उमागौरी सहकारी ठगी : फरार श्रीमती अन्जलाको बिदा थप्न पोख्रेलको फोन

विराटनगर । सहकारी ठगी मुद्दामा फरार रहेकी श्रीमति अञ्जला कोइरालाको विदा थप गरिदिन उनका श्रीमान ऋषिकेश पोखरेलले विद्यालयमा फोन गरेको खुलेको छ ।

सहकारी ठगी विषयमा मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएपछि फरार रहेकी सहकारीकी पूर्वसञ्चालक कोइराला कार्यरत विराटनगरको महेन्द्र रात्री माविमा प्रतिनिधिसभाको लेखा समितिका सभापति रहेका उनका श्रीमान पोखरेलले फोन गरेर विदा थप गरिदिन आग्रह गरेका हुन् ।

मोरङको उमागौरी कृषि सहकारी संस्थाको रकम ठगी गरेको विषयमा जिल्ला सरकारी वकिलको कार्यालयले मंसिर २७ गते मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेपछि शिक्षिका कोइराला फरार छन् । मुद्दा दर्ताको भोलिपल्ट २८ गते विद्यालयमा हाजिर भएकी उनी त्यसपछि ५ दिनको विदा लेखेर फरार भएकी थिइन् ।

सहकारी ठगीमा श्रीमतिविरुद्ध पक्राउ पुर्जी जारी भएपछि लेखा समितिको आइतबार बसेको बैठकमा सांसदहरुले सभापति पोखरेलको राजिनामा मागेका थिए । माओवादीका सांसदले राजीनामा माग गर्दा एमालेका सांसद योगेश भट्टराईले पनि त्यसबारे पोखरेलले जवाफ दिनुपर्ने र श्रीमति अदालतमा हाजिर हुनुपर्ने बताएका थिए ।

सांसदहरुले श्रीमती फरार भएकोबारे मागेको जवाफ पोखरेलले दिएनन् । बरु उनले कानुनलाई सहयोग गर्ने भन्दै विषय पन्छाउने प्रयास गरेका थिए । संसदीय समितिमा श्रीमति फरार भएकोबारे जवाफ नदिएका पोखरेलले उनी कार्यरत विद्यालयमा भने श्रीमती विरामी भएको भन्दै विदा थप गरिदिन फोन गरेका हुन् ।

श्रीमती कोइरालाले लिएको ५ दिनको विदा गत शुक्रबार सकिएको छ । थप विदाको सुचना विद्यालय प्रशासनमा नआएको महेन्द्र रात्री माविका प्रधानाध्यापक झंकप्रसाद पराजुलीले बताए । ‘उहाँको लिखित विदा आएको छैन’ उनले भने भने, ‘अञ्जली मिसका श्रीमानले थप केहि दिन विदा चाहिने भयो भनेर फोनमा जानकारी गराउनुभएको छ ।’

पराजुलीका अनुसार पोख्रेलले फोन गराएर श्रीमती विरामी भएको भन्दै केहि दिन विदा थपिदिन भनेका थिए । वर्षमा चाडपर्व विदा भनेर अतिरिक्त ६ दिन लिन पाउने व्यवस्था रहेकोमा कोइरालाले ५ दिन सोही शिर्षकमा विदा लिएकी थिइन् ।
उमागौरी सहकारीको २२ करोडभन्दा बढि रकम अनियमितता भएको भन्दै मोरङ जिल्ला अदालतमा कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ । सो मुद्दामा जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजालसले फरार रहेकाहरु विरुद्ध ३५ दिने अदालती पूर्जी जारी गरिसकेको छ ।

सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ । अनुसन्धानमाअसहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो ।सरकारी वकिलको कार्यालय मोरङले दायर गरेको अभियोगपत्रमा ८ हजार ८४२ जना शेयर सदस्यहरुको ३ करोड ८ लाख ८० हजार ३०० रुपैयाँ शेयर रकम र ७०७ जना ऋणीहरुले २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ संस्थाबाट ऋण लिएको उल्लेख छ । जसमध्ये ८ करोड १३ लाख ६४ हजार ७ सय रुपैयाँ उठेको र बाँकी १६ करोड १६ लाख ५७हजार ८३२ उठ्न बाँकी देखिएको उल्लेख छ ।
धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी सहकारी प्रकरणमा सभापति पोखरेलपत्नी अञ्जलासहितका फरार २५ जनाविरुद्ध पुस ३ गते मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । विराटनगरको महेन्द्र रात्री माविकी शिक्षिका रहेकी कोइराला भने फरार छन् । अदालतमा मुद्दा दर्ता भएको भोलिपल्ट विद्यालयमा हाजिर गरेकी उनले त्यसपछि विदा लेखेर फरार भएकी हुन् ।

मङ्गलबार, ०९ पुष, २०८१, बिहानको ०७:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर