विश्वासको मतबारे बहस

कोशी प्रदेश प्रतिपक्षी दलको कडा आलोचना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल भइरहेको छ । उक्त छलफलमा बोल्दै प्रतिपक्षी दलहरु माओवादी केन्द्र, राप्रपा र नेकपा एसले कडा आलोचना गरेका छन् ।

प्रदेशसभामा बोल्दै प्रमुख प्रतिपक्षी दल माओवादी सांसद गणेश प्रसाद उप्रेतीले भ्रष्टाचारीलाई जेलको चिसो छिँडिमा कोच्ने अभियान प्रचण्ड सरकारले जारी राख्दा दुई ठूला दलको नेता पनि पुग्ने भएपछि त्यो सरकार ढालिएको र प्रदेश सरकार अहिलेको केन्द्र सरकारको लाचार छायाँ बनेको आरोप लगाए । ‘जनविरोधी केन्द्र सरकारको लाचार छायाँ बनेको यो सरकारलाई हामीले कसरी विश्वास गर्नु । यो सरकार भ्रष्टहरुद्वारा निर्मित सरकारलाई कुनै पनि सचेत नागरिकले विश्वास दिन सकिँदैन । यो अप्राकृतिक पनि छ,’ उप्रेतीले भने, ‘तपाईकै माननीय कोही अनसन बस्नु हुन्छ । कोही सरकारमा जानु हुन्न । कसरी मिलाउनु हुन्छ । तपाईहरुलाई अज्ञात भयले मुर्छित बनाएपछि बनेको सरकार हो । यो इतिहासमै सबैभन्दा ठूलो दुर्भाग्य हो ।’

उनले माओवादी आन्दोलनलाई हिंसा भन्ने एमाले नेतृत्वको सरकारले विश्वासको मत मत कसरी मागेको भनि प्रश्न गरे । ‘माओवादी जनयुद्धलाई हिंसा भन्नुहुन्छ अनि आज विश्वासको मत कसरी माग्नुहुन्छ ?,’ उप्रेतीले भने, ‘नेकपा एमालेका साथीहरुलाई म पार्टीको नाम सम्झाउन चाहन्छु । तपाईहरुले लेनिनको अक्टोबर क्रान्तिलाई हिंसा भन्नुहुन्छ कि के भन्नुहुन्छ ? माओको क्रान्तिलाई के भन्नुहुन्छ ? यदि त्यसलाई पनि हिंसा नै भन्नुहुन्छ भने पार्टीको नाम परिवर्तन गर्नुहोस् ।’

उनले काँग्रेस र एमाले मिलेर सरकार बनेपछि राष्ट्रिय रूपमा स्थापित स्क्यान्डलका फायलहरु हराउन थालेको दाबी गरे । ‘ती स्क्याण्डलको छानविनमा सहभागी प्रहरी अफिसरहरुलाई हटाइएको छ । त्यसो भएको हुँदा जतिसक्दो छिटो यो सरकारको विघटन भएमात्रै देश र जनताको भलो हुन्छ ।’

यस्तै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले संसद कार्यपालिकाको छायाँ बन्न नसक्ने बताएका छन् । राईले सरकारलाई समर्थन गर्नुपर्ने कुनै कारण नदेखिएकोले र आवश्यकता नभएको पनि दाबी गरे । ‘सरकारले गरेको राम्रो काम केही देखिएको छैन् । हामी पक्ष र विपक्षमा मत नहाल्दै बरु नो भोट गर्छौं,’ उनले भने । राईले जनपक्षीय काम अघि बढाउन पूर्वमुख्यमन्त्रीले अनसन बस्नुपर्ने अवस्था आएको भन्दै सरकारलाई खास समर्थन गर्न नपर्ने बताए । राईले आफूहरु विपक्षमा नै बस्ने जानकारी दिए ।

राप्रपा दलका नेता भक्तिप्रसाद सिटौलाले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको दाबी गरे । ‘अहिलेको गठबन्धन अप्राकृतिक छ । एउटा कम्युनिष्ट पार्टी, अर्को प्रजातान्त्रिक पार्टी छ । यो गठबन्धन कसरी बन्यो ? दुवै पार्टी जनइच्छा विपरीतको बद्नियतपूर्ण गठबन्धन बनाएका छन्,’ उनले भने, ‘यो गठबन्धन अर्को निर्वाचनसम्म चलोस् । अप्राकृतिक भएपनि चलोस् । कलियुग प्रारम्भ भएको चर्चा छ । कलियुगमा अप्राकृतिक नै हुन्छ ।’

उनले भ्रष्टाचार बढेको, ठूला दलका ठूला नेता नै भ्रष्टाचारीको दलदलमा फसेको दाबी गरे । ‘सहकारी, एनसेल, वाइडबडी काण्ड, भुटानी शरणार्थी बनाएर नेपालीलाई विक्री गरेको कुरा हेर्दा त्यो पुष्टि हुन्छ,’ उनले भने ।

 

बुधबार, ०२ असोज, २०८१, दिउँसोको ०३:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर