सम्पादकीय
सार्वजनिक शान्तिसुरक्षा कायम गर्न पछिल्लो समय चोरी घटनाले सुरक्षा निकायलाई तनाब दिएको छ । मुख्य गरेर सहकारीहरुमा हुने चोरी पछिल्लो समय बढेको छ । झापा र मोरङ जिल्लाका विभिन्न पालिकाहरुमा सञ्चालित सहकारी संस्थाहरु चोरीमा संलग्न गिरोहको नजर परेको देखिन्छ । झापाका सहकारी संस्थाहरु चोरी तथा लुटपाटको घटनाबाट सबैभन्दा बढी पीडित बनेका छन् । मोरङमा पछिल्लो ९ महिनाको अवधिमा सहकारी संस्थाहरुमा चोरी हुने घटना बढेको छ । यस अवधिमा १२ वटा सहकारी संस्थामा चोरी भएको छ ।
लामो समयसम्म सहकारी चोरी गर्नेहरुको पहिचान गर्न नसकेको प्रहरीले लामो अनुसन्धान पछि चोरीमा संगठित गिरोह नै परिचालित भएको निश्कर्ष निकालेको थियो । प्रहरीले धेरै समयसम्म सुइँकोसम्म पाउन नसकेको चोरहरुको बारेमा मोवाइल ट्«याकिङका आधारमा पहिचान गरी झापामा संगठित रुपमा सहकारीमा चोरी गर्ने गिरोहलाई पक्राउ गर्न सफल भएको थियो । प्रहरी अनुसन्धानका आधारमा मोरङका सहकारीहरुमा लुटपाट र चोरी गर्ने गिरोह पनि त्यही भएको अनुमान गरिएको छ । किनभने झापामा चोरी गर्ने गिरोह पक्राउ परेपछि मोरङमा पनि चोरी रोकिएको छ । त्यसैले दुवै जिल्लामा एउटै समूह सक्रिय रहेको अनुमान गर्न सकिन्छ ।
यस्तै सुरक्षा निकायलाई चुनौती बनिरहेको अर्को चोरी हो मोटरसाइकल । मोरङ प्रहरी मोटरसाइकल चोरी गर्ने गिरोहबाट हैरानी व्यहोरिरहेको छ । जिल्ला प्रहरी कार्यालयमा मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ परेका अधिकांश व्यक्तिहरु पटके चोरीमा संलग्न भएकाहरु धेरै पाइएका छन् । चोरी सम्बन्धी कानुन प्रभावकारी नभएकै कारण चोरीमा संलग्न भएकाहरु छोटो अवधिमा छुट्ने र उनीहरुले पुरानै धन्दा चलाउने गरेको प्रहरीको अनुभव छ । यसले गर्दा समाजमा एक पछि अर्को चोरीका घटनाहरु हुने र त्यसलाई नियन्त्रण गर्न समस्या पर्ने गरेको छ । मोरङ प्रहरीको हिराशतमा रहेकाहरुमध्ये झण्डै ४० प्रतिशत थुनुवाहरु मोटरसाइकल, साइकल आदि चोरीका अभियोगमा पक्राउ परेकाहरु हुने गरेका छन् । अपराध अनुसन्धान तथा मुद्दा शाखामा काम गर्ने प्रहरी कर्मचारीहरु चोरीका घटनामा संलग्न भएका अभियुक्तहरुकै पछाडि धेरै समय लाग्नु पर्ने अवस्थाले गम्भीर मुद्दाहरुको अध्ययन अनुसन्धानमा बाधा पुगिरहेको बताउँछन् ।
चोरीमा संलग्न भएकाहरुलाई केही समय थुनामा राख्ने वा अलि कडा दण्ड दिने व्यवस्था गरी त्यसलाई कार्यान्वयन नगर्दासम्म यो समस्या हट्ने देखिदैन । त्यसैले यस प्रकारको चोरीका घटनाहरुलाई न्यूनीकरण गर्न र चोरीमा संलग्नहरुलाई निरुत्साहित गर्न कठोर कानुनी व्यवस्था गर्न जरुरी छ । चोरीलाई समाजमा पनि सामान्य रुपमा लिने प्रचलन रहेको र न्यायिक निकायदेखि सबैले हलुकारुपमा लिने गरेका कारण पनि यो समस्या जटिल बन्दै गएको छ । यसले सार्वजनिक सुरक्षा व्यवस्थामा नजानिँदो ढंगबाट बाधा पु¥याउने, सुरक्षा निकायलाई झिनामसिना काममा अल्मल्याउने काम भइरहेकोले कानुन परिमार्जन गरेरै भएपनि यस विषयलाई गम्भीररुपमा लिन आवश्यक छ ।