समाज सेवाको प्रेरणादायी पात्र

 सम्पादकीय

सामाजिक सेवाको क्षेत्रमा आफ्नो जीवन समर्पण गर्ने विराटनगरका जगतप्रसाद अर्याल नेपाली समाजका लागि प्रेरणाको स्रोत हुन् । २३ वर्षदेखि उनले आफ्नो साइकलबाट प्रतिव्यक्ति ५ रुपैयाँ संकलन गर्दै वृद्धवृद्धा, असहाय र बेसहारा मानिसहरूको सहारा बनेका छन् । विराटेश्वर वृद्धाश्रमका संस्थापक अर्यालले समाजसेवाको आफ्नै परिभाषा स्थापित गरेका छन् । जगतप्रसाद अर्यालको यो अभियान केवल आर्थिक सहयोग संकलनमा सीमित छैन । उनले आफ्ना कार्यहरूमा समाजप्रति उत्तरदायित्वको भावना प्रस्तुत गरेका छन् । ‘समाजले मलाई ऋण लगाएको छ’ भन्ने उनको भनाइले उनीभित्रको निःस्वार्थ सेवाभावलाई प्रस्ट पार्छ । उनले समाजसेवामा आफूले मात्रै नभई समुदायलाई पनि समेट्न सफल भएका छन् ।

अर्यालले विराटनगर–८ मा सञ्चालन गरिरहेको विराटेश्वर वृद्धाश्रममा हाल ७१ जना वृद्धवृद्धाहरू आश्रित छन् । उनले यो आश्रमलाई साउथ इष्ट एसियामै नमूना बनाउने लक्ष्य राखेका छन् । एक हजार वृद्धवृद्धालाई एउटै छानामुनि राख्ने उनको योजना छ । उनी झापा, मोरङ, सुनसरी, धनकुटा, र उदयपुरलाई आधार क्षेत्र बनाएर समुदायको सहकार्यमा यो योजना अघि बढाइरहेका छन् । समाजमा वृद्धवृद्धाहरूको उपेक्षा र असहाय अवस्थालाई नजिकबाट हेरेपछि उनलाई यस्तो संस्थाको आवश्यकता महसुस भयो । श्रीमान् गुमाएका, परिवारले हेला गरेका वा बेसहारा बनेका महिलाहरूका लागि यो आश्रम एउटा सुरक्षित थलो बनेको छ । यो कामको सुरुवात सरल थिएन । उनलाई ‘मगन्ते’ र ‘बौलाहा’ भन्नेहरू पनि थिए । तर, उनले आलोचनालाई सकारात्मक रूपमा लिँदै आफ्नो अभियानलाई निरन्तरता दिए ।

अर्यालले नेपालभर पैदलयात्रा गरेर ५ लाख व्यक्तिबाट पाँच रुपैयाँ उठाउने योजना बनाएका थिए । यद्यपि, तत्कालीन द्वन्द्वकालले यो सम्भव भएन । त्यसपछि उनले गाउँगाउँ पुगेर, विवाह र अन्य सामाजिक कार्यक्रममा सहभागी भएर सानो रकम संकलन गरे । आठ वर्षको निरन्तर परिश्रमबाट उनले ४ लाख ९२ हजार ३९२ रुपैयाँ संकलन गरेपछि वृद्धाश्रमको पूर्वाधार निर्माणमा स्थानीय सहयोग मात्र नभई अन्तर्राष्ट्रिय नेपाली समुदायको पनि सहयोग लिए । अमेरिका र क्यानडामा रहेका नेपालीहरूसँग उनले पाँच डलरको सहयोग संकलन गरे । उनका छोराबुहारी पनि अमेरिकामा छन् । आश्रम निर्माण र व्यवस्थापनका लागि उनले राज्यको मुख ताकेनन् । ढुङ्गा, गिट्टी, इट्टा र बालुवाजस्ता सामग्री माग्दै उनले ५० बेडको संरचना तयार गरे । लायन्स क्लबको सहयोगमा आश्रम विस्तार भएको थियो । जगतप्रसाद अर्यालको काम केवल वृद्धवृद्धाहरूलाई आश्रय दिन सीमित छैन । उनी ‘थर्ड जेनेरेसन पार्क’ निर्माण गर्दै छन्, जसले तीन पुस्ता– हजुरबुवा, बुवा, र नाति – तथा हिमाल, पहाड, र तराईलाई एकसाथ जोड्ने प्रतीकात्मक महत्व बोकेको छ ।

अर्यालको जीवनकथा निःस्वार्थ सेवाभाव र दृढताले भरिएको छ । आलोचना र कठिनाइहरूको सामना गर्दै पनि समाज परिवर्तन गर्न सकिन्छ भन्ने उनको जीवनले देखाएको छ । हिजोआज सेवाको नाममा आफ्नो प्रचार गर्नेहरु धेरै छन् । २ थान चाउचाउ वितरण गरेको फोटो पनि समाचार र सामाजिक सञ्जालमा हालेर आफैं प्रशंशामा उनीहरु रमाउँछन् । तर, अर्याल योभन्दा फरक छन् । उनको यस्तो अभियानले हामी सबैलाई समाजप्रति जिम्मेवारी बहन गर्न प्रेरित गर्छ ।

सोमबार, १५ पुष, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर