विराटनगरको रङ्गमञ्चबारे केहि कुरा

 अशोक गौतम

विराटनगरको रङ्गमञ्चको वर्तमान अवस्थाको बारेमा कुरा गर्दा विगत खोतल्दै हामी ढुङ्गे युगमा पुग्नुपर्ने हुन्छ । बोल्ने शब्दहरुको विकास भइनसकेका बेला आदिम मानवले आफ्ना शरीरका अङ्गहरुको चाललाई भाव वा कुनै घटना अभिव्यक्त गर्ने माध्यमका रुपमा प्रयोग गर्यो । त्यसैलाई नाटकको उद्गम विन्दु मान्न सकिन्छ । समयक्रमसँगै ज्ञान–विज्ञानको अभाव, अलौकिक शक्तिको कल्पना, सांसारिक नियम, प्रकृतिसँगको सामिप्यता, मनोरञ्जनका साधनका रुपमा स्वीकार गरिनु जस्ता कारणले अभिव्यक्तिका शैलीहरु भिन्न–भिन्न मानव समूहमा संस्कृतिका रुपमा विकास भए ।

नाटकको लिखित परम्परा वा रङ्गमञ्चीय परम्परा शुरु हुनुअघि लोकस्तरमा विभिन्न जात–उपजात सांस्कृतिक झाँकीहरु, उत्सव, चाडपर्व, नृत्य आदिको प्रदर्शन र प्रचलन स्थापित भएका थिए । राजा महाराजाहरुले धार्मिक नाटकहरुमा अभिनय गर्दै आफ्नो प्रभुत्व जनमानसमा फिजाउन गरेका प्रहशनहरुलाई प्रारम्भिक मञ्च नाटकहरु मान्न सकिन्छ । त्यसको प्रयोग लिच्छविकालयता शुरु भएको र मल्लकालमा विकास भएको देखिन्छ । पारसी थिएटरलाई मुख्य रुपले आवलम्ब गर्दै मल्ल दरबारमा संस्कृत र मैथिली भाषाका नाटकहरुको प्रचलन थियो । वि.सं. १८५५ मा आएर दरबारिया पण्डित शक्तिवल्लभ अर्यालले यसअघि आँफैले संस्कृतमा लेखेको ‘हास्यकदम्बकम्’लाई ‘हास्यकदम्ब’का रुपमा अनुवाद गरे, त्यो नै नेपाली भाषाको पहिलो नाटक बन्यो । तर, पहिलो मञ्चन भएको नेपाली भाषाको नाटक भने मोतिराम भट्टले अनुवाद गरेको कालिदास रचित ‘अभिज्ञान–शाकुन्तलम्’ मानिन्छ । त्यससमय अधिकांश शासकको मनोरञ्जनका साथै प्रभूत्व जमाउने साधनका रुपमा मात्र सीमित रङ्गमञ्च र आयातित नाट्यशास्त्र वि.सं. २००७ सालपछि मात्र आम लोकको पहुँचमा पुग्नसक्यो ।

विराटनगरमा पनि लोक नाटकका आलावा लिखित नाटक र रङ्गमञ्चीय परम्पराको कुरा गर्दा २००७ सालताका नाटक मण्डलीबाट हिन्दी भाषामा नाटक मञ्चन हुने गरेको पाइन्छ । त्यसबेला कुमारबहादुर श्रेष्ठ, लक्ष्मीराजभक्त नेपाली, कालिका गुप्ता, धनबहादुर डंगोल, भोला श्रेष्ठ आदि रंगमञ्चमा सक्रिय थिए ।
–(कृष्ण शाह यात्रीको पुस्तक ‘नेपालको रङ्गमञ्च ः विगत र आगत’)

प्रारम्भिक कालमा विराटनगरमा विद्यालयका प्राङ्गण, खाली जमिन, चौक तथा चौतारीलाई रङ्गस्थल बनाएर युवाहरुको समूहले नाटक मञ्चन गर्ने गरेका थिए । ३० को दशकदेखि रङ्गकर्म गरिरहेका आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीका अनुसार आदर्श विद्यालयको प्राङ्गण, खाली जमिनमा खाट राखेर तन्ना–सारी बेरेर रामलिला मञ्चन गरिन्थ्यो र पछि नाटकको मञ्चनहरु समेत सोही अनुसार हुनथाल्यो । त्यसको केहि समयपछि बालमन्दिरको हलमा दिपक आलोकको नेतृत्वमा नाटक मञ्चन हुन थाल्यो । एलिट क्लबको हल, हिमालय सिनेमा हल हुँदै वीरेन्द्र सभागृहकोे स्टेज टेक्यो नाटकले । सँगसँगै विकासे सडक नाटक पनि भइरहन्थे । त्यससमय हिमकला मन्दिर, दियालो परिवार, आदर्श बालकला निकेतन, मिलन कला केन्द्र, भानु मोरङ सांस्कृतिक समिति, युवा विद्यार्थी सांस्कृति समितिलगायत संस्थाले सांस्कृतिक कार्यक्रमसँगै नाटक प्रस्तुत गर्ने गरेका थिए ।

२०३८ सालमा सक्रिय रङ्गकर्मीहरुले नाट्यशास्त्रको वृहत अवधारणासहित आरोहण नामको नाट्य समूह स्थापना गरे । त्यतिबेला माधव सापकोटा, चतुर्भुज आशावादी, अभि सुवेदी, माया पौडेल, बद्री अधिकारी, प्रदिप श्रेष्ठ, सुनिल पोखरेल, वसन्त भट्ट, देशभक्त खनाल, महेश तुलाधर, लक्ष्मण पुण्य लामिछाने, रमेश बुढाथोकी, मुकुन्द श्रेष्ठ, विशाल पोखरेल, चाँदनी प्रधान, तारा प्रधान, बलराम थापा, शिला श्रेष्ठ, मुन्नी राय, मनोज खरेल, कैलाश ढकाल, कमल तामाङ, मनोरमा खनाल, जीवन कुँइकेल, इन्द्र परियार, मोहन निरौला, केके आशिक, आरपी निरौला, मीना कर्ण, प्रमिला उप्रेती, रामकुमार प्याकुरेल, शारदा बस्नेत, रामप्रसाद न्यौपाने लगायत सक्रिय थिए । विराटनगर र आसपासको समाजमा हाम्रा लोकजीवनका अतिसामान्य आँगन, चौतारी, डबली, सडक, खेतका आली, मठमन्दिर आदि विभिन्न ठाउँमा बिनातयारी नै हुने एउटा विशिष्ट कलाका रुपमा लोक नाटक प्रचलनमा थियो । बहुरङ्गी विराटनगरमा लोकसंस्कृति, संस्कार र दैनिक जीवन पद्दतिसँग जोडिएका आस्था, विश्वास, भोगाइ, क्रियाकलाप दर्शाउने लोकनाटक प्रदर्शन भइरहे र भइरहेकै छन् । यद्यपी ती दशावतार, कृष्ण चरित्र, रामलिला, कृष्णलिला, फागु, देउसी–भैलो, रत्यौली, रोपाइँ जात्रा, सोरठी जस्ता लोक नाटक कमै देख्न पाइन्छन् । जुन संस्कृति नै आधुनिक नाटकको जग हो ।

रङ्गकर्मीहरुकै उत्साहमा शुरु भएको र उनीहरुकै उत्साहले टिकिरहेको क्षेत्र हो, नेपालको रङ्गमञ्च । विराटनगर आसपासमा हाल आरोहण–गुरुकुल, झोराहाट नाट्य समूह, विराट आदर्श साहित्य मञ्च, सुमेरु कला सरोवरलगायत ज्यादै थोरै नाट्य समूहहरु रङ्गकर्ममा सक्रिय छन् । नाटक मञ्चन गर्नका लागि विराटनगर–८ हाटखोलामा आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघर र बालकृष्ण पोखरेल नाटकघर छ । विराटनगर नजिकैको गाउँ झोराहाटमा झोराहाट नाटकघर छ । त्यसबाहेक समय–समयमा काठमाडौंका केहि नाट्य समूहहरुले विराटनगरमा नाटक मञ्चन गर्ने गरेका छन् । आरोहणकै आयोजनामा विराटनगरमा २०६६ र २०६८ सालमा आरोहण राष्ट्रिय नाटक महोत्सव, २०७१ सालमा पूर्वाञ्चाल नाटक महोत्सव, २०७५ सालमा विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना भएको थियो । उसले २०७६ यता ३ पटक विद्यालय नाटक महोत्सव आयोजना गरिसकेको छ । यस्तै २०७४ सालमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय नाचकघरको आयोजनामा महिला रङ्ग उत्सव आयोजना भएको थियो । सुमेरु कला सरोवरले विराटनगरमै २०७५ सालमा विद्यालय नाटक महोत्सव आयोजना गरेको थियो । २०६६ सालमा आरोहणको स्थापनायता उक्त नाटकघरमा ५ दर्जन बढी नाटकका सयौँ पटक मञ्चन भए, तर करिब २ दशकमा यो संख्या निकै कम हो ।

विराटनगरमा नाटक, दर्शक, व्यापारीक केन्द्र तथा सरकारबीचको सम्बन्ध सुमधुर भइसकेको छैन । जसले नाट्य संस्था र नाट्कर्मीको स्थायित्वमा निकै ठूलो प्रभाव पारेको छ । आर्थिक कारणले निरन्तर नाटक तयारी र मञ्चन गर्न नसक्ने अवस्थामा नाट्य समूहहरु छन् । यस्तै नाट्य समूह र नाट्यकर्मीहरुले पनि आफ्नो उद्देश्यको स्पष्टता तथा प्राथमिकता निर्धारण, गुणात्मक विकासका लागि गर्ने लगानीका बारेमा थप गम्भीर हुन आवश्यक देखिन्छ । नाटकीय शिल्प र कलात्मक सौन्दर्यताका लागि थप लगानी गर्नसके विराटनगरमा नाटकको स्विकार्यता झनै बढ्नेछ–जसले व्यवसायिकता वृद्धिसँगै स्थायित्व प्रदान गर्नेछ । राज्यले समूहगत रुपमा गर्ने सहयोगको सट्टामा नाट्य पेशालाई एकबद्ध गर्दै यसलाई शिक्षासँग जोड्ने चुनौती नाट्य क्षेत्रको सुरुवाती दिनदेखि नै यसमा लागेमा सबैले भोगिरहेका छन । उपर्युक्त सिप, दक्षता तथा परमपराको कमीले साँस्कृतिक, लोक तथा आफ्नो भूमिको कथावस्तुहरुलाई दैशकै नाटकहरुले बोक्न सकिरहेका छैनन् । प्राचीन समयदेखि सिमित व्यक्तिहरुको रुचिको कारणले मात्र नाट्य क्षेत्र बामे सरिरहेको छ ।

आधुनिक रङ्गमञ्च, भावअभिव्यक्तिको विशेष र उत्कृष्ट माध्यम हो, कलाहरुको समष्टिगत स्वरुप हो । नाटकले दर्शकतर्फ भाव मात्र अभिव्यक्त गर्दैन, विचार पनि सिर्जना गर्छ, चेत पनि फराकिलो बनाउँछ । त्यसैले रङ्गमञ्चलाई विचारको सिर्जना गर्ने प्रभावकारी माध्यमका रुपमा अंगिकार गर्ने गरिएको छ । विराटनगरको रङ्गमञ्चको उत्थानमा सबैभन्दा ठूलो भूमिका स्थानीय सरकार, पेशामा आबद्ध सरोकारवालाहरुसहित सञ्चार माध्यमको छ । विचार सिर्जना गर्ने रङ्गमञ्चले आम सञ्चारसँग गुणदोषसहितको थप समीक्षा तथा बहसको अपेक्षा गर्छ । समाजको कथा बोल्ने कथामार्फत समाजप्रति उत्तरदायी बनाउने अभिभारा आम सञ्चारले लिन सक्नुपर्छ । हामीकहाँ नाटक हेरेर त्यसका बारेमा सार्वजनिक बहस गर्ने संस्कार छैन, त्यसले रङ्गमञ्चको विकासलाई झनै पछाडि धकेलिदिन्छ । मञ्चन भएका नाटकका बारेमा विराटनगरका बौद्धिक वर्गले बहस छेड्न सक्नुपर्छ । रङ्गमञ्चको सामथ्र्यका बारेमा राजनीतिक दल र सबै तहका सरकार जानकार छन्, उनीहरुले रङ्गमञ्चबारेको आफ्नो धारणा वा नीति सार्वजनिक गर्नुपर्छ ।

रङ्गकर्म एक व्यक्तिको नितान्त व्यक्तिगत रुचीको विषय भएपनि रङ्गमञ्च सार्वजनिक महत्व र सरोकारको क्षेत्र हो । त्यसैले सरकार, गैरसरकारी क्षेत्र, निजी क्षेत्र, सञ्चार माध्यम, बौद्धिक वर्गलगायत सबैको साथ र निर्देशनले मात्रै विराटनगरको रङ्गमञ्च टिकिरहन सम्भव छ । रङ्गमञ्च ती सबै क्षेत्रसँग सहकार्यका लागि तयार र उत्साहित रहनुपर्छ । आर्थिक स्थायित्वका लागि अरु क्षेत्रसँग मात्रै भर नपरेर रङ्गमञ्चकै स्व–प्रयास के हुनसक्छ भन्ने कुरामा पनि ध्यान पुर्याउनुपर्छ । रङ्गकर्मीले पनि सार्वजनिक महत्वका विषयहरुमा सडक नाटकलाई मात्रै भएपनि निरन्तरता दिनुपर्छ । साथै विराटनगरमा महिला निर्देशक र कलाकारको अभावलाई पूर्ति गर्ने विकल्पहरुको पनि खोजी गर्नुपर्छ ।

पछिल्लो समय विराटनगरका विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई नाटक प्रशिक्षण गराएर नाटक मञ्चन गराउन ज्यादै सक्रियता देखाएका छन् । विद्यार्थीहरुबीच सामूहिक भावनाको विकास, मानसिक र शारीरिक क्षमतामा वृद्धि, व्यक्ति र समाजलाई हेर्ने दृष्टिकोण परिवर्तन ल्याउन साथै पाठ्यक्रमका विषयहरु सहजै बुझ्ने–बुझाउने उद्धेश्य विद्यालयहरुको रहने गरेको छ । साथै विराटनगरका विद्यालयहरुको यो कदमले समग्र रङ्गमञ्चको भविष्यलाई सुन्दर बनाउन टेवा पुगेको छ । साथै केहि विद्यालयले नाट्यकर्मीहरुलाई विद्यालयमा नाटक अध्यापनको अवसर दिएकाले नाट्यकर्मीहरुको स्थायित्वमा पनि मद्दत पुगेको छ । यद्यपी विद्यालयहरुले कुनै एक नाटक निर्माणलाई मात्रै प्राथमिकता नदिएर रुची भएका विद्यार्थीहरुलाई पाठ्यक्रम नै निर्माण गरेर रङ्गमञ्चको थप ज्ञानका लागि वातावरण सिर्जना गर्न सके थप उपयुक्त हुन्छ । साथै विद्यालयमा निर्माण गरिने सेमिनार हलहरुलाई नाटक मञ्चनका दृष्टिकोणले पनि उपयुक्त हुनेगरी निर्माण गरे विद्यालयमै नाटक मञ्चनको सुविधा हुने थियो । विद्यालय–कलेजका पाठ्यक्रममा समावेश नाटकहरुलाई अनेकन सीमाहरुले बाँधिएर पढाउने गर्दा रुची भएका विद्यार्थीहरुले रङ्गमञ्चका बारेमा पर्याप्त जानकारी पाउन सकेका हुँदैनन् । विद्यालय तह सकिएपछि केहि दिन वा साताको तालिम लिएर थोरै ज्ञानको भरमा रङ्गकर्ममा होमिनुभन्दा विश्वविद्यालय तहमा नाटक अध्ययन गराउनु उत्तम विकल्प हो । त्यसका लागि नेपालमा पटक–पटक प्रयास भएका पनि छन्, यसलाई मूर्त रुप दिन रङ्गकर्मी र विराटनगरमै केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयको सहकार्य सार्थक हुनसक्छ ।

ऐतिहासिक विराटनगर, साँस्कृतिक शहर विराटनगर कला तथा साहित्यमा पनि अग्रणी हो । विराटनगरले रङ्गमञ्चलाई थप ठाउँ दिँदै विकास र समृद्धिको परिभाषालाई फराकिलो बनाउन सक्नुपर्छ । खुला रङ्गस्थलको निर्माण तथा वातावरण सिर्जना गरिदिनुपर्छ, जसले नाट्य सँस्कृतिलाई जोगाइराख्न मद्दत गर्छ । महत्वपूर्ण कुरा, आधुनिक नाटकसँगै विराटनगरले आफ्ना सरोकार र आफू नजिकका कथाहरु नाटकमा हेर्न पाउनुपर्छ । यहीँका पात्रहरु मञ्चमा उत्रिनुपर्छ, यहीँका आवाजहरु नाटकघरमा गुञ्जिनुपर्छ । त्यसले विराटनगरको रङ्गमञ्चको परिचय दिनेछ, विराटनगरमा रङ्गमञ्च हुनुको औचित्य पुष्टि गर्नेछ । कैयन् शताब्दीमा कैयन् सभ्यता बदलिए पनि भाव अभिव्यक्त गर्ने शैली बदलिएको छैन । त्यो शैली मानव सभ्यताको संस्कार बनिसकेको छ । भावना र विचार सिर्जना गर्ने यो रङ्गमञ्चीय संस्कार अब पनि मर्न दिनुहुँदैन । यो भोलिको आधार हो ।

बुधबार, ०२ जेठ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर