विराटनगर । सुनसरी, सप्तरी र कपिलवस्तु जिल्लामा बुधबार भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुनसरी जिल्ला स्थित सुनसरी खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको भन्दै अझै खतरा नटरेको जनाएको छ । विभागले सुनसरी खोला वरपरक तटीय बस्तीहरुलाई सुरक्षित रहन सचेत समेत गराएको छ ।
यसैगरी सप्तरी जिल्लास्थित बलान खोला जलमापन केन्द्रमा बिहान जलसतह सतर्कता तह पार गरेको र यो बढ्दो क्रममा रहेको जनाएको छ । नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले मंगलबार साँझसम्मै उच्च सतर्कता अपनाउन सूचना जारी गरेको हो ।
सप्तरी जिल्लाकै खाँडो खोलाको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले सतर्कता अपनाउन भनिएको छ ।
कोशी प्रदेशका विभिन्न पाँच ठाउँमा पछिल्लो २४ घण्टामा भारी वर्षा भएको छ । पूर्व पश्चिम राजमार्गमा रहेको सुनसरी खोलामा खोलामा पानीको सतह समुद्र सतहबाट ८१.२२ मिटर माथि पुगेको थियो ।
यस्तै झापाको कन्काई नदीमा पनि पानीको सतह समुद्र सतहबाट ११३.८४ मिटर माथि पुगेको छ । खोला बढ्ने क्रममा रहेकोले सुरक्षित रहने विभागले चेतावनी दिएको छ । सुनसरी खोलामा भने खतराको तह पार गरेको विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले गरेको मापन अनुसार सुनसरीको चतरा, उदयपुरका उदयपुर गढी, सुनसरीको धरान, धनकुटाको मछुवाघाट र मोरङको केराबारीमा भारी वर्षा भएको हो ।
बुधबार बिहान ३ बजेदेखि यस क्षेत्रमा अविरल झरी परिरहेको छ । कुनै बेला पानी दर्किने र कुनैबेला कम हुने क्रम निरन्तर जारी छ । बिहीबार पनि यो झरीको अवस्था कायम रहने विभागको अनुमान छ । बिहीबार तुलनात्मकरुपमा ठूलो पानी पर्ने अनुमान गरिएका कारण विपद् जोखिम कायमै रहेको जनाइएको छ ।
विभागका अनुसार १२ घण्टामा १२० मिलिमिटर र २४ घण्टामा १४० मिलिमिटर भन्दा बढी पानी परेमा भारी वर्षा मानिन्छ । यस्तै १ घण्टामा ६०, ३ घण्टामा ८० र ६ घण्टामा १ सय मिलिमिटर पानी परेमा पनि भारी वर्षा भएको मानिन्छ ।