विराटनगर । मोरङमा एकपछि अर्को गर्दै सहकारी संस्थाहरुमा चोरी हुने घटना बढेको छ । पछिल्लो नौं महिनाको अवधिमा मोरङमा १२ वटा सहकारीबाट ४० लाख रुपैयाँ भन्दा बढी रकम चोरी भएको जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले जानकारी दिए । साउन १२ गतेदेखि वैशाख ६ गतेसम्म मोरङका विभिन्न स्थानबाट १२ वटा सहकारीमा चोरी भएको उनले बताए ।
रतुवामाई न.पा–६ मा रहेको सौंठा बचत तथा ऋण सहकारी संस्था लि.मा दुई पटक चोरी भएको छ । यसैगरी सोही वडाको सुनगाभा बचत तथा ऋण सहकारी संस्था शनिश्चरे, जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. कानेपोखरी–७, आदर्श बचत तथा ऋण सहकारी संस्था लि. कानेपोखरी–६, सिंद्देश्वर बचत तथा ऋण सहकारी संस्था लि. पथरीशनिश्चरे, एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्था लि. लेटाङ –२ फडानी र खैरेनी सेवा केन्द्रमा चोरी भएको जनाइएको छ ।
त्यस्तै जनप्रेमी बचत तथा ऋण सहकारी संस्था लि. बेलावारी –८ राधानगर, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बेलवारी–३, लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लि. बेलवारी–३, झलझली बचत तथा ऋण सहकारी संस्था लि. बेलबारी –१०, दिपज्योती नारी विकास बचत तथा ऋण सहकारी संस्था लि.बेलवारीमा पनि तोडफोड तथा नगद र सामान चोरी भएको अध्यक्ष पोखरेलले बताए । यी सहकारीबाट ४० लाख भन्दा बढी रकम चोरी भएको उनले बताए । ‘२०८० साउनदेखि २०८१ वैशाख ६ गतेसम्म श्रृङ्खलाबद्ध चोरी भएको जिल्ला सहकारीमा जानकारी आएको छ,’ अध्यक्ष पोखरेलले भने, ‘सहकारीमा चोरी बढन थालेपछि शान्ति सुरक्षाको माग गरिएको हो ।’
सहकारीमा चोरी, तोडफोड, कर्मचारीमाथि आक्रमण जस्ता अपराधिक गतिविधिहरु बढेपछि शान्ति सुरक्षा माग राख्दै संघले ज्ञापन पत्र बुझाएको हो । अपराधिक गतिविधि नियन्त्रण गर्नुपर्ने र दोषी पत्ता लगाइ कारबाही गर्नुपर्ने आदि माग राख्दै संघका जिल्ला अध्यक्ष पोखरेल नेतृत्वको टोलीले मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश भट्टराईलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष डा.पोखरेलले जिल्लाका विभिन्न स्थानमा संचालन भइरहेका सहकारी संस्थामा तोडफोड गरी नगद तथा भौतिक सामान चोरी गर्ने, कर्मचारीलाई कुटपिट र अभद्र व्यवहार गर्ने जस्ता कार्य बढीरहेकोले उक्त कार्य नियन्त्रण गरि शान्ति सुरक्षाको प्रत्याभुत गर्न र त्यस्ता कार्यमा संलग्न रहेकाको खोजी गरी कार्वाही गर्न माग गरेका थिए ।
संघले बुझाएको ज्ञापन पत्रमा जिल्लाका एक दर्जन वढी सहकारी संस्थामा चालु आ.व.२०८०÷८१ को साउनदेखि यहि बैशाख ६ गतेसम्म तोडफोड गरी नगद तथा सामान चोरी भएकोले उक्त घटनामा संलग्नलाई खोजी गरी कार्वाही गर्न र चोरी भएका सहकारी संस्थाको रकम तथा सामाग्रीको क्षतीपूर्ति दिलाउन माग गरिएको छ । साथै निरन्तर भइरहेका यस्ता गतिविधिहरुका कारण सहकारी संघ÷संस्थाहरुको संचालन प्रकृयामा नै गम्भीर समस्याहरु देखापरिरहेकोले तत्काल शान्ति सुरक्षा मजबुद बनाउनसमेत संघले माग गरेको छ ।
संघले सहकारी संस्थामा चोरी डकैतीमा संलग्न केही ब्यक्तिहरुलाई झापा प्रहरीले पक्राउ गरी हाल थुनामा राखिएकोले झापा जिल्ला प्रशासनसँग समन्वय गरी छानविन बढाउन माग गरेको छ ।
गिरोह पक्राउपछि चोरी रोकियो
श्रृंखलाबद्ध सहकारी लुटपाट गर्ने छ जना गिरोहको समूहलाई पक्राउ गरेपछि अहिले सहकारी चोरीको घटना रोकिएको छ । इटहरीबाट ७ वैशाखमा पक्राउ परेका ६ जना समूहले झापा र मोरङमा श्रृंखलाबद्ध रूपमा २४ सहकारी लुटपाट गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसनधानबाट खुलेको छ ।
२४ सहकारीबाट झण्डै आधा करोड रुपैयाँ लुटपाट गरेको प्रहरीको अनुमान छ । झापामा मात्रै १३ वटा सहकारीबाट ३० लाख १६ हजार रुपैयाँ लुटेको झापा प्रहरीले जनाएको छ ।
झापा प्रहरीले अनुसन्धान पूरा गरेर अदालतमा अभियोग दर्ता गरेपछि मोरङमा ल्याएर प्रहरीले अनुसन्धान गर्ने तयारी गरेको छ । त्यसपछि लुटपाट गरेको रकम थाहा हुने मोरङ प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा ‘फाखेल समूह’ का ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्त बहादुर स्याङतान उर्फ सुनिल, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङतान, २८ वर्षका अजय राना मगर र २६ वर्षीय सुजन स्याङ्तान छन् । उनीहरूलाई वैशाख ७ मा पक्राउ गरेर झापा प्रहरीले चोरी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको छ ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ फाखेल घर भएका आरोपीहरूले सहकारीलाई मात्रै टार्गेट गरेर चोरी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।