डा. युवराज खतिवडाको दबाबमा राष्ट्र बैंकको मौद्रिक नीति स्थगित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर्ने भनेको मौद्रिक नीति २०८१/८२ सार्वजनिक नहुने भएको छ ।

मौद्रिक नीति पास गर्न बसेको बोर्ड बैठकका एक सदस्यका अनुसार बिहीबार नियुक्त भएका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडाले अध्ययन गरेपछि मात्र नीति सार्वजनिक हुनेछ ।

राष्ट्रबैंकका पूर्वगभर्नरसमेत रहेका खतिवडाले मौद्रिक नीति आफूले अध्ययन गर्नुपर्ने र त्यसमा संशोधन गरेपछि मात्र सार्वजनिक गर्न दबाब दिएका थिए । त्यसपछि प्रधानमन्त्रीकै निर्देशनमा मौद्रिक नीति सार्वजनिक गर्ने तयारीलाई राष्ट्र बैंकले स्थगन गरेको हो ।

बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएकाले कर्जा बढाउने नीतिका साथ मौद्रिक नीति ल्याउन लागेको राष्ट्रबैंकले जनाएको थियो । बैंकले चालु आर्थिक वर्षमा कर्जा विस्तार गर्नेगरी मौद्रिक नीतिको मस्यौदा तयार गरेको जनाएको छ ।

निर्माण क्षेत्र, थोक तथा खुद्रा क्षेत्रमा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा तयार भएको जनाइएको छ । त्यस्तै, कर्जा बढाउन सेयर बजार, घरजग्गा र सवारीसाधन कर्जामा लोन टू भ्यालु रेसियो र जोखिम भारमार्फत् सहजीकरण गर्न खोजिएको राष्ट्र बैकले जनाएको छ । बजेटमार्फत नसमेटिएका कतिपय विषय मौद्रिक नीतिले सम्बोधन हुनेमा निजी क्षेत्र आशावादी छन् ।

खतिवडाका कारण मौद्रिक नीति केही दिन पछाडि धकेलिएको छ । राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीति पास गर्न आगामी आइतबार पुनः बोर्ड बैठक बस्नेछ ।

 

शुक्रबार, ०४ साउन, २०८१, बिहानको ०८:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर