मालपोत, छिमेकी र मितले मासेको मौजा

 वाशुदेव राजवंशी

अहिलेको विराटनगरको प्रवेशद्वार भएको ठाउँ जसलाई ढाटको नामबाट चिनिन्छ, त्यसको पुरानो नाम पहडगछ थियो । त्यहाँ राजवंशीहरुको एउटा सानो बस्ती थियो । अलि वर आएपछि खार्जी कोहभराको भित्रपट्टि एउटा बस्ती थियो । अनि एकैचोटी कञ्चनबारीको पश्चिमतिर र त्यसपछि गोग्राहमा बस्ती थियो । बरगाछीलाई डगरटोली भनिन्थ्यो, त्यहाँ राजवंशीहरुको बस्ती थियो । बिजुली अफिस आसपासमा दुसादहरुको बस्ती थियो । त्यसपछि एकैचोटी भट्टीमोड र महेन्द्र चोक पश्चिमतर्फ स–साना बस्ती थिए । अहिलेको महेन्द्र चोक भएको ठाउँमा सडक थिएन, पश्चिमतर्फ थियो । शंकरपुर, मधुमारामा पनि राजवंशीहरुको केही बसोबास थियो, त्यसबेला ।

पहडगछ, कोहभरा, गोग्राहमा राजवंशीहरु थिए । बिजुली अफिस वरिपरी दुसादहरुको बस्ती थियो । पुरानो डिएसपी कार्यालय अगाडि पाण्डेको घर थियो भने अहिले शिवमन्दिर भएको ठाउँमा राम्रो धानखेत थियो । त्यहाँ पश्चिममा एउटा नेवारको घर थियो । बाँकी विराटनगर क्षेत्रमा ७०/८० वर्ष अघिसम्म राजवंशीहरुकै करिव एकछत्र बसोबास थियो । यहाँको बाँकी जमिनमा केही भाग जंगल थियो भने बस्ती वरिपरी आवादी गरी खेती गरिन्थ्यो ।

राजवंशीहरुको अवस्था

हामी राजवंशी जाति हौं, तर यहाँ थारुसँग जोडेर हेर्ने गरिएको छ । हामी थारु होइनौं । अनि थारुहरु मुलवासी पनि होइनन् । उनीहरु राजस्थान र पाकिस्तानतिरबाट आएका हुन् । विशेषगरी थारुहरु थार क्षेत्रबाट आएका हुन् । त्यस समयमा मुसलमानहरुबाट हुने आक्रमणबाट जोगिन, आफ्ना चेलिबेटी र परिवार जोगाउन उत्तरतर्फ जंगलमा लुक्दैभाग्दै यहाँसम्म आए । उनीहरु फरक–फरक ठाउँमा पुगे र बसोबास गरे । सुदुरपश्चिममा राना थारु, डगौरा थारु, दनुवार थारु, सप्तरिया, कुचविहार क्षेत्रमा बस्ने कोचिला थारु (जसलाई मोरंगिया थारु पनि भनिन्छ) आदि । थारुका विभिन्न पहिचानहरु छन् । थार क्षेत्रबाट जोगिदै आएकाहरु जुन ठाउँमा पुगे, त्यहाँको परिवेश अनुसार आफ्नो पहिचान विकास गर्दै गएर उनीहरुको फरक–फरक पहिचान एवं भाषा र संस्कृतिको विकास भएको पाइन्छ । तर, मूलरुपमा उनीहरुको संस्कार, भाषा, संस्कृति र परम्परा थार क्षेत्रबाटै आएको हो । थारुहरुको थर (टाइटल)लाई विश्लेषण गर्दा पनि त्यो कुरा महशुस गर्न सकिन्छ । तवदार, सरदार, थान्दार, पेस्दार, गच्छदार आदि यस क्षेत्रका थिएनन् । नेपालमा राज्यले प्रयोग गरिआएका शब्दहरु जस्तै अड्डा, अदालत, फिराद, तहसिलदार, सुवेदार, खरिदार, तामेलदार आदि शब्दहरु कसरी प्रयोगमा आए भनेर अध्ययन गर्दा यहाँका जाति समुदायहरुको उद्गमथलोको बारेमा हामीले जानकारी लिन सक्छौं ।

नेपालको अहिलेको भूमि शरणास्थली हो । यो भूमिले सबैलाई शरण दिएको अध्ययनहरुबाट पाइन्छं । काठमाडौंमा गोपालवंशी, महिषपालवंशी, कर्णाटकवंशी, नागवंशी, लिच्छवीवंशी, किरातवंशी आदिले शासन गरे । ती सबै लुक्दैभाग्दै नेपालमा आएर बसोबास गरेका समुदाय हुन् । उनीहरु यहाँका मूलवासी थिएनन् । पृथ्वीनारायण शाहका पूर्खाहरु पनि गोरखाका मुलवासी होइनन् । मुसलमानहरुको आक्रमण र आतंकबाट जोगिन गोरखपुरतिरबाट भाग्दै आएर गोरखामा गोरखनाथको मन्दिर स्थापना गरी शासन गर्न थालेका थिए । राज्यविस्तार गर्ने क्रममा गोरखा राज्य विस्तार नगरी नेपाल राज्यलाई विस्तार गरे । काठमाडौंमा रहेको मच्छिन्द्रनाथको मन्दिर हामी राजवंशीहरुसँग पनि सम्बन्धित छ । त्यसलाई हामी पनि मान्छौं ।

राजवंशीहरु घरदेखि गाउँ र देशसम्म व्यक्तिगत र सामूहिक देवता मान्ने हिन्दु समुदाय हो । राजवंशीको घरमा पाँच देवीलाई स्थापना गरेर मान्ने प्रचलन छ । घरबाट निस्किएर गेटमा हनुमानको मूर्ती राख्ने हाम्रो संस्कृति हो । गाउँको देवताका रुपमा ग्रामथान राखिन्छ । त्यो अहिले पनि छ । ग्रामथान मच्छिन्द्रनाथकै स्वरुपको मन्दिर हो । राष्ट्रिय रुपमा हामी राजवंशीहरु मच्छिन्द्रनाथलाई मान्ने गर्छौं । कोचहरुलार्ई हामी राजवंशीको रुपमा लिन्छौं । ती हामीसँग सम्बन्धित छन् । हाम्रै समुदायका दुई दिदीबहिनीले कोचसँग विवाह गरेपछि विशु र शिशु नामका सन्तान जन्मिएका थिए । विशुले १९ वटी रानी विवाह गरेका थिए । कोच राज्य विस्तार भइरहेको बेला उनका सबै सन्तानहरु राजा रजौटा बनेका थिए ।

हामी त्योभन्दा पहिलेदेखि नै राजा विराटसँग सम्बन्धित हौं । राजवंशी समुदायबाटै राजा विराटको उदय भएको र त्यही वंश अहिलेसम्म राजवंशीको रुपमा परिचित छ । गोरखा राज्य विस्तार गर्दै जाने क्रममा पृथ्वीनारायण शाहले ४ जात ३६ वर्णको नारा दिएका थिए । उनले आफू फूलबारीको माली बन्ने आश्वासन दिएर यहाँका धेरै जातीय राज्यहरु नियन्त्रणमा लिएका थिए । तर, उनी कहिल्यै पनि फूलबारीको माली बनेनन्, शासक बने । राजवंशीहरु पनि उनै पृथ्वीनारायण शाहबाट आश्वासन पाएर ठगिएको र पीडित भएको समुदाय हो । हामीले फूलबारी बन्छ कि भन्ने विश्वास ग¥र्यौं । तर, हाम्रो भएको राज्य मात्र होइन जग्गाजमिनसमेत कसैले छोडेन । सबैले हामी राजवंशीहरुमाथि शोषण गरे । अहिलेसम्म पनि हाम्रो सम्पत्ति हडप्ने क्रम रोकिएको छैन । हाम्रो समुदायका एक जना जसको कुनै सन्तान भएन र उनले आफ्नो सम्पत्ति कसैको नहुने गरी सत्यनारायण मन्दिरको नाममा राखेर जानुभयो । त्यो मन्दिरको नामको जमिन पनि ९९ वर्षका लागि लिजमा दिने निर्णय गराएर हडप्ने प्रयत्न भएको छ । बल्लभ अधिकारीलाई मैले त्यो जग्गा हडप्ने प्रयत्न गरेपछि भनें ‘तपाइँ बल्लभ अधिकारी रहनुभएन, बल्लभ अन्सारी हुनुभो ।’

हामी राजवंशीहरुमाथि बाबरले, तुर्कहरु र मुगलहरुले जति अन्याय गरे । त्योभन्दा पनि बढी अन्याय यहाँका शासकहरुबाट गरिएको छ । बरु राणाहरुले अन्य जातिमाथि कम शोषण र दमन गरेको पाइन्छ । त्यसपछिको कुरा त के गर्नु ? अरु त अरु मैले यो राजवंशी हाट नामकरण गर्दा ठूलो विरोधको सामना गर्नुप¥यो । राजवंशी हाट बनाउँदा साम्प्रदायिक देखिन्छ भनेर मानगढ गेट बनाउने तयारी गरे । मैले भनें ‘मानगढ मौजा थियो कुनै बेला । त्यो तपाईँहरुले मासिदिनुभयो, न अहिले त्यो मानगढ छ न त मौजा नै बाँकी छ । अतिक्रमण गरेर रहन दिइएन । मानगढ मासेर अपमानगढ बनाएपछि किन गेट बनाउनु प¥यो भनेर मैले संघर्ष गरेर राजवंशी हाट र पछि राजवंशी चोक नामकरण गराएँ ।’ माओवादी द्वन्द्वको समयमा मानव अधिकारवादी संस्था आइसिआरसीसँग समेत राजवंशी चोक नामकरणको विवाद पुगेको थियो । तर, कसैले हटाउन सकेनन् ।

आफ्नो सम्पत्ति जोगाउन नसक्नुका कारण

राजाहरुको शासन थियो । सिधासाधाहरुलाई टाठाबाठाले ललाइफकाइ गरी जग्गा जमिन पास गराउँथे । सिडियोको सिफारिसबिना जग्गा पास नहुने व्यवस्था गरियो । त्यसपछि त त्यो क्रम झनै बढेर गयो । राजवंशीहरु मालपोत तिर्न सक्दैनथे । त्यसो भएपछि टाठाबाठाहरुले जग्गा हत्याउन थाले । राजवंशीहरुकोे भूमिमा छिमेकी बन्न विभिन्न जातिका मानिसहरु आए । पहाडेहरु र थारुहरु अनि अरु धेरै समुदायहरु आए । हामी सबैलाई छिमेकी बनाउन तयार भयौं । मित लगाउन तयार भयौं । चेलिबेटी विवाह गरिदिन तयार भयौं । त्यसले बिस्तारै राजवंशीहरुको सम्पत्ति गुम्दै गयो । गुमाउँदै जाने परिस्थिति बन्यो ।

आजभन्दा ५०÷६० वर्षअघिसम्म यहाँ धेरै जिम्दारहरु थिए । धेरै राजवंशीहरुका घरमा हात्ती पालिएका हुन्थे । केही भने जमिन्दारहरुसँग आश्रित थिए । रोगको महामारी धेरै चल्थ्यो । अरु कोही बस्न आउँदैनथे । राजवंशीका गाउँहरुमा पनि महामारीमा यति धेरै मानिस मर्थे कि मरेका मानिसको अन्त्येष्टि गर्नसमेत नसकेको समय मैले भोगेको छु । एकपटक हैजा फैलिएर एक जनाको मृत्यु भयो । अन्तिम संस्कार गरेर फर्कंदा गाउँमा अरु दुई जना मरिसकेका थिए । अवस्था यस्तो भयो कि मरेका लासहरु त्यतिकै सिंघीया खोला किनारमा फाल्न थालियो । लासले दूर्गन्धित भएकोले मानगढ पारिपट्टीको ठाउँको नाम घिनाघाट रहेको हो । नजिकैबाट अहिलेको केशलीया नदी बग्थ्यो । अहिले त्यसलाई घोघाह भनेर चिनिन्छ, त्यो अहिलेको केशलिया नदी हो । तर, धेरैलाई यो कुरा थाहा छैन ।

मेरो हजुरबुवाको पालामा हरैंचातिर ठूलो हात्तीसार थियो । सरकारी हात्ती त्यहाँ राखिन्थ्यो र राणाहरु बेलाबखत शिकार खेल्न आउँदा त्यही हात्तीसारमा बस्थे । ती हात्तीहरु चराउँदै हिँड्दा जसको खेतमा राम्रो धान फलेको हुन्छ, त्यही धान चराउँथे र काट्न लगाएर लग्थे । कसैले बोल्न सक्दैनथे । त्यसरी नै हाम्रो खेतमा पनि धान चराएछन् । मेरो हजुरबुवा सोपु विश्वास राजवंशी (विश्वास राणाले दिएको पद्वी)ले प्रतिवाद गर्नुभएछ । रिसाएर फर्केका राणाका मानिसहरुले अर्दलीमार्फत अड्डामा बोलाएर केरकार गरेछन् । त्यसपछि उहाँलाई काठमाडौं झिकाएर सरकारले हात्ती चराउन पाउँदैन ? भनेर सोधेछन् । उहाँले किसानले लगाएको राम्रो धान जबरजस्ती चराएपछि जनताले सट्टा पाउनुपर्छ, हात्तीले खान पाउनु पर्छ । तर, रैतीहरु पनि बाँच्न पाउनुपर्छ भनेर रोकेको हँु भनेपछि सरकारले चित्त बुझाएर हजुरबुवालाई विश्वासको पद्वी दिएर पठाएका थिए । मेरो हजुरबुवाकै कारण मोरङमा (अहिलेको झापा, मोरङ र सुनसरी)मा सरकारी हात्तीलाई खुवाउन किसानको धान जबरजस्ती काट्ने चलन हटेर गएको थियो । धान काटेर खुवाउनु परेमा कति खुवाएको हो, लेखेर दिने गरिन्थ्यो । मातपोत बुझाउन जाँदा त्यसको उत्पादन बराबरको मूल्य घटाइन्थ्यो । धेरै राजवंशीहरुले मालपोत तिर्न नसकेर आफ्नो जग्गा जमिन गुमाउनु परेको थियो । हामी राजवंशीहरुले यत्तिसम्म अन्याय भोगेर बसेका समुदाय हौं । हामीलाई लुट्न अहिलेसम्मका कुनै पनि शासक पछि हटेनन् । सबैले लुटिरहे ।

यहाँका राजवंशीहरुको जग्गा विराट राजाको दरवार भएको ठाउँभन्दा धेरै परसम्म थियो । सुगौली सन्धिपछि वन क्षेत्रलाई सिमाना मान्दा हाम्रो आवादी जग्गा धेरै भारततर्फ प¥यो । बबियाबिर्तादेखि विराटनगरसम्म ठाउँठाउँमा खेतीयोग्य जग्गाहरु थिए । राजवंशीका गाउँमा पाहुना आउँदा पाहुनालाई ल्याउन र लैजान छुट्टै गोरुगाडा राखिएका हुन्थे । त्यतिबेला गाईवस्तु बाँधेर राखेको मलाई जानकारी छैन । जताततै आफ्नै जग्गा हुन्थ्यो, अरुको बाली खाने डरै थिएन । राजवंशी चोकबाट करिव एक माइल क्षेत्रजतिमा हाम्रो आफ्नै जग्गा थियो । अरु धेरैको त्यस्तै अवस्था थियो । सरकारले दुग्ध विकास संस्थानका लागि हाम्रै ५ बिघा जग्गा अधिग्रहण गरेर लिएको हो । यहाँबाट दुहवी जान सजिलो थिएन । दुहवीबाट विराटनगर आउँदा त्यतिखेर व्यापारीहरु ठाउँ–ठाउँमा लुटिन्थे । ठुला डगरहरु थिए । डगर अतिक्रमण गर्न हुँदैन भन्ने मान्यता थियो । तर, अहिले ती डगरहरु मासिए । मासिए मात्र होइन, डगरको जग्गालाई शासकहरुले निजी सम्पत्ति बनाए ।

भाषा, संस्कार, संस्कृतिको अवस्था

हाम्रो भाषा, संस्कार, संस्कृति सबै समाप्त भएर गएको छ । हामी जुन ठाउँमा छौं, पश्चिममा मिथिला, दक्षिणमा अङ्ग, पूर्वमा बङ्गहरुको संस्कृति थियो । त्यति बेलैदेखि हाम्रो भाषा संस्कृति ठूलो अतिक्रमणमा प¥यो । हाम्रो भाषामा यी तीनवटै भाषाको मिश्रण पाउनुहुन्छ । खानपानमा पनि त्यो प्रभाव परेको छ । हाम्रो संस्कृतिअनुसार माघे संक्रान्तिमा दही चिउराको भोजन गराउने परम्परा छ । यो संस्कृति बिहारका लालु यादवहरुमा पनि छ । मैथिल ब्राह्मणहरुमा पनि छ । हाम्रो समुदायमा सबैभन्दा विनास राजा विराटकै भयो । त्यो युद्धमा ज–जसले भाग लिए, त्यसबाट ठूलो विनास भएको छ । त्यसबेला महिलाहरु पनि लडाइँमा जान्थे । महाभारतको युद्धमा धर्मकै विनास भयो । त्यसबाटै हाम्रो, भाषा, संस्कृति सबै चिजको विनास भएर गयो ।

हाम्रो त सर्वनास नै भयो । मिथिला ब्राह्मणबाट हामीले संस्कार गराउन थाल्यौं । दसैंमा पूजाआजा गर्दा हामी पहिले बोका चढाउँथ्यौं, अहिले विपन्नताले गर्दा घिरौंला चढाउन थालिएको छ । तर, हाम्रो संस्कृतिमा जोडी नै चढाउने (बोका पाठी) परम्परा छ । कतिपय हाम्रो चलनहरु लोप हुँदै गएको छ । समाप्त भइरहेको छ । मंसिरे धानको नुवागी खाने चलन थियो । त्यतिबेला फागुनमा छरेको मंसिरे धान मंसिरमै पाक्थ्यो । अहिलेजस्तो पहिले रोप्दा पहिले र पछि रोप्दा पछि पाक्ने हुँदैनथ्यो । हामी राजवंशीहरु राँगा जोत्दैनौं । हाम्रो संस्कृतिमा गोरु नै जोत्नुपर्छ । त्यसैले तिहार हाम्रो मुख्य पर्वको रुपमा रहेको छ । गोबद्र्धन पूजा गर्दा मूलघरको सिंढीमा गाईको गोबरले बनाएको गुँइठा बालेर नयाँ मंसिरे धानबाट पकाएको परिकार चढाउने प्रचलन थियो । त्यो मासिएर गयो । अहिले त त्यो मंसिरे धान पनि मासिएर गइसक्यो । अहिले नयाँ–नयाँ चलनहरु आएका छन् । अहिले छैठ मनाउन थालेको देख्छु । यो हाम्रो संस्कृति थिएन । अहिले त पहाडेहरुलेसमेत छैठ मनाउन थालेको देख्छु । हाम्रो तिहार मुख्य पर्व हो । त्यसमा पशुको पूजा गरिन्छ । हामी राजवंशीहरु त बाख्रालाई पनि तिहारमा पुज्ने गथ्र्यौं । त्यो पनि हराउँदै गयो ।

पहिले हामी कृषिमा पूर्ण निर्भर थियौं । हामीले कुरा गर्दा तिमीसँग भएको फलानो चिज देऊ म तिमीलाई धान दिन्छु भनिन्थ्यो । तर अहिले त्यस्तो अवस्था छैन । अब समाजबाट जातिवाद समाप्त हुनुपर्छ र राष्ट्रवाद स्थापित हुनुपर्छ । जातिवाद राजाहरुले धेरै अपनाए । सबै संरचनामा शाहीवाद लागू गरियो । राजा महेन्द्रको चरित्र राम्रै थियो । तर, जनताको स्वभाव र प्रवृत्तिले गर्दा पछिल्दा दिनमा उनी पनि आफ्ना सन्तानहरुका लागि सम्पत्ति जोड्ने काममै लागे । ब्राम्हणहरुले पनि त्यो जातिवाद लादेकै देखियो । राणाहरु पनि जातिवादबाट बाहिर जान सकेनन् । पछि आएका काँग्रेस कम्युनिष्टले पनि यो भन्दा पर गएर सोचेनन् । त्यसैले अब सबैको मिहिनेत राष्ट्रवादका लागि हुनुपर्छ ।

कुराकानीमा आधारित

बिहिबार, १३ बैशाख, २०८१

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर