सम्पादकीय
सरकारी जग्गा व्यक्तिले अतिक्रमण गरेर किनबेच गरेको ललिता निवास प्रकरण दशकौंपछि बाहिर आएर धेरै कार्वाहीमा परेका छन् । झापाको विर्तामोडस्थित गिरिबन्धु टि–स्टेटको हदबन्दी छुट पाएको जग्गा सट्टाभर्ना गरि बेच्ने योजनालाई सर्वोच्च अदालतले खारेज गरेको छ । देशैभर यस्ता सरकारी र सार्वजनिक जग्गा कब्जाका अझै धेरै घटनाहरु छन् । त्यसको उचित छानविन र कार्वाहीको दायरा अझै अगाडि बढ्न सकेको छैन । यहिबेला सुनसरीको धरान १४ दुईधारे दक्षिण स्थित नरसिंह मन्दिरको धरान ६ पानबारीमा रहेको ७ कट्ठा १० धुर जग्गा जग्गा व्यक्तिको नाममा दर्ता गराउने प्रपञ्च बाहिरि आएको छ । मन्दिरलाई आचार्य परिवारले दान दिएको जग्गा व्यक्तिको नाममा दर्ता गर्न मालपोतले कार्यालयले नै सूचना निकालेको छ । मन्दिरलाई धरानका आचार्य परिवारले दानमा दिएको हाल धरान ६ पानबारीमा रहेको जग्गा व्यक्तिले नाममा दर्ता गराउन मालपोत कार्यालय धरानले निवेदन लिएर प्रक्रिया अघि बढाएको छ ।
गत माघमा नेपाल सरकारले छुट जग्गा दर्ता दुई वर्षभित्र आवेदन दिन सूचना प्रकाशित गरेको थियो । सोही आधारमा मालपोत कार्यालयले धरान ६ का लालबहादुर थापा मगरले जग्गा आफ्नो भएको भन्दै दिएको निवेदनमा प्रक्रिया अघि बढाएको हो । जग्गामा थापा मगरले दाबी गरेको भन्दै ३५ दिने सार्वजनिक सूचना मालपोत कार्यालयले प्रकाशित गरेको छ ।
वर्षौंअघि आचार्य परिवारका बाबुबाजेले नरसिंह मन्दिरलाई दान दिएको जग्गा अहिले मिलेमतोमा व्यक्तिहरुले कब्जा गर्न खोजेको देखिएको छ । वर्षौंदेखि मन्दिरले नै त्यस जग्गाको कुतसमेत बुझिरहेको छ । कुतबाट मन्दिरको पुजारीले भत्ता लिइरहेका छन् ।
नापी कार्यालयको फिल्डबुकमा कित्ता नम्बर १२५ को जग्गाधनी कैफियतको महलमा जग्गाधनी ‘लालबहादुर’ मात्रै लेखिएकोमा धरान वडा नम्बर ६ ले ‘लालबहादुर थापा मगर र ‘लालबहादुर’ एकै व्यक्ति भएको प्रमाणित गरिदिएर जग्गा उनको नाममा ल्याउन सहयोगी भूमिका खेलिदिएको छ । धरान ८ की लक्ष्मीदेवी मगर्नीले पनि उक्त जग्गा आफ्नो बाजे लालबहादुर मगरको भएको दाबी गर्दै निवेदन दिएकी छन् । जग्गाका मोही भक्तबहादुरले २०४८ सालदेखि जोतभोग गरिरहेको दाबी गरेका छन् । उनले मन्दिरका पुजारीलाई वार्षिक ५ हजार रुपैयाँ कुत बुझाएको बताएका छन् ।
जग्गानजिक २०७५ सालमा बाटो खोलिएको छ । बाटोको नाम नरसिंह पथ नै राखिएको छ । जग्गाको कारोबार गर्नेहरूले नरसिंह मन्दिरको करिब १० धुर जग्गा बाटोमा पारेका छन् । त्यसवापत नरसिंह भगवान् संरक्षक समिति धरानको खातामा ६ लाख रुपैयाँ जम्मा गरिदिएका छन् । त्यसले पनि जग्गा मन्दिरकै भएको प्रमाणित हुन्छ ।
वडा कार्यालयले जग्गामा हकदाबीका लागि झुठो सर्जमिन गरेको मन्दिर संरक्षण समितिले बताएको छ । मन्दिरले आफ्नो दाबी गरेको जग्गा भक्तबहादुर मगरले जोतभोग गरिरहेको छन् । मगरले बाजेका पालादेखि नै जग्गा जोतभोग गरिरहेको बताए । तर, वडा कार्यालयले लालबहादुर थापा मगरले जोतभोग गरिरहेको सर्जमिन बनाएको छ । यसैले यो प्रकरणमा ठूलो खेल र मिलेमतो रहेको देखिएको छ । यसको गम्भीर छानविन हुनुपर्छ । मन्दिरजस्तो आस्थाको केन्द्रको नाममा रहेको जग्गा व्यक्तिको नाममा ल्याउने प्रयास तत्काल रोकिनुपर्छ । यो कार्यमा संलग्नमाथि अनुसन्धान गरि कार्वाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ । यसको लागि धरान उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरी र अख्तियारको पनि ध्यान जान आवश्यक छ ।