विराटनगर । सुनसरीको इनरुवामा गोली प्रहार गरेर लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने सुनसरी भोक्राहा नगरसिंह ५ का उमेश मुखिया र सोही ठाउँका ढिंगा भन्ने इब्रान मन्सुरी मियाँलाई पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।
लुटपाटमा संलग्न एक जना फरार रहेका छन् । उनको खोजी कार्यलाई सुनसरी प्रहरीले तीब्र बनाएको एसपी रेग्मीले बताए । प्रहरीले लुटपाटमा प्रयोग भएको मोटसाइकल र १ लाख २ हजार रुपैयाँ पनि बरामद गरेको छ ।
बुधबार दिउँसो हरिनगरा गाउँपालिका–२ का ३० वर्षीय आशिफ अन्सारीको साथमा रहेको ५ लाख ३५ हजार रूपैयाँ नगद दिउँसो २ः१५ बजेतिर लुटिएको प्रहरीले जनाएको छ । इनरुवा नगरपालिका–९ र हरिनगरा–३ को सिमानास्थित नहर नजिकको एकान्त स्थानमा लुटपाट गरेका थिए ।
अन्सारीले जग्गा बिक्री गरेको रकम बोकेर मालपोत कार्यालयबाट मोटरसाइकलमा घरतर्फ फर्कँदै थिए । त्यसैबेला उनीमाथि गोली प्रहार गरेर लुटेराहरुले अन्सरीको साथमा रहेको रकम लुटपाट गरेका थिए ।
लुटेरा समूहले एक राउन्ड हवाइ फायर गरेर रकम लुटेको प्रहरीले बताएको छ । लुटपाट गर्न गएका तीन जनामध्ये इभ्रानले मोटसाइकल चलाएका थिए भने उमेशबीचमा बसेका थिए । घटनापछि फरार भएका व्यक्ति मोटरसाइकलको पछाडि बसेका थिए । लुटपाटमा प्रयोग भएको हतियार प्रहरीले फेला पारेको छैन । फरार भएका व्यक्तिले हतियार लिएर गएकाले प्रहरीले उनको खोजी गरिरहेको छ ।