सम्पादकीय
स्वास्थ्य विमा कार्यक्रम सञ्चालन भएको विराटनगर–५ बरगाछीस्थित लाइफ गार्ड हस्पिटलले उपचारको लागि आएका विरामीलाई ठगी गरिरहेको पाइएको छ । विरामीको उपचारमा विमा बोर्डबाट रकम लिने अस्पतालले अप्रेशनन गर्ने विरामीसँग पनि थप अतिरिक्त रकम असुलेको सार्वजनिक भएको छ । खासगरि अस्पतालका सञ्चालकसमेत रहेका युरोलोजिष्ट डा. इकबाल अहमदले अप्रेसन थिएटरभित्रै विरामीका आफन्तलाई बोलाएर विमाबाहेक थप रकम असुली गर्ने गरेका पीडितहरुले नै बताएका छन् । उनले विरामीसँग १५ हजारदेखि ४० हजारसम्म थप रकम असुल्ने गरेको पीडितहरुले बताएका छन् । जबकि विमा बोर्डबाट विरामीको उपचारको सबै रकम अस्पतालले सोधभर्ना लिएको हुन्छ । विमाले सोधभर्ना नदिने सीमित औषधि र उपकरण मात्र अस्पतालले विरामीलाई किन्न लगाउनुपर्ने प्राबधान छ । तर, लाइफगार्डले ‘इम्पलान्ट खरिद र टिम व्यवस्थापन’को नाममा थप रकम असुली गरिरहेको छ । जुन विरामीमाथिको ठगी र लुटको नमुना हो ।
मोरङको पथरीशनिश्चरे नगरपालिका –२ नेवार टोलका ६५ वर्षीय लोकबहादु श्रेष्ठ, श्रेष्ठ २९ वर्षीया निहा साम्बा, ४० वर्षीया धनेश्वरी लिम्बूसहितका विरामीको उपचारमा अस्पतालले थप रकम लिएको खुलिसकेको छ । अस्पतालमा भर्ना गरिएको विरामी जसरी पनि ठिक होस् भन्ने आफन्तले चाहेको हुन्छ । त्यसको लागि घरखेत बेचेर पनि उपचार गर्न उनीहरु तयार हुन्छन् । त्यहि मनोभावनालाई बुझेर लाइफगार्डका डा.इकबालले विरामीका आफन्तबाट अबैध असुली गरेको देखिएको छ । यसरी असुलेको रकमको विलसमेत नदिने गरेको घटनाबाट त्यो रकम अबैध रुपमा लिएको पुष्टि हुन्छ । त्यति मात्र नभएर विमामा उपचार गरेको भन्दा थप काम गरेको कागजात बनाएरसमेत रकम दावी गरेको भेटिएको छ । पथरीकी निहा साम्बाको किड्नीमा रहेको पथ्थरी डा. इकबालले चिरेर शल्यक्रिया गरि निकालेका थिए । तर, बिमा भुक्तानीको कागजात भने ल्याप्रोसकोपी सर्जरी गराएको पाइएको थियो । विरामीका आफन्तले त्यसबारे जानकारी पाएपछि हस्पिटलले प्राविधिक मिस्टेक भएको भन्दै चिरेर शल्यक्रिया गरेको अर्को कागज बनाएको निहाका श्रीमान सचितले बताएका छन् ।
बीमाबाट पनि अप्रेसनको चार्ज लिने र त्यसपछि विरामीबाट रकम असुली गर्ने लाइफगार्ड अस्पताल र डाक्टरको कार्यमाथि अनुसन्धान हुनुपर्ने देखिएको छ । यो प्रकरणको समाचार बाहिर आएपछि अस्पतालले पीडित पक्षलाई दबाब र विभिन्न आश्वासन दिएर घटना सामसुम पार्ने प्रयाससमेत गरिरहेको पाइएको छ । स्वास्थ्य उपचारको नाममा दोहोरो रुपमा शुल्क लिने कार्य गर्ने अस्पताल र चिकित्कलाई कार्वाहीको दायरामा ल्याउनैपर्छ । नेपाल सरकारले सर्वसाधारण विरामीको उपचारमा सहजताको लागि सञ्चालन गरेको कार्यक्रमलाई बद्नाम बनाउने र विरामीको उपचारको नाममा ठगी गर्नेलाई कुनै पनि बहानामा छुट दिनुहुन्न ।