विराटनगर । सरकारी (सामुदायिक) विद्यालय भन्नासाथ धेरै अभिभावकहरु नाक खुम्च्याउँछन् । सरकारी स्कुलमा पढाइको गुणस्तर राम्रो छैन भन्ने आम धारणा छ, जुन केही हदसम्म सत्य पनि हो । त्यसैले अभिभावकहरु आफ्ना छोराछोरीलाई जसरी पनि बोर्डिङ स्कूलमा पढाउन खोज्छन् ।
आर्थिक अवस्था कमजोर भएका परिवारले पनि ऋणधन गरेरै निजी स्कूलमा बच्चा पढाउन चाहन्छन् । सामुदायिक विद्यालयहरुमा भने विद्यार्थीको अभाव हुन्छ ।
तर, विराटनगर महानगरपालिका भित्रका केही सामुदायिक विद्यालयमा भने यसको ठिक उल्टो स्थिति छ । यहाँका तीन वटा सामुदायिक विद्यालयहरुले निजी बोर्डिङ स्कूललाई शैक्षिक गुणस्तरमा चुनौती दिएका छन् । निजी स्कुलमा छोराछोरीलाई पढाइरहेका थुप्रै अभिभावकले आधारभूत तहपछि यिनी सामुदायिक विद्यालय रोज्न थालेका छन् । तर, त्यस्ता सामुदायिक विद्यालयमा भर्ना पाउन ठूलै पापड बेल्नुपर्छ । विराटनगरको पोखरीया, आर्दश र सत्यनारयण माविले नयाँ विद्यार्थी भर्ना लिन प्रवेश परीक्षा लिने गरेका हो । प्रवेश परीक्षामा उत्तीर्ण गर्ने विद्यार्थीलाई मात्र भर्ना लिने गरेको छ ।
विराटनगर ३ स्थित पोखरीया माविले नयाँ विद्यार्थी भर्नाको लागि सोमबार प्रवेश परीक्षा लिएको छ । कक्षा १ देखि ९ सम्म ६४५ जना विद्यार्थीको कोठामा २ हजार ४३१ जना विद्यार्थीहरुले आवेदन दिएका छन् । सोमबार ६ देखि ९ कक्षासम्म भर्ना लिन प्रवेश परीक्षा लिएको विद्यालयका प्रधानध्यापक खेमराज भट्टराईले जानकारी दिए । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती शिक्षक शिक्षिकाहरुका कारण पोखरीयामा विद्यालयमा छोराछोरी पढाउने धेरै अभिभावक लालायित हुने गरेका छन् । निजी छाडेर स्वतः स्फूर्त भर्ना हुन आएका विद्यार्थीर्को भीड थेग्न सकस परेको छ ।
अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि विद्यार्थीको चाप बढी भएपछि प्रवेश परीक्षा लिएर नाम निकाल्ने विद्यार्थीको मात्र भर्ना गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक भट्टराईले बताए । ‘यहाँ पढ्न चाहनेजति सबैलाई भर्ना गर्न सक्ने स्थिति नै हुँदैन, विद्यार्थीको चापका कारण प्रवेश परीक्षा लिएर त्यसको रिजल्टका आधारमा मात्रै भर्ना लिन थालेका हौंं,’ प्रअ भट्टराईले भने, ‘प्रवेश परीक्षा उत्तीर्ण गर्न नसक्नेलाई जो कसैले भनसुन गरे पनि भर्ना लिन्नौं ।’
अंग्रेजी माध्यमबाट पढाइ गर्दै उत्कृष्ट नतिजा दिँदै आएको यो विद्यालयले भर्ना लिन एक सय पूर्णांकको प्रवेश परीक्षा नै लिएको छ । विद्यालयले नयाँ शैक्षिक सत्रका लागि कक्षा १ देखि कक्षा ९ सम्म ६४५ जना विद्यार्थी भर्ना लिने तयारी गरेको छ । त्यसका लागि निजी विद्यालय छाडेर आएका २ हजार ४३१ जना बालबालिकाले छनोटमा पर्नलाई परीक्षा दिनेछन् ।
प्रवेश परीक्षा दिने सबैलाई विद्यालयको भौतिक पूर्वाधार र जनशक्तिका आधारमा भर्ना लिन सम्भव छैन । विद्यालय प्रशासनका अनुसार आवश्यकताअनुसार प्रवेश परीक्षा उत्तीर्ण नभएका विद्यार्थीको भर्नाका लागि मन्त्री, दलका नेता र जनप्रतिनिधिको दबाब थेगिनसक्नु हुन्छ । त्यसैले रिजल्ट टाँसेर एक सातासम्म शिक्षकहरू मोबाइल स्विच अफ गरेर बस्न बाध्य हुन्छन् ।
प्राचार्य भट्टराईका अनुसार ६ कक्षामा १२२ नयाँ विद्यार्थी भर्ना लिन सकिने गरी सिट व्यवस्था गरिएको छ तर ४१९ जनाले प्रवेश परीक्षा दिएका छन् । यसैगरी कक्षा ७ मा ६४ जनाको कोटामा ४७६ जना, कक्षा ८ मा १५० जनाको कोटामा ५३६ जना र कक्षा ९ मा ६५ जनाको कोटामा ३७४ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । कक्षा ९ मा प्राविधिकतर्फ ४८ जनाको कोटामा ९१ जनाले प्रवेश परीक्षा दिनका लागि फारम बुझाएको उनले बताए ।
मंगलबार १, २, ३, ४, ५ र प्राविधिक विषयको लागि कक्षा ९ मा नयाँ भर्ना हुने विद्यार्थीको लागि प्रवेश परीक्षा तोकिएको विद्यालयले जनाएको छ ।
सुनसरीको दुहबी १० स्थित बुद्ध आइडल कक्षा ७ मा परीक्षा दिएका खबिस चौधरी कक्षा ८ मा भर्नाका लागि अभिभावक वीरेन्द्र चौधरीले प्रवेश परीक्षा दिलाएका छन् । बुद्ध आइडियल स्कुलमा कक्षा ८ पढाउँदा वार्षिक कम्तीमा ८० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने हुन्छ । पोखरीयामा वार्षिक १२ हजार रुपैयाँ शैक्षिक सहयोग शुल्क तिर्दा पुग्ने भएकाले छोरालाई पोखरियामा पढाउन खोजेको चौधरीले बताए ।
‘अहिले छाएको आर्थिक मन्दी र सामुदायिक विद्यालयमै गुणस्तरीय शिक्षा दिने पोखरिया स्कुलमा छोरालाई प्रवेश परीक्षा दिन ल्याएको हुँ,’ उनले भने, ‘निजीमा चर्को शुल्क तिर्नुपर्ने बाध्यताले निजीसरह पढाइ हुने यो विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न अरु अभिभावक जस्तै म पनि आकर्षित भएको छु ।’ वीरेन्द्रले यसअघि उनकी छोरी सीमा चौधरीलाई पनि पोखरीयाबाट एसइई उत्तीर्ण गराएका थिए ।
सोमबार कक्षा ६ देखि कक्षा ९ सम्म भर्ना हुन प्रवेश परीक्षा दिन आएका सबै निजीका विद्यार्थी हुन् । प्राचार्य भट्टराईका अनुसार यो विद्यालयले अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि मोरङ, सुनसरी, झापा, सप्तरी, सिराह, जनकपुर, धनकुटा, संखुवासभा, भोजपुर र तेह्रथुमका निजी विद्यालय छाडेर विद्यार्थी आउन थालेका छन् ।
यो विद्यालयले २०७० देखि नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेर एसइईको नतिजा उत्कृष्ट दिएपछि निजी विद्यालय छाडेर भर्नाका लागि विद्यार्थी आउने क्रम बढेको हो । विद्यालयले व्यवस्थापन पक्ष र शिक्षण विधिमा सुधार ल्याएर पठनपाठन गराउँदा विद्यार्थीको आर्कषण बढेर कोटा निर्धारण गर्नुपरेको प्राचार्य भट्टराईको भनाइ छ । अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि विद्यालयको एसइई नतिजा उत्कृष्ट छ । उनका अनुसार प्लस ए, ए र प्लस बी मात्र होइन् । यो विद्यालयबाट हालसम्म ६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।
यो विद्यालयमा कक्षा ५ देखि १० सम्म मोरङ बाहिरबाट आएर पढ्ने एक हजारभन्दा बढी विद्यार्थी डेरा लिएर बस्छन् । विद्यालयका शिक्षक महेश गौतमका अनुसार विद्यालयको व्यवस्थापन पक्ष सुधार गर्दै शिक्षण सिकाइमा प्रविधि स्मार्ट बोर्डबाट अध्यापन, आईटीको प्रयोग, शिक्षकलाई सूचनामैत्री वातावरण र प्रिमन्टेश्वरी सेवा थप गरिएको छ । यो विद्यालयमा नर्सरी, केजी र कक्षा १ सम्म स्मार्ट टीभीमार्फत र त्यसमाथिका कक्षाका लागि स्मार्ट बोर्डमार्फत अध्यापन गराइन्छ । यो विद्यालयमा आफ्ना बालबालिका पढाउनेप्रति अभिभावकले कक्षा ९ र १० का लागि वार्षिक १४ हजार र कक्षा ६ देखि ८ सम्मकाले वार्षिक १२ हजार शैक्षिक सहयोग शुल्क तिर्दै आएका छन् ।
यस्तै विराटनगरमा रहेको आर्दश स्कुलले पनि भर्ना लिनको आइतबार प्रवेश परीक्षा लिएको छ । ४ देखि ९ कक्षासम्म ३७८ जनाको कोटामा २ हजार ११४ जना विद्यार्थीले परीक्षा दिएको विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए । निजी विद्यालय छाडेर आउने विद्यार्थीको चाप बढ्न थालेपछि भर्ना हुनको लागि सीमा निर्धारण गरिएको उनले बताए ।