सांस्कृतिक विचलन र आजको कारुणिक परिवेश

 मणि दाहाल

राजनीतिक परिवर्तन पछिको पहिलो कार्यभार सामाजीकतथा सांस्कृतिक रुपान्तरण हो । राजनीतिक रुपान्तरण मुताविक सामाजिक चेतनाको विकाश गर्न सकिएन भने राजनीतिक यथास्थितिको बन्धक बन्छ । अनि प्राप्त अधिकार टाठाबाठाको पोल्टामा सीमित हुन्छ । जनता रैतीको जीवन भन्दा माथि उठ्न सक्दैनन् । परनिर्भरता र पथभ्रष्ट समाजको अंग बन्छ । जनता, मतदाता र करदातामा सीमित रहन्छन् । जुन हाम्रोमा भइरहेकै छ ।

हामी राजनीतिक दृष्टिकोणबाट अधिकार सम्पन्न छौं । आन्दोलनको अवतरणपछिका राजनीतिक अधिकारहरु दस्ताबेजीकरण पनि भएकै छन् । आर्थिक अधिकार पनि लिपिबद्ध नै छन् । समाजवादउन्मुख राज्य व्यवस्थाको परिकल्पना पनि गरिएकै छ । यति हुँदाहँुदै पनि हामीले जनतालाई आर्थिक रुपमा सम्वृद्ध, सामाजिक रुपमा सचेत र संस्कृतिक रुपमा प्रगतिशील चेतनामा ढाल्न सकेका छ्रैनौं । अभाव र बेरोजगारी उस्तै छ । पलायनता सामाजीक चरित्र बनेको छ । बस्ती शून्यताको अवस्थाले पहाडी क्षेत्रका उर्बर भूमिहरु जंगलमा परिणत भएका छन् । जंगली जनावरको पीडाले त्याहाँ बस्ने जनतालाई उतिकै सताएको छ । यस्ता यावत समस्याको कारण के हो त ? कारण र निराकरण आजको आवश्यकता हो ।

सामाजिक चरित्रले आम क्षेत्रलाई प्रभाव पार्छ । हामीले सामन्तजवादको परास्त गर्यौँ । सामन्तवादको नायक राजतन्त्रलाई पनि घुँडा टेकायौँ । सामन्तवादबाट दलाल नोकरशाही पुँजीवाल समाजको चरित्र बन्यो । तर, दलाल नोकरशाही पुँजीवादले सामन्तवादको रुप धारण गर्दै राजनीतिक, आर्थिक र सामाजीक क्षेत्रमा निर्णयक कब्जा जमायो । आर्थिक, धार्मिक तथा संस्कृतिक उपनिवेशले समाजलाई एकोहोरो बनायो । अर्ध आर्थिक उपनिवेश र आयातित जनसंख्याको चापले विकृत संस्कार र संस्कृति भित्र्यायो ।

हामीले राणा फल्यौँ, राजतन्त्र फाल्यौँ, एकात्मकता फाल्यौँ । तर सामन्तवादको साँचोमा दिक्षित सामाजिक चेतनालाई फाल्न सकेनांै । हाम्रो शासनशैली र पन्चायती शासकहरुको शासनशैलीमा कुनै भिन्नता हुन सकेन । रुपान्तरणको उन्माद र दलीय अहँकारवादले गर्दा पन्चायतका भ्रष्टाचारी र युद्ध अपराधिहरुलाई बहुदलको पञ्चामृत छर्किएर सुद्धिकृत ग¥यौँ । बहुदलले आधादशक पार पाउन नपाउदैं पञ्चायती भूतहरुसँग सत्ताको लगनगाँठोमा सत्ता रसदको हनिमुनमा रम्ने परिवेश खडाग¥यौँ । प्राडो, पजेरो सुरासुन्दरीलगायतका अनेकौ अवैध धन्दा र मुकअमुक काण्डको रसमा होली खेल्नु हाम्रो मूल विशेषता बन्यो । राजनीतिक क्रान्तिपछिको मूल कार्यभार बिचलित बन्यो । सांस्कृतिक क्रान्ति ओझेलमा प¥यो ।

राजनीतिक क्रान्तिपछि सांस्कृतिक क्रान्तिको आवश्यतकता देखेनौं । सामन्तवादी चेतनाले राजनीतिक चेतनालाई पथभ्रष्ट बनायो । हामीले सामन्तवादको नायक भनिएको राजा महेन्द्रको जति पनि सामाजिक सुधार गर्न सकेनौं । अरुले नसक्ने सामान्य कुरा हो । तर हामी सांस्कृतिक क्रान्तिका अग्रदस्ता भनाउँदाहरुले पनि रुपान्तरित समाजको निर्माण गर्न सकेनांै । प्रगतिशील हाम्रो नारा बन्यो । तर हाम्रा व्यवहारहरु आर्थिक, सामाजिक र सांस्कृतिक रुपमै पथभ्रष्ट बने । प्रगतिशीलताको आवरणमा हाम्रा सामाजिक व्यवहारहरु नव सामन्तवादमा रुपान्तरित भए । विवाह, ब्रतबन्ध, पास्नीजस्ता अनेकौं सामाजिक कार्यहरुमा हामी आयातित भद्दा संस्कृतिका प्रवक्ता बन्न पुग्यौँ । जब कम्युनिष्ट भनाउँदाहरुकै हालत यस्तो भैसकेपछि बाँकीबाट सामाजिक रुपान्तरण सम्भव थिएन र भएन ।

हाम्रो सामाजिक चेतना पथभ्रष्ट मानसिकताबाट दिक्षित छ । समाजले अरुबाट इमान र नैतिकता खोज्छ । तर, आफू कहिलै नैतिकवान बन्ने प्रयाससम्म गर्दैन । सामाजिक चेतना दास मानसिकताभन्दा माथि उक्सन सकेको छैन । उच्च वर्ग मात्र हैन सहरीया मध्यम वर्ग पनि अत्यन्तै पथभ्रष्ट मानसिकताले भरिपूर्ण छ । मध्यम वर्गको विचार प्रगतिशील छ । तर, व्यवहार सामन्तवादी छ र सो वर्ग उच्च वर्गको दाँजोमा पुग्न नैतिक अनैतिक जस्तोसुकै हर्कत गर्न पनि तयार छ । सोही वर्गले आजको राजनीति कब्जा गरेको छ । तर, हामीले समाजको यस्तो चरित्र बदल्न सकेनांै । आफू अनुकरणीय पनि बनेनांै ।

हामीले मौलिक सँस्कृतिलाई अतिक्रमण गराएर ढर्रावादी संस्कारका पालक बन्यौँ । सामाजिक व्यवहालाई सरलीकृत गर्ने प्रयास गरेनौं । भव्य भोज र ककटेल्स पाटीका अथिति बन्नु नेताहरुको विशेषता बन्यो । पर्वहरु संस्कार बनेनन् । भोट तान्ने माध्यम बने । शुभकामनाको नाममा पर्व आउने महिनौं अघिदेखि भोज चल्नथाल्यो । हामीले रोक्ने प्रयास गरेनांै । बरु हामी पनि सोही तालमा नाचिरहेकै छौं । जब हामी नै यो हालतमा गुज्रिएपछि सामाजकि चेतमा रुपान्तरण आउने कुरै थिएन र आएन । परिणमस्वरुप आर्थिक, सामाजिक र सांस्कृतिक भ्रष्टीकरण समाजको मूल विशेषता बनिरहेको छ ।

राजनीति निर्देशक सिद्धान्त हो । उसले नै आम क्षेत्रलाई निर्देशित गर्छ । उसको पछाडि समाज हुन्छ । इमान्दारिता, नैतिकता, निष्ठा, प्रतिबद्धता जस्ता राजनीतिका असल गुणले समाजलाई निर्देश गर्ने हो । तर, हामीले सबै गुमायौं । राजनीतिलाई व्यापार बनायौँ । राजनीतिक दललाई अपराध संरक्षण केन्द्र बनायौं । शीर्षस्त भनाउदाहरु अपराधीका संरक्षक बने । नेता र जनताबीचको सम्मन्ध दास र मालिकको जस्तो भयो । जसरी मालिकको अघिपछि दासहरु हुन्थे ।

हमीले राजनीतिमा इमान्दारिता टिकाउन सकेनौं । इमान्दारहरु विस्थापित भए । बेइमानहरु स्थापित भए । सामनतवादी सामाजिक चेतनाले बेइमानलाई इमान्दार देख्यो । इमान्दारलाई बेइमान देख्यो । बेइमानलाई अनुमोदन ग¥यो । जित्दा नैतिकता र हार्दा अनैतिकताको वातावरण सिर्जना भयो । जित्ने नाममा दलहरुले बेइमान विधामा अब्बलता हासिल गर्नेलाई मात्र काखी च्यापे । इमान्दार फस्टाउने राज्यको नीति बनेन । यसको मूल कारण भनेको पथभ्रष्ट सामाजिक चेतना नै हो । यो चेतनालाई सांस्कृतिक क्रान्तिले मात्र फेर्न सक्नुपर्ने थियो । तर, दलभित्रै नव सामन्तहरुको उदय हुँदा यसको आवश्यकता देखेनौं ।

वर्तमान सामाजिक चेतनाले चाकरी जानेको छ । तर, बेठिक देख्न जानेको छैन । ताली जानेको छ । तर सुधारात्मक गाली जानेको छैन । पहुँचवानसँग कुम जोडेर सेल्फी खिच्दै संजालमा पोष्ट गर्न जानेको छ । जन्मदिन, विवाह वर्षगाँठ, कण्ठ बनाएर शुभकामना पोष्ट गर्न जानेको छ । तर, अध्ययन, चिन्तन, विश्लेषण तथा आलोचनात्मक समर्थन र विरोध जानेकै छैन । अथवा अन्ध समर्थन जानेको छ वा अन्ध विरोध मात्र । यस्तो गलत पक्षलाई हामीले परिवर्तन गर्न सकेनांै । बरु हाम्रा राजनीतिज्ञहरुले सोही मानसिकताबाट ग्रसित बने । परिणमस्वरुप व्यक्तिवाद र परिवारवाद राजनीतिज्ञहरुको मूलमन्त्र बन्यो । लुटको स्वर्ग र गुटको टुकडी राजनीतिज्ञको प्रियवस्तु बन्यो । चाकरी, चाप्लुसी र चुक्ली अनुशासन बन्यो । यी सबै सांस्कृतिक विचलनका परिणाम हुन् ।

मङ्गलबार, ०१ असोज, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर