प्रवीणनारायण चौधरी
मोरङको मुख्यालय र हाल कोशी प्रदेशको राजधानी विराटनगरमा विभिन्न जात–जातिका ठुलो मैथिलीभाषी समाजको बसोवास विदित नै छ । भिन्न–भिन्न मैथिलीभाषी जाति संगठनहरुका साथै भाषा–साहित्य, संचारकर्म, कला, रंगकर्म, फिल्म, संस्कृति र समाजको सेवाका लागि संस्था–संगठनहरु थुप्रै छन्। तर, यी सबै काम गर्ने संस्था र अभियन्ताहरुलाई ‘मैथिली’ भन्ने एकमुष्ट पहिचान गर्ने गरिन्छ, किनभने अन्य भाषाभाषी समुदाय र राज्य निकाय संचालन गर्ने कतिपय समिति–उपसमितिहरुका संचालकहरुलाई मैथिली–मिथिला भित्रको विविधताबारे समुचित दृष्टि र विचारको अभाव छ । हालसालै नेपालको राजनीतिक स्वरूप, संविधान तथा शासन प्रणालीमा परिवर्तन आएपछि यी विविधताबारे जनमानसमा उल्लेख्य र क्रमिक सुधार हुँदै गएको पनि सहि नै हो । तर, यस्तो सुधारको गति धेरै नै सुस्त छ ।
गत शनिबारका दिन विराटनगरको पोखरियामा विराट मैथिल नाट्यकला परिषद्द्वारा आयोजित बहुभाषिक कवि सम्मेलनको चौथो श्रृङ्खला आयोजना गरिएको थियो । जहाँ मैथिली र नेपाली भाषाका कवि–सर्जकहरु भवानी पोखरेल, रोहिणि रसिक, बाबुराम पोखरेल, उद्धव केसी, शान्ता कर्ण, कर्ण संजय, प्रिन्स प्रमोद ढकाल र म प्रवीण नारायण चौधरी पनि थिएँ । मिथिला चित्रकलाकी विशेषज्ञ चित्रकार शीला चौधरी र युवा उद्यमी विद्यानन्द कामत आन्त्रित विशेष अतिथि र वक्ता पनि थिए । कविहरुले आ–आफ्ना भाषामा लेखेका कविताहरु वाचन गरे । यस कार्यक्रमको संचालन नेपाली भाषाका चर्चित सर्जक प्रिन्स प्रमोद ढकालले गर्नुभयो, र प्रमुख अतिथिको रूपमा भाषा–साहित्य र कला–रंगकर्मप्रति सधैं नै सकारात्मक र सार्थक साथ–सहयोग गर्ने लोकप्रिय जननेता तथा पूर्व राष्ट्रिय सभा सदस्य खेम नेपाली हुन्हुन्थ्यो ।
मलाई आयोजक संस्थाको अध्यक्ष डोमी कामतको बहुभाषिक कवि सम्मेलन आयोजन गर्ने पहल साह्रै प्रभावित गर्छ । विराटनगरक्षेत्रका सबै भाषाहरु बीचको सहोदरी सम्बन्धलाई प्रगाढ़ बनाउने सोचले प्रभावित गर्छ । यहि सहोदरी सबै भाषाभाषीबीचको सौहार्द्रताको मूल आधार हो । राजनीतिले धेरैथरिका प्रभाव पार्न सक्छ, तर भाषा–साहित्य–कला–संस्कृतिको कुनै पनि गतिविधि सबैलाई एक–आपसमा जोड्ने भावना विकसित गर्छ । मानवीय समाजमा एकजुटता साथ अगाडि बढ्न प्रेरणा दिन्छ । मेरो कविताका साथमा यहि भावना सो कवि सम्मेलनमा राखें । म भन्दा पहिला एकजना वरिष्ठ कवि भवानी पोखरेलज्युले मैथिली र विद्यापतिबारे विशेष संस्मरण राख्नु भएको थियो । वहाँ आफ्नो छात्रकाल त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत मैथिली छात्रहरुबाट आयोजित मैथिली भाषाका आदिकवि विद्यापतिको स्मृतिदिवस र सोहि अवसर प्रकाशित मैथिलीभाषाको स्मारिकालाई सम्झिनु भयो । उहाँको सृजनकार्य आरम्भ भएको त्यो स्मारिका नै हो । यो जानकारी गराउंदै विराटनगरमा आयोजित यो महत्वपूर्ण कार्यक्रमप्रति आत्मप्रसन्नताको भावना व्यक्त गर्नुभयो ।
थोरै समयपछि प्रमुख अतिथि खेम नेपालीले पूर्वका वक्ताहरुले राखेको भावनाहरु र कविताहरुको विशेष चर्चा गर्दै आयोजक संस्थाको स्थापनामा आफूले खेलेको भूमिकालाई सम्झे । एक्कासी उहाँले विराटनगरका मैथिली समाजमा आपसी कटुता र अन्तर्विभाजनको उदाहरण पनि राख्नुभयो । यसरी मैथिलीको हितका लागि उहाँको आलोचना महत्वपूर्ण थियो र सबैको ध्यानाकर्षण गर्न सफल भयो । उहाँले प्रदेश सरकारको तर्फवाट बाँडिने पुरस्कार र सम्मानहरुको संयोजन समितिको सदस्यको रूपमा आफूले महसुस गरेको यस्तो कटु अनुभवको गाथा सुनाउनु भयो । कुनै एकजना मैथिलीभाषी स्रष्टालाई पुरस्कार दिँंदा अर्काको मन दुख्ने र एक–अर्काको विरोध गर्ने कुरा उदाहरणसाथ सुनाउनु भयो । यसरी मैथिलीको विकास चाहेर पनि गर्न नसकेको मत राख्नुभयो । मैथिली भाषाको संरक्षण, संबद्र्धन र प्रबद्र्धनमा लागेका अभियानीको रूपमा मलाई विशेष जिम्मेवारी पनि दिनुभयो ।
मैले उहाँलाई यस विषयमा आफ्नो समाजमा विमर्श गर्ने आश्वासन दिएँ । हुन त उहाँले राख्नुभएका उदाहरणहरु केहि खासै सत्य र सहि लागेन मलाई, किनभने दिइएका उदाहरणहरु सोसल मिडियाका केही व्यक्तिगत आक्रोश–असन्तुष्टिको कुरा मात्र थियो । अझ पनि आत्मालोचना गर्ने र यस सन्दर्भमा हामी आन्तरिक विमर्श गर्दै स्थितिमा सुधार ल्याउने प्रयास गर्ने भनेर वरिष्ठ मार्गदर्शक खेम नेपालीलाई आश्वासन दिएँ । त्यहि विमर्श आरम्भ गर्ने उद्देश्यले यो लेख लेखेको छु ।
‘मैथिली भाषामात्र नभई एउटा संस्कार हो – सभ्यता हो’ – प्रमुख अतिथि खेम नेपालीज्युको यस उक्तिलाई पनि सम्झिरहेकोछु । विराटनगरमा कार्यरत विभिन्न मैथिली संघ–संस्थाहरुको उद्देश्यहरु भिन्न–भिन्न छ । पुरस्कार बाँड्दा पुरस्कृत हुने कुनै एउटा सर्जकको साहित्यिक–सामाजिक सृजनहरु र अन्य योगदानहरु भन्दा यदि सत्तामा रहेको दलको दलीय–भावनावाट प्रेरित रही पुरस्कार वितरण हुन्छ भन्ने अलि–अलि विवाद हुन्छ नै । यसलाई सामान्य विरोध–विवाद मात्र बुझ्नु पर्दछ । कुनै समुदायको अन्तर्विभाजनलाई यो असन्तोष र विरोध अवश्य पनि देखाउँंदैन । पुरस्कार वितरण गर्दा सत्ता समीप रहेका दलीय राजनीतिक पृष्ठभूमिका निर्णायक मण्डलले पक्षपातपूर्ण निर्णय गर्छ र त्यसमा अन्य सृजनकर्मीहरुलाई आफ्नो अपमान भएको महसुस हुने गर्छ । यो मैथिली समाज मात्र होइन अन्य सबै भाषाभाषीमा पनि हुन्छ । जरूरी के छ भने राज्यले मैथिलीभाषाका विभिन्न विधामा कार्यरत संस्था र सर्जकहरुलाई सम्झिनुपर्छ । मात्र पुरस्कार पाउने सर्जक मैथिलीभाषी भएर पुरस्कृत भएर हुंदैन, मैथिलीभाषामा उनले के सिर्जना गरे, उनको योगदान यस भाषाका लागि के–के भएकोछ ती सबै कुराहरुको मूल्यांकन गर्न आवश्यक छ । मैथिलीभाषाको विभिन्न विधामा योगदान दिने सर्जकहरुलाई सम्बोधन गर्न जरूरी छ, अब सेवा र योगदान गर्ने एकलभाषालाई र सम्मान पाउने मैथिलीको नाउंमा, यो त विवादास्पद हुन्छ–हुन्छ । यसमा सबैले विचार पुर्याउँछ भन्ने मेरो आशय छ । मैथिली संस्था–संघहरुले पनि आत्ममन्थन गर्नु जरूरी छ कि अन्य भाषाभाषी र राज्यका निकायहरुमा यसरी गलत सन्देश न जाओस् आफ्नो चरित्र र व्यवहार त्यसरि नै निर्वहन गरोस् ।
मैथिली संस्था–संघहरुले पनि आत्ममन्थन गर्नु जरूरी छ. रामरो कथन छ मातृभाषा मैथिली मधेशी छ नाई