सम्पादकीय
पछिल्लो समयमा नेपालको राजनीति सरकार गठन र विघटनमा केन्द्रित छ । गएको डेढ वर्षमा तीन पटक गठबन्धन परिवर्तन हुँदा केन्द्रदेखि प्रदेशसम्म सरकार परिवर्तनको खेल भएको छ । यहि खेलको कारण संविधानमाथिको बलमिच्याइ भएको छ भने धेरै पटक सर्वोच्च अदालतमा यो प्रकरण पुगेको छ । अझै त्यसले निरन्तरता पाउने अवस्था छ । सत्ताको दाउपेचकै कारण राजनीति दलहरुभित्रको लोकतान्त्रिक प्रक्रिया पनि धर्मराएको छ । प्रतिनिधिसभाको तेस्रो दलको नेतृत्वमा अहिले सरकार सञ्चालन भइहरेको छ भने पाँचौं र छैटो दलले पनि सरकारको नेतृत्व ताकेका छन् । यहि खेलोफड्कोको कारण नै जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । आइतबार जसपामा आएको विभाजनले राजनीति नै तरंगित भएको छ । अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेको बेला अशोक राईलगायतले विद्रोह गरेर नयाँ दल गठन गरिसकेका छन् । यो विभाजन सिद्धान्ततः भन्दा सत्ताका कारण भएको स्पष्ट देखिन्छ ।
तेस्रो दलले सरकार चलाइरहेको वर्तमानमा संसदभित्रको अंकगणितमा साना दलहरुको भूमिका निर्णायक छ । प्रमुख दुई दलहरु एकातिर मिल्न सकेका छैनन् भने अर्कोतिर प्रतिपक्षमा बस्न पनि उनीहरु चाहेका छैनन् । त्यसैले एकपछि अर्को सत्ताको खेल चलिरहेको छ । प्रतिपक्षमा बस्न नचाहने प्रमुख दलहरुको प्रबृत्तिकै कारण साना दलहरुले नेतृत्वमा दावी गर्ने अवस्था बनेको हो । माओवादी केन्द्रभन्दा पनि साना दलले सरकारको नेतृत्व गर्ने अपेक्षा गर्नु आफैंमा रोचक हो । राष्ट्रिय मान्यता पनि नपाएको दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधकुमार नेपाललाई प्रधानमन्त्री बन्ने हुटहुटी लुकेको छैन । त्यसको लागि उनले पछिल्लो समयमा अहिले बनेको गठबन्धन भत्काएर अगाडि बढ्ने वातावरण तयार गरिरहेका थिए । त्यसको लागि उनले अहिले सरकारमै रहेको दल जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि साथ लिएको चर्चा यसअघिदेखि नै चलेको थियो । काँग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर तीन जना नेता नै पालैपालो प्रधानमन्त्री बन्ने सहमति उनीहरुले गरेको विषय बाहिरिएको बेला जसपाको विभाजन भएको छ । देउवा–नेपालको खेल रोक्न जसपा विभाजन भएको लुकेको छैन ।
राजनीति सिद्धान्तमा आधारित छैन । सरकारको नेतृत्व जसरी पनि गर्नपर्ने चाहना नेताहरुमा देखिन्छ । त्यति मात्र हैन, सत्ताबाहिर रहँदा दलहरूमा छट्पटीको अवस्था देखिएको छ । सत्ताबाट बाहिरिन साथ कसरी सरकार ढाल्ने र आफू कसरी सत्तामा पुग्ने भन्ने ध्याउन्नमा दलहरु छन् । सिद्धान्त र नैतिकता कसैले वास्ता नगरेको अवस्था छ । यो अवस्थामा जसरी पनि सरकारमा जाने, अझ सरकारकै नेतृत्व गर्ने दाउपेचको नियति जसपाले भोग्न बाध्य भएको छ । यो नियती अन्य दलहरुले पनि भोग्नपर्ने बाध्यता बन्नसक्छ । अध्यक्ष उपेन्द्र यादवको हैकमवादी नेतृत्व र सत्तालिप्साको कारण जसपा विभाजन भएको छ । यसले अन्य दलहरुलाई पनि खतराको घण्टी बजाएको छ । किनकि दलहरुभित्रको लोकतन्त्र र संस्थागत निर्णय प्रक्रिया मारिएको छ । जसले असन्तुष्टिहरु सबै दलभित्र चर्किएको छ । त्यसले लोकतन्त्रलाई बलियो भने बनाउँदैन । यसप्रति सबै दल र नेताहरु गम्भीर हुनुपर्छ ।