‘तरबार हान्नेहरु गाउँमै छन्, बस्नै गाह्रो भयो’

विराटनगर । जग्गा सिमानाको सामान्य विवाद ज्यान मार्ने तहको आक्रमणमा परिणत भएपछि पीडितहरुले गाउँमा बस्नै नसक्ने अवस्था आएको बताएका छन् । दिउँसोको कयौं प्रत्यक्षदर्शीका अगाडि तरबार प्रहार गरी दुई जना युवाहरुको हत्या गर्न खोजिएको र उनीहरुविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भइसक्दा पनि प्रहरीले पक्राउ नगरेपछि पीडितहरुले आइतबार पत्रकार सम्मेलन आयोजना गरे ।
पीडितहरुले भने ‘तरबार हान्नेहरु गाउँमै डुलिरहेका छन् तर प्रहरीले खोजिरहेका छौं भन्दै उनीहरुलाई पक्राउ नगरी छाडिदिएको छ, यस्तो अवस्थामा हामी गाउँघरमा बस्न सक्ने अवस्था छैन, हामी त्रसित र आतंकित भएका छौं ।’

विराटनगरमा आइतवार पत्रकार सम्मेलन गरी पीडितहरुले आरोपीहरु खुलेआम घुम्दा निरिह बस्नु परेको र आफूहरु त्यहाँबाट विस्थापित हुने अवस्था आएको पीडित ममता यादवले बताइन् । ‘तरबार प्रहार गरी मेरा पतिलाई गम्भीर घाइते बनाइएको छ र उहाँको अस्पतालमा उपचार भइरहेको छ,’ घाइते सन्तलाल यादवका पत्नी ममता यादवले भनिन् ‘दोषीहरु गाउँमा खुलेआम हिंड्दैछन्, प्रहरीले पक्राउ गर्दैन, त्यसबाट हामी र हाम्रा बालबालिका सबै त्रसित भएका छौं ।’

‘हामीलाई केहि गर्न सक्दैन भन्दै गाउँमा उनीहरु घुम्ने गरेको देख्दा हामी सबै परिवार अत्यन्त त्रसित भएका छौं,’ ममताले भनिन् ‘डरकै कारण म अहिलेसम्म पतिलाई भेट्न अस्पताल गएको छैन किनभने घरमा मेरा बच्चाहरु डराइरहेका छन् ।’

सन्तालालको बुवा पञ्चाल यादवले आफूले खेतीको पैसा लिएर विराटनगर आइरहेका बेला पूर्व वडाध्यक्ष बलदेव यादवको निर्देशनमा नौं जनाको समूहले पैसा लुट्न लाग्दा छोरालाई फोन गरेर बोलाएको सुनाए । छोरा आउनासाथ उनीहरुले तरबारले काट्न थालेको उनको भनाइ थियो । ‘छोराले मोटरसाइकलको हेलमेट नलगाएको भए दुई टुक्रा बनाउने थिए, मसँग भएको चार लाख रुपैयाँ पनि उनीहरुले लुटेर लगे ।’

घटनाका अर्का घाइते प्रकाश यादवले पैसा लुट्न खोजेको सूचना पाएर जाँदा आफूहरुमाथि आक्रमण भएको तर प्रहरीले अहिलेसम्म पनि घटनालाई गम्भीररुपमा नलिएको बताए । उनले भने ‘ती मानिसहरु अहिले त्यहीँ घुम्दैछन्, प्रहरीले नदेखेजस्तो गर्छ, पूर्ववडाध्यक्ष यस्तो मुद्दा खाइदिने धम्की दिन्छन् अनि गाउँमा कसरी बस्नु, हामी न्याय खोज्न कता जानू ?’ उनीहरुले छिटोभन्दा छिटो पीडकहरुलाई कारवाहीको दायरामा ल्याउन माग गरे । घटनाको मुख्य अभियुक्त ३२ वर्षीय दिपेश यादव रहेको पीडितको भनाइ छ । उनीविरुद्ध किटानी जाहेरी दर्ता भइसकेको छ ।
मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीले घटनामा संलग्नलाई कारवाहीको दायारमा ल्याउने बताए । ‘उजुरी प्राप्त भएको छ । हामीले घटनाको अनुसन्धान गर्दै आएका छौं,’ एसपी कार्कीले भने, ‘आक्रमणमा संलग्नहरू कारवाहीको दायारमा आउेछन् ।’ उनीहरु फरार भएकोले खोजी कार्य भइरहेको उनले बताए ।

सोमबार, १० बैशाख, २०८१, दिउँसोको १२:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर