विराटनगर । कोशी प्रदेशका नवनिर्वाचित प्रदेश संसदीय समितिका सभापतिहरुलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बधाई ज्ञापन गरेका छन् ।
लामो समयदेखि सभापति चयन हुन नसकिरहेको अवस्थामा मुख्यमन्त्री कार्कीकै पहलमा समितिका सभापतिहरु चयन भएका थिए । ७ समिति मध्ये ३ समितिमा नेपाली काँग्रेस, ३ मा नेकपा एमाले र एउटा समितिमा माओवादी केन्द्रले सभापति लिएको छ । गत २८ गते समितिको सभापतिमा निर्वाचित भएका हुन् । त्यस्तै एमालेका सचेतक ललिता चौधरीलाई उनले बधाई दिए। उनीहरुलाई बधाई दिँदै मुख्यमन्त्री कार्कीले सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
संसदीय समितिमा एमालेको तर्फबाट प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा होमबहादुर थापा, न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा कमला दर्नाल र उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा रामदेव यादव निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसबाट सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापतिमा विनोद राई निर्वाचित भएका छन् । सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा माओवादी केन्द्रबाट राजन किराँती निर्वाचित भएका छन् । सबै समिति सभापतिहरु सर्वसम्मत निर्वाचित भएका हुन् ।