सुजता लिम्बू
धेरैले लिम्बूनीहरुलाई छुच्ची स्वभावका हुन्छन् भन्ने धारणा बनाएका हुन्छन् । सामान्य साथीभाइसँगको गफगाफमा ‘लिम्बूनीहरुसँग त सकिँदैन है’ भन्दै व्यंग्य गर्ने गरेको पनि पाइन्छ । तर लेखक, कवि उपेन्द्र सुब्बाले लेखेको र निर्देशन गरेको फिल्म ‘मनसरा’मा लिम्बूनीको स्वभावलाई शालीन प्रस्तुत गरिएको छ ।
कथाको अन्तिमसम्म यही विषयले एकतमासले मन तान्नुको कारण एकल आमाले बाँचेको जीवन हो । सन्तान नहुँदाको एक दम्पतिको व्यथा कथाको मुख्य पाटो भए पनि सन्तान भएर पनि एक्लो हुनुको कथाले एकल आमाका लागि फिल्मको माध्यमबाट बाँच्ने प्रेरणा दिन्छ ।
मनरानी लिम्बू (मिरुना मगर) लाई नयाँ शहरमा आफ्नै ढंगले बाँचेको जीवनले मौन बनाएको हुन सक्ने अनुमान लगाउन सकिन्छ । मिरुनाले विराटनगरमा भएको प्रिमियरपछिको पत्रकार भेटघाटमा कथाअनुसार नै अभिनयमा पनि आफूलाई ढालेको बताएकी थिइन् । यता छुच्ची स्वभावकी नेवार्नी अर्थात नानीमाया श्रेष्ठ (मेनुका प्रधान) बच्चा नहुँदाको पीडाले पतिलाई शंकाको घेरामा पारेर झगडा गर्ने स्वभाव भएकी महिलाको मनोविज्ञानसमेत निर्देशक सुब्बाले फिल्ममा पस्कन खोजेका छन् ।
मनसराले एउटा समाजमा भोगेको हरेक मान्छेको गम्भीर कथालाई सरल ढंगबाट देखाउन खोजेको छ । ददिराम पोखरेल (प्रवीण खतिवडा) र नानीमायाको जस्तै सन्तान प्राप्तिको आशक्ति हरेक निःसन्तान दम्पतीहरुको जीवन भोगाइ हुन्छ । सन्तान नहुँदा परिवारमा विग्रह आएर कैयौँ जोडीको सम्बन्ध छुट्टिएर समाजबाट हराएका छन् । तर सन्तान नहुनुमा महिलामात्र होइन पुरुष पनि भागीदार हुन्छन् भन्ने फिल्ममार्फत सरल ढंगले देखाउन खोजिएको छ । मिश्रित समाजलाई एउटा कथाको धागोमा बुनेर फिल्मको आकार दिन खोजिएको छ भन्दा फरक पर्दैन ।
यो फिल्ममार्फत समाजको ऐनामात्र देखाउन खोजिएको छैन, कृषिको पाटोलाई पनि बडो गजबले फिल्ममा जोड्न खोजिएको छ । ‘मनसरा’ पहाडमा फल्ने धानको एउटा प्रकार पनि हो । यो धान अन्य धानको बिऊसँग मिसाएर रोपे पनि उसले आफ्नै अस्तित्व कायम राखेर मनसरा नै फल्ने गर्छ । फिल्ममा यो तथ्य पनि देखाउन खोजिएको छ । समाजमा अनेक थरिका मान्छे अटाए पनि उनीहरु सबैको आ–आफ्नै बेग्लाबेग्ले अस्तित्व हुन्छ । प्रेम र आकर्षणलाई पनि आकर्षक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको छ । एकल महिलालाई समाजमा आफ्नो ठानिएकै पुरुषले हेर्ने गलत दृष्टि चित्रण गरिएको छ ।
मानहाङ चेम्जोङ (दयाहाङ राई) मौन भएर प्रेमिकाको खोजीमा भौँतारिएको दृष्य अनि आफूलाई छाडेर गएको प्रेमीलाई पर्खेर बसेकी मनरानीको ‘पर्खाइ कनेक्सन’ सशक्त ढंगले उतारिएको छ । छाडेर जानेलाई पनि लिएको सकारात्मक सोचले मनसराले प्रेमको परिभाषा पनि सिकाएको छ । लिम्बू मुन्धुमअनुसार मान्छेको उत्पत्तिका विषयलाई जोड्न खोजिएको छ । समग्रमा कथा मौलिक छ । कथाअनुसार अभिनेतार अभिनेतृहरुले निर्वाह गरेको भूमिका वा अभिनय पनि उत्तिकै बेजोड छ । जारीको यात्राबाट आरम्भ भएको सुब्बाको फिल्म यात्रा आउँदा दिनमा अझ सफलताको शिखरतर्फ लम्कनेमा दुईमत नहोला ।