विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् ।उपमेयरलाई कार्यवाहकको जिम्मेवारी नदिएर प्रमुख साम्पाङले धरान ११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागूलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।
प्रमुख साम्पाङ झण्डै १७ दिन लामो बेलायत भ्रमणमा जान लागेका छन् । उनी अक्टोबर १७ देखि नोभेम्बर २ सम्म भ्रमणमा जान लागेकोले आज मंगलबारदेखि लागू हुने गरी वडाध्यक्ष फागूलाई कार्यवाहक प्रमुखको जिम्मेवारी तोकेका हुन् ।
सामान्यतया नगर प्रमुखको अनुपस्थितिमा उनले गर्दै आइरहेको कामकारवाही उपप्रमुखले गर्ने कानुनी व्यवस्था छ । तर प्रमुख साम्पाङले नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष फागूलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।
उपप्रमुख अइन्द्रबिक्रम बेघासँग पछिल्लो समय प्रमुख सम्पाङसँग राम्रो सम्बन्ध छैन । प्रमुख साम्पाङका क्रियाकलापहरु गैरराजनीतिक चरित्र र नियम कानुनविपरीत हुनथालेपछि बेघाले सम्पाङका क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै कतिपय विषयमा प्रतिवादसमेत गर्न थालेका थिए । सोही कारण प्रमुख वैदेशिक भ्रमणमा जाने क्रममा उपप्रमुखलाई नभई वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको अनुमान गरिएको छ ।
प्रमुख साम्पाङ बेलायतस्थित नपालीहरुको निम्तामा दुईसाता लामो भ्रमणमा जान लागेका हुन् । उनले कर्मचारी नियुक्त गर्न नपाउने, दश राजनीतिक दलले तोडफोड गरेको संरचना मर्मत गर्न नपाउने, दैनिक ५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्न नपाउने आदि सीमा तोकेरै दैनिक प्रशासन सञ्चालन गर्न कार्यवाहकको जिम्मेवारी दिएका छन् ।
उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिन नहुने नजीर
स्थानीय तह संचालन ऐन २०७४ को दफा १६(४) क १२ मा ७ दिनभन्दा बढी समय अनुपस्थित हुने भएमा निजको कार्यभार उपप्रमुखले सम्हाल्ने स्पष्ट व्यवस्था रहेकोछ । यसअघि झापाको कमल गाउँपालिकामा पनि उपाध्यक्षलाई नदिई वडाध्यक्षलाई कार्यावाहक दिएको विषयमा उच्च अदालत विराटनगरमा रिट दायर भएको थियो । उक्त रिटमा सुनुवाई गर्दै उच्च अदालत विराटनगरले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनु प्रचलित कानुनी व्यवस्था र पदसोपान सिद्धान्तविपरीत हुने भन्दै वडाध्यक्षलाई उक्त जिम्मेवारी वहन गर्नबाट रोक लगाएको थियो ।