जथाभावी गुराँस फँडानी रोक्न स्थानीयको माग

संखुवासभा । संखुवासभा, तेह्रथुम र ताप्लेजुङ (टिएमजे)को संगमस्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गुराँस वन फँडानी रोक्न स्थानीयले माग गरेका छन् ।

तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गुराँस वन फँडानी रोक्न माग गर्दै दुईवटा सामुदायिक वनले जिल्ला प्रशासन कार्यालय संखुवासभामा ज्ञापनपत्र बुझाएका छन् ।

नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस यहाँ एकै ठाउँमा पाइने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनिएको छ । तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका तीनजुरे हात्तीसार सामुदायिक वन र पाथिभरा सामुदायिक वन क्षेत्रमा कोशी करिडोरले जथाभावी गुराँस फडानी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभामा ज्ञापनपत्र बुझाएका हुन् ।

कोशी करिडोरले प्रसारण लाइनका लागि २०७७।०७८ सालमा भएको सम्झौतामा ६२९ रूख कटान गर्ने अनुमति भएपनि विनासम्झौता हजारौँ गुराँसका बोट फँडानी गरेको हात्तिसार सामुदायिक वन उपभोक्ता समितिका सदस्य लालसिं मोक्तानले बताए । कोशी करिडोर २२० के.भी. प्रसारण लाइन निर्माणका क्रमका बिनाअनुमति डोजर लगाएर र रूख काटेर गुराँस वन फँडानी गरेको भन्दै उपभोक्ताले आपत्ति जनाएका हुन् ।

टिएमजे क्षेत्रभित्र गुराँसबाहेक अन्य प्रजातिका वनस्पति साना र पोथ्रा मात्र छन् । ‘गुराँस’को राजधानी भनेर चिनिने यो क्षेत्रको संरक्षणका लागि आएका गैरसरकारी संस्थाहरूले समेत प्रभावकारी काम गर्न नसक्दा गुराँस नासिने अवस्थामा पुगेको छ ।

धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूले भरिपूर्ण यो क्षेत्र कोशी प्रदेशकै उत्कृष्ट पर्यटकीय आकर्षणको केन्द्रको रूपमा विकास भइरहेको छ । तेह्रथुमको तीनजुरे, संखुवासभाको जलजले र ताप्लेजुङको मिल्के क्षेत्र मिलेर टिएमजे संरक्षित क्षेत्र बनेको छ । यो क्षेत्रलाई तीन जिल्लाको संगमस्थलको रूपमा समेत चिनिन्छ। यसकारण पनि यो क्षेत्रको संरक्षण गर्ने दायित्व तीनवटै जिल्लाका वन कार्यालय, सरोकारवाला र स्थानीय बासिन्दाको हो ।

पदयात्राका लागि रमणीय यो क्षेत्रमा वार्षिक ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक तिनजुरे पुग्ने गरेका छन् ।

आइतबार, ०२ बैशाख, २०८१, बिहानको ०९:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर