण्डारीसँग भेटेका एक नेताले भने, ‘तर, परिस्थिति निर्माण गरेर नेतृत्व लिने दाउमा रहेको बुझिन्छ ।’

भण्डारीले एमालेभित्रको एकतासहित नेकपा एस र माओवादीसहित बाम एकताको कुरा गर्ने गरेकी छन् । उनले पार्टी धेरै बिग्रियो भन्ने चिन्ता पनि व्यक्त गर्ने गरेकी छिन् । उनले बोलेकै भरमा भीम रावल, विन्दा पाण्डेलगायतलाई कारबाही गरेर पार्टीलाई कमजोर बनाएको भाव व्यक्त गर्ने गरेको स्रोत दाबी गर्छ ।

घटनाक्रमहरु र उनको सक्रियता हेर्दा भण्डारी सक्रिय राजनीतिमा आउने आधारहरु प्रष्ट हुँदै गएको छ । पहिलो आधार पार्टीको संगठित सदस्यता नवीकरण गर्नु हो । दोस्रो आधार पटक–पटक प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग भेटघाट गर्नु र तेस्रो आधार सातवटै प्रदेशको भ्रमण गर्ने कार्यतालिका बनाउनु हो ।

‘प्रधानमन्त्रीसँगको भेटघाटले दुईवटा कुरा बुझ्नु पर्छ । एउटा केपी ओलीलाई अबको पार्टी अध्यक्ष विद्या भण्डारी हो भन्ने माहोल पनि बनाउँछ । अर्को ओलीले तपाई होइन भन्ने हो भने म प्रतिस्पर्धा गर्छु भन्ने माहोल पनि बनाएको छ,’ भण्डारी निकट स्रोत भन्छ, ‘उहाँको कन्फिडेन्स हेर्दा राजनीतिमा आउने नै देखिन्छ । विस्तारै माहोल बन्दै गएको छ । अहिलेको अभियान पनि त्यही हो ।’ पूर्वराष्ट्रपतिले होटलमा बसेर ७ दिनसम्म दर्जनौं समूहका मानिसहरुसँग भेटघाट गर्नुले स्पष्ट संकेत गरेको एक नेताले बताए ।

एमालेमा अध्यक्ष ओलीप्रतिको सर्वस्वीकार्यता कमजोर बन्दै गएको बेला ओलीले आलोचकमाथि कार्वाहीको डण्डा बर्साइरहेका छन् । जसको कारण ओलीको आलोचना खुलेर गर्नसक्ने अवस्थामा नेता तथा कार्यकर्ता छैनन् । तर, उनीहरुभित्रको आक्रोश गुम्सिएर बिस्पोटको अवस्थामा पुगेको देखिन्छ । त्यसलाई मत्थर पार्दै ओलीमाथि दबाब कायम राखेर पूर्वराष्ट्रपति भण्डारी अगाडि बढ्न खोजेको देखिन्छ ।

भण्डारीसँगै ७ वर्ष उपराष्ट्रपति रहेका नन्दबहादुर पुनः हालै माओवादी केन्द्रको बैठकमा सहभागी भएका थिए । भण्डारीले त्यसमा खुसी व्यक्त गर्दै शुभकामना दिनुले पनि उनको राजनीतिमा सक्रिय हुने चाहना स्पष्ट देखिएको छ ।

सोमबार, २१ माघ, २०८१, बिहानको ०८:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर