दिनेश श्रेष्ठ
विराटनगरको एलिट क्लबलाई बौद्धिक र राजनीतिक बहसको केन्द्रको रुपमा लिने गरिन्छ । नेपालका र कतिपय बाहिरका देशका राजदुतदेखि बौद्धिक र राजनीतिक क्षेत्रमा मानिसहरु आएर क्लबमा आफ्ना विचार प्रस्तुत गरेको इतिहास छ । यस पटक दक्षिण एशियाकै विशिष्ट विद्वानले नेपाल भारत सम्बन्धलगायत हाम्रो जटिलता, अप्ठ्याराहरुको बारेमा जुन विषय चर्चा परिचर्चा गर्नुभयो, त्यो महत्वपूर्ण थियो । कुनैबेला विराटनगरले आज जे बोल्छ वा सोच्छ, त्यो बाँकी नेपालले त्यसपछि मात्रै सोच्छ, बोल्छ भन्ने गरिन्थ्यो । त्यसको अर्थ विराटनगर विचार निर्माणमा वा नीति निर्माणको केन्द्र थियो । विराटनगरमा हामी विपी कोइरालाको नाम लिन्छौं । विपीभन्दा अगाडि पनि उहाँको बुबा कृष्णप्रसाद कोइरालाको पनि नाम लिन जरुरी हुन्छ । उहाँले पनि सामाजिक र शैक्षिक क्षेत्रमा विशिष्ट भूमिका खेल्नुभएको छ । उहाँको राजनीति, विचार, लिगेसीसँग कतिपयले असहमति राख्न सक्छन् । तर, सामाजिक, शैक्षिक क्षेत्रमा, शिक्षाको विकासमा, उन्नयनमा उहाँको ठूलो भूमिका छ । उहाँकै अगुवाइमा नेपालको दोस्रो विद्यालयको रुपमा आदर्श विद्यालय स्थापित भयो । दार्शनिक वा राजनीतिक रुपमा ठूलो अर्थ राख्ने नभन्लान् मानिसहरुले तर, शैक्षिक र सामाजिक क्षेत्रमा त्यसले विशिष्ट अर्थ राख्छ ।
विपीको राजनीतिक योगदान, साहित्यीक योगदान त विशिष्ट छँदैछ । सँगसँगै उनले सामाजिक लोकतन्त्र, लोकतन्त्रसहितको समाजवाद काँग्रेसको मूल ध्येय भन्ने विचार राखे । त्यो अहिले पनि काँग्रेसले आफ्नो चारतारे झण्डामा इतिहासको रुपमा, उप्रेणाको रुपमा अंकित गरेर हिँडेको छ । तर, अहिले वैचारिक रुपमा काँग्रेस विपीको विचारलाई अनुसरण गरेको वा पालन गरेर हिँडेको अवस्था छैन । नेपालमा मात्रै होइन, सोसलिष्ट आन्दोलनमा गैरकम्युनिष्ट समाजवादीहरुको विश्वमञ्चमा पनि विपीलाई विशिष्ट विचारक, दार्शनिक, अध्येता र कर्ताको रुपमा पनि लिने गरिन्थ्यो । त्यसकारण विपीको विचार निर्माणको दृष्टिकोणले, विचार प्रक्षेपणको दृष्टिकोणले नेपालमा मात्रै होइन विश्व परिप्रेक्ष्यमा महत्वपूर्ण योगदान छ । उनले साहित्यको क्षेत्रमा पनि महत्वपूर्ण योगदान गरेका छन् । विशेषगरी आख्यान साहित्य, कथा, उपन्यास र त्यसमा पनि यौन मनोविज्ञानलाई महत्वपूर्ण प्राथमिकता दिए । त्यो पनि एउटा विचारकै कुरा हो ।
मातृकाप्रसाद कोइरालाले पनि २००७ सालको क्रान्तिमा उनको भूमिका, पछिल्लो काँग्रेसबीचको द्वन्द्वमा उनको भूमिकाको आलोचना वा नकारात्मक ढंगले हेर्ने कुरा पनि छन् । तर, मातृका आफैंमा एउटा विशिष्ट विद्वान थिए । कोशीको कथा भन्ने उनको उत्कृष्ट गैरआख्यान छ । त्यो एक किसिमको संस्मरण र एक किसिमको इतिहास पनि हो । सँगसँगै पूर्वको कोशीको छेउछाउ र वरिपरिको समाज, इतिहास, भूगोलदेखि सभ्यता सबैलाई केन्द्रमा राखेर लेखेको एकदम महत्वपूर्ण पुस्तक हो । त्यसले पनि विचार निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ । राजनीतिक आन्दोलनमा विराटनगरका अन्य पात्रहरु गिरिजाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाललगायतले पनि महत्वपूर्ण भूमिका खेलेका छन् ।
बामपन्थी आन्दोलनमा माक्र्सवादीहरुको कुरा गर्ने हो भने मनमोहन अधिकारी पनि एक विचारक थिए । उनले नेपालको कम्युनिष्ट आन्दोलनमा एउटा विशिष्ट भूमिका खेले । त्यो भूमिका खेल्नुको पछाडि उनको विचारको कुरा पनि महत्वपूर्ण कुरा थियो । उनले पुरातनपन्थी कम्युनिष्ट विचारलाई अनुशरण गरेरै हिँड्नुको सट्टा, बढी व्यवहारिक, उदार र लोकतान्त्रिक भएर हिँड्ने प्रयत्न गरे । त्यो नै विचारको दृष्टिकोणले महत्वपूर्ण थियो । किनभने कुनै कम्युनिष्टहरुको आधारभूत सिद्धान्तमा अलिकति पनि विपरीत आलोचनात्मक कोणबाट हेरियो भने त्यो संशोधनवादी भइहाल्थ्यो । संशोधनवादी भएपछि उसको राजनीतिक विचनल भयो भनेर भनिन्थ्यो । उसको घोर आलोचना हुने र राजनीतिक भविष्य नै कम्युनिष्ट आन्दोलनबाट वहिष्कृत हुने सम्भावना हुन्थ्यो । तर, मनमोहनले त्यो कुरालाई खासै महत्व नदिइकन कम्युनिष्ट आन्दोलनलाई प्रगतिशिल र लोकतान्त्रिकरण गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरामा सँधै आफ्नो अभिव्यक्तिमा, लेखमा, सार्वजनिक मञ्चहरुमा भन्दै गए । त्यो पनि मेरो दृष्टिकोणमा महत्वपूर्ण वैचारिक पक्ष थियो ।
पछिल्लो कालमा सबैभन्दा महत्वपूर्ण वैचारिक नेताको रुपमा मदन भण्डारीको पदार्पण भयो । उनले करिब ३० को मध्यभन्दा अलिक पछाडिदेखि जनआन्दोलनको कालसम्म विराटनगरमै केन्द्रीत भएर संगठन र विचार निर्माणमा भूमिका खेले । उनले लिएको कतिपय विचारको नकारात्मक टिप्पणी पनि हुने गरेको छ । उनले कम्युनिष्ट आन्दोलन सिमानामा पुगेको बेला बर्लिनको पर्खाल भत्केको, पूर्वी युरोपका कम्युनिष्ट देशहरु विघटन हुँदै गइरहेको बेला जनताको बहुदलीय जनवाद सिद्धान्त प्रतिपादन गरे । सोभियत संघको विघटन भएको र ल्याटिन अमेरिकी देशहरुमा पनि थुप्रै बामपन्थी सरकारहरु ढलिरहेको अवस्थामा अझै कम्युनिष्ट आन्दोलनलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने कुरामा उनले सोचे । कम्युनिष्ट सिद्धान्तको आधारभूत कुरालाई नछोडिकन अगाडि बढ्ने प्रयास गरे । पूँजीवादीहरुले कम्युनिष्ट दर्शनको राम्रो कुराहरुलाई लिएर अगाडि आएको बेला पूँजीवादलाई परास्त गर्नक लागि कम्युनिष्टले पनि सुधार हुनुपर्छ, कम्युनिष्ट प्रणालीलाई बढी उदार बनाउनुपर्छ, व्यक्तिगत स्वतन्त्रता, आर्थिक स्वतन्त्रताको कुरामा ध्यान दिनुपर्छ र अरु लोकतान्त्रिक प्रणालीका आधारभूत मापदण्डहरु आवधिक चुनाव, बहुदलीय व्यवस्था, सरकार प्रतिपक्षका कुराहरुलाई लिएर हिँड्नुपर्छ भन्ने धाराणामा पार्टी हिँडाए । उनले माक्र्सवादलाई खारेज गरेका छैनन् । उनले वर्ग संघर्षलाई खारेज गरेका छैनन् । प्रगतिशिल रुपान्तरणको कुरालाई खारेज गरेका छैनन् । कम्युनिष्ट आन्दोलन पछाडि परेको बेला जबजको कुरा गरेर सिद्धान्त प्रतिपादन गरेर नेपालमा र विश्व कम्युनिष्ट आन्दोलनमा पनि महत्वपूर्ण भूमिका रहयो भन्ने मलाई लाग्छ । यस दृष्टिकोणले मदन भण्डारीको माक्र्सवादी, कम्युनिष्ट वैचारिकरणमा, विकासमा महत्वपूर्ण भूमिका रह्यो । उनको बारेमा अझै लामो कुरा गर्न सकिन्छ ।
नेताको मात्रै विचार हुँदैन । त्यसमा सामाजिक, नागरिक, बौद्धिक, साहित्यीक, शैक्षिक, प्राज्ञिक क्षेत्रका मानिसहरुले पनि समाजमा विचार निर्माणको निम्ति योगदान गरिरहेका हुन्छन् । विराटनगरमा पनि त्यस्ता अगुवाहरु छन् । ३० को दशकमा युवा कविहरुको ठूलो अभियानहरु संचालन भएको थियो । कृष्णभुषण बल नेपालकै परिप्रेक्ष्यमा अति नै शक्तिशाली कवि हुन् भनेर धेरैले भन्छन् । यहाँ म विचारको कुरा गरिरहेको छु । उनको काठमाडौंले…. शीर्षक…. भन्ने कविता छ । त्यो ३० को अन्त्यतिर लेखिएको कविता हो । त्यसमा विचारको ठूलो क्रान्तिकारी छलाङ मार्न खोजिएको छ । त्यहाँ काठमाडौंलाई केन्द्र मानेर संघीयताको पक्षमा, संघीयता भन्ने शब्द उल्लेख नगरिकन कुनैपनि राजधानी मात्रै सम्पूर्ण शक्ति (सामाजिक, राजनीतिक, बौद्धिक)को केन्द्र बन्नु हूँदैन र त्यसले देशलाई थाम्न सक्दैन भन्ने विचार छ । विचारको दृष्टिकोणले एकदमै सशक्त कविता हो, त्यो ।
नाट्य क्षेत्रमा पनि सुनिल पोखरेल विराटनगरकै युवा हुन् । उनले विराटनगरबाटै नाटकहरु आरम्भ गरेका हुन् । नेपालमा एकदमै वैचारिक दृष्टिकोणले विशेष प्रभाव छोड्नसक्ने नाटकहरुको निर्देशन उनले गरेका छन् । अहिले उनी काठमाडौंमा छन् । यस्तै घिमिरे युवराजले विश्व रंगमञ्चमा महत्वपूर्ण छाप छोडेका छन् । यस्तै गुरुकुलमा पनि केही राम्रो नाटकहरुले विचारमा योगदान पुर्याएको छ । साहित्यको क्षेत्रमा भन्ने हो भने नेपालकै सशक्त बालसाहित्यकार देवकुमारी थापाको ‘भविष्य निर्माण’ भन्ने कविता चर्चित छ । बालसाहित्यमा, बाल मनोविज्ञानको क्षेत्रमा व्यक्तिको मनोविज्ञानलाई कसरी प्रष्फुटित गर्न सकिन्छ । त्यसलाई कसरी संरक्षित, विस्तारित गर्न सकिन्छ र बालकहरुको भविष्यलाई सुन्दर, सशक्त र अर्थपूर्ण कसरी बनाउन सकिन्छ त्यसको निम्ति बालकहरुलाई… गर्नुपर्छ भनेर उनले आफ्ना कथा तथा कवितामा उल्लेख गरेकी छिन् ।
विचार निर्माणकै रुपमा भाषाको क्षेत्रमा योगदान पुर्याउने, इतिहासको बारेमा योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरु प्रा.बालकृष्ण पोखरेलको नाम आउँछ । उहाँले थुप्रै पृथक किताबहरु लेख्नुभएको छ । जुन किताबको लामो समयसम्म त्यसेले नेपालको राष्ट्रिय सांस्कृतिक, साहित्यीक अभियानलाई सहयोग गर्छजस्तो लाग्छ । उहाँले साहित्यको क्षेत्रमा विशेष गरी भाषाशास्त्रको क्षेत्रमा जुन विचार दिनुभएको छ । त्यो एकदमै महत्वपूर्ण कुरा हो । त्यस्तो सशक्त, एकदमै गौरवयोग्य इतिहास बोकेका थुप्रै पात्र हुनुहन्छ । मैले केही प्रतिनिधि नामहरु मात्रै लिएको हुँ ।
विराटनगरले एउटा ऐतिहासिक विरासत बोकेको थियो । तर, अहिले वैचारिक रुपमा किन यत्रो धेरै क्षयीकरण भयो ? भन्ने प्रश्न चाहिं एकदमै अहिलेको सबैभन्दा ठूलो ज्वलन्त प्रश्न हो । ज्ञानको दृष्टिकोणले वा साहित्य, संस्कृति, कलादेखि लिएर राजनीतिमा विराटनगरले विगतम त्यत्रो धेरै लगानी र योगदान गर्यो । तर, अहिले किन दिन सकिरहेको छैन ? यो धेरैले प्रश्न गरिरहेका छन् । विराटनगरमा भएका विभिन्न कार्यक्रमहरुमा भएका बहस, छलफल, अन्तरक्रिया कार्यक्रमदेखि लिएर विराटनगरका मानिसहरुले सोधेका प्रश्न, प्रस्तुत गरेका विचारहरुले त्यो कुरालाई पुष्टि गरिरहेको छ । वैचारिक रुपमा वा देशलाई नै एउटा विचार दिने संस्थाहरु भएको एलिट क्लबदेखि लिएर अरु थुप्रै ठाउँमा किन यस्तो भइरहेको छ ? छलफल अन्तरक्रिया निम्छरो जस्तो किन भइरहेको छ ? साहित्यको क्षेत्रमा पनि गतिलो साहित्य सिर्जना कम हुन थालेको छ । नाटकलगायतका क्षेत्रमा पनि खासै गुणस्तरीय, सम्झनायोग्य निर्माण भइनरहेको अवस्था छ ।
हामीसँग एउटा संस्था छ । नर्थ साउथ कलेक्टिभ भन्ने । त्यो संस्था करिब २०७५ देखि सुरु गरेका हौं । ज्ञानको स्थानीयकरण भनेर संस्था खोल्यौं । ज्ञान भनेको काठमाडौंमा मात्रै केन्द्रित हुनुहुँदैन । उपत्यकामा मात्रै केन्द्रित हुनुहुँदैन । संघीयता पनि संविधानले दिएको छ । अब सम्पूर्ण ज्ञान लागयतका कुरा स्थानीयकरण हुनुपर्छ । विराटनगर पनि ज्ञानको केन्द्र हो । यसको ऐतिहासिक महत्व छ । विराटनगरलाई फेरि ज्ञानको केन्द्र बनाउन सकिन्छ भनेर हामीले सुरु गर्यौं । त्यसमा धेरै माइकल हर्ट । जसमा मुनामदन नेपालीमा उल्था गरेका छन् । उनले नेपालको राजनीति बारेमा धेरै महत्वपूर्ण किताबहरु लेखेका छन् । उनी हामीकहाँ लेक्चर सेरिजसम्म आए । डाक्टर रतिस पनि हाम्रो कार्यक्रममा आइन् । उनले वेदको प्रगतिशिलताको कुरालाई रुढीबादी ब्राम्हणहरुले गलत व्याख्या गरेको कुरा गरिन् । त्यसमा भएका वैज्ञानिक कुरालाई अगाडि ल्याउनुपर्छ भनेर उनले भनेकी थिइन् ।
अहिले बुद्धको बारेमा विश्वस्तरमा नयाँ बहस भइरहेको छ । त्यो बहसलाई केन्द्रमा राखेर दिल्ली विश्वविद्यालयका प्रो.डा. गिरी…लगायत कार्यक्रममा आए । नेपालको अर्थनीति, नेपालको प्रशासन, नेपालको इतिहासलाई पञ्चायतदेखि अहिलेसम्म सबैभन्दा नजिकबाट सुक्ष्म ढंगले बुझ्ने र अभ्यासमा आफैं पनि सरोकारवाला भएर पूर्वअर्थसचिव, पूर्वअर्थमन्त्री भएर पञ्चायतदेखि पछिल्लो कालसम्म एउटा नेपालको नागरिक आन्दोलन, अभियानको शीर्षस्थ नेता डा. देबेन्द्रराज पाण्डे हामीकहाँ आएर आफ्नो विचार प्रस्तुत गर्नुभएको छ । हरि शर्माले पनि विचार दिनुभएको छ । खगेन्द्र संग्रौला, सिके लालदेखि लिएर वैरागी काइँलासम्म आएर विचार प्रस्तुत गरे । मुन्धुम पनि एउटा विचारकै कुरा हो । त्यसको बारेमा वैज्ञानिक र एउटा विस्तारिक अध्ययन हुनुपर्छ भनेर काँइलाले भन्नुभयो । हामीले करिब १५ वटा अन्तराष्ट्रिय स्तरका कार्यक्रम गर्यौं । भर्खरै हामीले दक्षिण एशियाको १२ वटा सुन्दर फिल्महरु देखायौं । त्यो नर्थ साउथ कलेक्टिभको आयोजनामा । तर, पनि धेरै मानिसहरु त्यहाँ आएनन् । तर, कलात्मक रुचि भएका अर्थपूर्ण फिल्म हेर्न रुचाउने मानिसहरुको राम्रै उपस्थिति रहयो । त्यो पनि विचार निर्माणकै लागि थियो ।
विराटनगरमा साहित्यिक बहस हुनुपर्छ । म त अझै के भन्छु भने काठमाडौंमा मार्टिन चौतारीमा हप्ताको चारवटा विशिष्ट विषय साहित्य, संस्कृति, कला, राजनीति अथवा समाज विज्ञानलाई लिएर एकदमै प्राज्ञिक बहस हुन्छ । अरुपनि थुप्रै केन्द्र छन् । चकटी बहस भएर अहिले नयाँ संचालन भइरहेको छ … । त्यहाँ एकदमै गम्भीर वैचारिक बहस हुन्छ । विराटनगरमा भने एकदमै कम भइरहेको छ । यो विराटनगरको सबैभन्दा ठूलो समस्या हो भन्ने पनि लाग्छ । हामीले विराटनगरमा एलिट क्लबमा शुक्रबारे बहस गरिरहेका छौं । तर, त्यो बहसलाई पनि जुन उच्चता, गति, गुणस्तर माथि पुर्याउने कुरालाई अझै ध्यान दिनुपर्ने परिस्थिति छ । त्यहाँ भएको बहसहरुमा धेरै कुराहरु फाल्तु, पपुलिष्ट कुराहरु भइरहेको अवस्था छ । काठमाडौंको जस्तो साहित्यीक बहसहरु वा राजनीतिक बहसहरु हुने अवस्था भए राम्रो हुन्थ्यो । महत्वपूर्ण किताब र विषयहरुमा बौद्धिक, प्राज्ञिक बहसहरु हुन जरुरी छ । अहिले कम भइरहेको छ । जस्तो हुनुपर्ने त्यस्तो भइरहेको छैन । जुनस्तरको पहिला हुन्थ्यो, अहिले भइरहेको छैन । त्यसको निम्ति विराटनगरले गम्भीर, संवेदनशील भएर सोच्नुपर्छ भन्ने मलाइ लाग्छ ।