काठमाडौं । नेपाल–भारतको सिमा क्षेत्रमा सुरक्षाकर्मी अपुग भइरहेको बेला पूर्वप्रधानमन्त्री तथा पूर्व मन्त्रीहरुले सुरक्षाकर्मी अघि पछि लगाएको विषयमा आलोचना भइरहेको छ ।
तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई दिएको सुरक्षाकर्मी फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको छ ।
आफ्नो ट्विटर एकाउन्ट मार्फत आज नेता श्रेष्ठले आफूलाई कुनै पनि सुरक्षा खतरा नरहेको र आफ्नो भन्दा राष्ट्रिय सुरक्षा महत्वपूर्ण हुने हुँदा फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको हो ।
‘मैले पूर्व गृहमन्त्रीले लिने गरेको गाडी र तेल सुबिधा सुरुदेखि नै लिइन । सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ,’ श्रेष्ठले भन्नुभएको छ, ‘तर, गत चुनावअघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो । थाहै छ, म पछुवा नियमित प्रयोग गर्दिन । मैले आफूलाई सुरक्षा खतरा महसुस गरेको छैन । राज्य संयन्त्रले त्यस्तो आकलन गरेको छ भनेपनि मेरोभन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुन्छ । त्यसैले राज्यको आवश्यकताकालागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ । यसबाट राज्यलाई अप्ठ्यारो परेको भए क्षमायाचना ।’
भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेपछि सीमामा सुरक्षाकर्मी अभाव भएको विषयमा संचारमाध्याममा समाचार प्रकाशित भइरहेको छ । तर, राजनीतिक दलका नेता तथा पूर्व भिआइपीहरको सुरक्षाको लागि १ हजार बढी सुरक्षाकर्मी खटाइएका छन् । श्रेष्ठको यस्तो धारणा सार्वजनिक भएसँगै अन्य भिआइपीलाई पनि सुरक्षाकर्मी फिर्ता पठाउन दबाब बढेको महसुस गरिएको छ ।