विराटनगर । सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् ।
करिब चार महिनापछि आइतबार बसेको लेखा समिति बैठकमा सहकारी ठगीमा सभापति पोखरेलकी श्रीमतिविरुद्ध पक्राउ पुर्जी जारी भएको अवस्थामा लेखा समितिको नेतृत्व पोखरेलले गर्न नमिल्ने भन्दै राजिनामा मागिएको हो ।
माओवादीका सांसद अमनलाल मोदीले सहकारी ठगीमा समिति सभापतिमाथि प्रश्न उठेको भन्दै मार्गप्रशस्त गर्न आग्रह गरे । ‘सहकारीको कुरामा तपाईंको परिवारसँग जोडिएको छ, तपाईंमाथि पनि प्रश्न उठेको छ’ उनले भने, ‘समितिकै सभापतिमाथि प्रश्न उठेपछि केही न के केही बोल्नुपर्छ, जवाफ दिनुपर्छ ।’
सार्वजनिक लेखा समिति चेक एण्ड ब्यालेन्समा चल्नुपर्ने भन्दै मोदीले लेखा समितिलाई सक्रिय र प्रभावकारी बनाउनका लागि सत्तापक्षले नेतृत्व छाड्नुपर्ने बताए । ‘चेक एन्ड ब्यालेन्सको कुरा छ, लेखा समितिको सभापति प्रतिपक्षीको हुने अभ्यास छ’ उनले भने, ‘तपाईं आफैं सरकारको नेतृत्वकर्ता दलको हुनुहुन्छ, सरकारको छायाँ यो समितिमा परेको भनेर प्रश्न पनि उठिरहेको छ । विगतको गलत अभ्यासलाई निरन्तरता दिनु हुदैन ।’
यसअघि माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले पनि सभापति पोखरेलको राजिनामा मागेको थियो । पोखरेलकी श्रीमति अञ्जला कोइराला सञ्चालक रहेको मोरङको धनपालथानस्थित उमागौरी सहकारीमा २२ करोड भन्दा बढि अनियमितता भएको भन्दै मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सो प्रकरणमा सभापति पोखरेलकी श्रीमति फरार छन् ।
पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको र अञ्जला पक्राउ नपरेको माओवादीले बताउँदै आएको छ । सहकारीका अन्य प्रकरणको छानविनमा प्रहरीले पहिले पक्राउ गरेर अनुसन्धानपछि मुद्दा दायर गर्ने गरेकोमा उमागौरी सहकारीमा भने पोखरेलपत्नी अञ्जलालाई पक्राउ त के, सोधपुछ पनि नगरी प्रहरीले सरकारी वकिलकोमा मुद्दा बुझाएको थियो । मोरङ जिल्ला अदालतमा मंसिर २७ गते दायर अभियोगपत्रमा अञ्जलासहितलाई फरार अभियुक्त देखाइएको छ ।
लेखा समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल माओवादीले सभापति पोखरेलको राजिनामा मागेपछि एमाले सांसद योगेश भट्टराईले पनि पोखरेलकी पत्नी अन्जला कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताए । एमाले सचिवसमेत रहेका भट्टराईले आर्थिक लेनदेनमा आफू ठिक ठाउँमा उभिए मात्रै अरूमाथि डन्डा चलाउन सकिने उल्लेख गरे ।
‘समितिका सभापतिको श्रीमती फरार रहेको कुरा आइरहेका छन्, अदालतमा उपस्थित हुन राम्रो हुन्छ,’ उनले भने, ‘यो समिति सुशासन र चेक एण्ड ब्यालेन्सका लागि पनि बनेकोले आर्थिक रूपमा प्रष्ट हुनुपर्छ । यो स्पष्टीकरण दिने फोरम त होइन । तर, यसबारे प्रष्ट बनाइदिनुस् ।’
भट्टराईले सभापति पोखरेलले आफ्नी पत्नीलाई लुकाएर राख्ने कुरा नहुने बताए । ‘सभापतिले आफ्नो परिवारलाई छोपेर, लुकाएर राख्ने कुरा भएन । सभापति एमालेको प्रतिनिधि, इमानदार सदस्य र सांसद भएपछि त्यस्तो गर्नुहुन्छ भन्ने मलाई लाग्दैन,’ उनले भने, ’उहाँको श्रीमती पक्कै पनि अदालतमा हाजिर हुन जानु हुन्छ । अदालतमा आफ्नो सफाइ दिने हो । बाहिर अरूले जस्तो चिच्याउँदै, कराउँदै हिँड्ने होइन ।’
बैठकमा एमाले सांसद गोकुल बास्कोटा र कांग्रेस सांसद राजेन्द्र केसीले भने पोखरेलको बचाउ गरेका थिए । श्रीमतिलाई अभियोग लाग्दा श्रीमान दोषी नहुने भन्दै उनीहरुले पोखरेलमाथि प्रहार गर्न नहुने जिकिर गरे ।
सभापति पोखरेलले भने आफूमाथि उठेका सबै प्रश्नको जवाफ दिन तयार रहेको बताएका थिए । आफू सबै कुराको कानुनी रूपमा सामना गर्न तयार रहेको बताउँदै उनले सांसदहरूले उठाएका विषयप्रति आफ्नो कुनै जवाफ नभएको उल्लेख गरे । सहकारी ठगीमा श्रीमति फरार भएको विषयमा उनले कुनै जवाफ दिएनन् ।
धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी सहकारी प्रकरणमा सभापति पोखरेलपत्नी अञ्जलासहितका फरार २५ जनाविरुद्ध पुस ३ गते मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । विराटनगरको महेन्द्र रात्री माविकी शिक्षिका रहेकी पोखरेले भने फरार छन् । अदालतमा मुद्दा दर्ता भएको भोलिपल्ट विद्यालयमा हाजिर गरेकी उनले त्यसपछि विदा लेखेर फरार भएकी हुन् ।
सहकारीबाट कर्जा लिएका ऋणीका कागजपत्र बैंक तथा वित्तीय संस्थामा राखेर ऋण लिएर करोडौं रकम हिनामिना गरेपछि पोखरेल पत्नी अन्जलासहित सञ्चालकलाई आरएसडिसी लघुवित्तले पनि कालोसूचीमा राखेको छ । सहकारी ठगीमा आफू र श्रीमतिको कुनै संलग्नता नरहेको दावी यसअघि पोखरेलले गर्दैै आएकोमा उनी करिब ६ सहकारीको सञ्चालक समिति सदस्य भएको र त्यहि बेला ठूलो रकम अनियमितता भएको अनुसन्धानबाट पुष्टि भइसकेको छ ।
राज्यका निकायलाई वित्तीय अनुसशासनमा राख्ने लेखा समितिका सभापतिकै श्रीमति सहकारी ठगीमा फरार भएको विषयलाई सरकारको नेतृत्व गरेको एमालेले भने वेवास्ता गर्दै आएको छ । एमाले नेता पोखरेल र कांग्रेस उपसभापति धनराज गुरुङलाई सहकारी ठगीमा अनुसन्धान गर्नुपर्नेमा सत्ताकै आडमा उन्मुक्ति दिइएको विरोध भइहरेको छ ।