विराटनगर । जबरजस्ती करणी मुद्दाका आरोपित सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतमा झिकाउन उच्च अदालत विराटनगरले आदेश दिएको छ ।
न्यायाधीश श्रीधराकुमारी पुडासैनी र नरेशकुमार चौधरीको इजलासले शुक्रबार प्रतिवादी गिरीलाई ३० दिनभित्र अदालतमा झिकाउने आदेश दिएको हो ।
आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबालाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको थियो । त्यसविरुद्ध उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको थियो ।
सरकारी वकिलको पुनरावेदन निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले मुद्दाका प्रत्यर्थी अर्थात गिरीलाई अदालतमा बोलाउने आदेश गरेको हो । उच्च अदालत रजिष्ट्रार जगदिशप्रसाद भट्टका अनुसार अदालतको आदेशपछि अब प्रतिवादीका नाममा म्याद जारी हुनेछ ।
२०७६ कात्तिक ४ गते राति १२ बजे सुनसरीको चतरास्थित आश्रममा गिरीले आफूलाई जबर्जस्ती करणी गरेको दाबीसहित अनुयायीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
उच्च अदालत विराटनगरका सूचना अधिकारी युवराज पौडेलका अनुसार अदालतको आदेशपछि सिद्धबाबालाई पत्रसमेत काटिएको छ । अदालत उपस्थित नभए ३० दिनपछि पेशी चढ्नेछ र त्यसपछि अदालतले फैसला गर्नेछ ।
यसअघि सुनसरी अदालतले आरोपित गिरीलाई गत वर्ष भदौ २७ गते सफाइ दिएको थियो । अदालतले उनलाई दोस्रोपटक सफाइ दिएको हो । त्यसअघि उक्त मुद्दामा २०७७ साल मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई पहिलोपटक सफाइ दिएको थियो ।
उच्च अदालतले पुनः प्रमाण बुझी फैसला गर्न आदेश दिएर मुद्दा सुनसरी अदालतमा पठाएपछि न्यायाधीश कोइरालाको इजलासले २७ भदौ २०८० मा सफाइ दिएको थियो । अदालतमा गिरीको महिला अनुयायीसँगको अडियो संवादलाई प्रमाणको रुपमा पेश गरिएको थियो । तर, मुख्य प्रमाणको रुपमा पेश भएको सो ‘अडियो रेकर्ड’ परीक्षण गर्ने व्यक्तिको योग्यता नै नपुगेको उल्लेख गर्दै गिरीलाई सफाइ दिने विवादित फैसला जिल्ला अदालत गरेको थियो ।
सरकारी वकिलको कार्यालयले जिल्लाको फैसलाविरुद्ध उच्च अदालत गएको हो । काठमाडौंबाट आएकी महिला अनुयायीलाई सिद्धबाबाले आफ्नो कुटीमा बोलाएर करणी गरेको दाबीसहित २०७६ मंसिर ११ गते प्रहरीमा जाहेरी दर्ता भएको थियो ।
मध्यरातमा भेट्न आउनु भनेर बोलाएपछि गएकी महिलालाई गिरीले जबर्जस्ती करणी गरेको आरोप छ । जिल्ला अदालतको फैसलाको पूर्णपाठमा अडियो रेकर्डको आवाज मिले पनि परीक्षण गर्ने नेपाल प्रहरीका कर्मचारीले कुनै विश्वविद्यालयबाट डिग्री नलिएको र अडियोको विश्वसनीयतामा पनि प्रश्न उठेका कारण प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने उल्लेख छ ।
पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि सिद्धबाबाले विराट नर्सिङ होमको बेडबाट महिलालाई फोन गरेर ‘अब त्यस्तो हुँदैन, त्यस्तो भयो भने लिङ्ग काटेर फालिदिन्छु’ भन्दै माफी मागेको अडियो सार्वजनिक भएको थियो । प्रहरीको विधिविज्ञान प्रयोगशालामा परीक्षण गर्दा सिद्धबाबाको आवाजसँग प्रमाणको रुपमा पेश भएको अडियो ७६.९ प्रतिशत मिलेको थियो ।