बिक्रम लुइँटेल
नेपाल पत्रकार महासंघको आज स्थापना दिवस हो । नेपालको सक्तिय र निरन्तर रहेको सबैभन्दा पूरानो नागरिक अगुवा संस्थाको रुपमा पत्रकार महासंघ रहेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको महासंघ ६९ औँ वर्षमा प्रवेश गर्दैगर्दा यहाँभित्र अनेकौँ चुनौती र अवसरहरु देखिएका छन् । संस्थापक अध्यक्षको विवाददेखि लिएर पत्रकार महासंघभित्र हाबी हुन थालेको दलीय दृष्टिकोण पछिल्लो समयमा चुनौतीका रुपमा रहेका छन् । पत्रकार महासंघ साझा संस्थाका रुपमा रहेपनि कतिपय अवस्थामा यसले दलीय दृष्टिकोणहरुलाई प्रतिबिम्बित गर्दा आलोचित हुने गरेको छ । अहिले फेरी संस्थापक अध्यक्ष सत्यनारायाण श्रेष्ठ कि कृष्णप्रसाद भट्टराई भन्ने विवाद महासंघभित्र छिर्दा संस्थाको गरिमामाथि अनेकन प्रश्नहरु उब्जिएका छन् ।
मुलुकको लोकतान्त्रिक आन्दोलन र श्रमजिवी पत्रकारहरुको हकहितमा बोल्नुपर्ने संस्था केही वर्षयता श्रमजिवीको मद्धामा खरोरुपमा उत्रन सकेको छैन् । लोकतन्त्र र गणतन्त्रसाथै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अबिचलितरुपमा लडेपनि महासंघ श्रमजिवी र स्वरोजगारमूलक मिडियाका हकमा जुन रुपले प्रस्तुत हुनुपर्ने हो भइरहेको छैन । यो वर्ष नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचन हुँदैछ । यसले आम पत्रकारहरुको समस्या उजागर गरोस् भन्ने चाहाना पनि छ । पछिल्लो समयमा मिडिया क्षेत्रमा देखिएको आर्थिक संकटले पत्रकारहरुको पलायन पनि भइरहेको छ ।
भएका संसथाहरु बन्द हुन थालेका छन् । यी सबै समस्यासँग जुध्दै महासंघलाई बलियो र श्रमजीविको पक्षमा उभ्याउने अवसर पनि छ । स्रोतको समुचित वितरणमा पत्रकार महासंघले खबरदारी गर्न सक्यो भने मात्रै पनि निभ्न आटेको दर्जनौ मिडियाहरु बिउँतिनेछन् । तर, त्यसतर्फ हाम्रो ध्यानदृष्टि पुगेको छैन् । यो पुर्याउनका लागि पनि महासंघले पहल गर्नु जरुरी छ । नागरिक अगुवा संस्था भएको नाताले राजनीतिक स्थिरता र सुशासनका पक्षमा खरोरुपमा उभिँदै त्यसमा खबरदारी गर्नुपर्ने बेला आएको छ । छिनछिनमा हुने सरकार परिवर्तन र जनताका हितमा काम गर्न नसक्दा कतिपय कोणबाट व्यवस्थामाथि प्रहार हुन थालेको छ । यो परिस्थतिमा पत्रकार र महासंघ सतिसाल भ,ै उभिनुपर्छ । व्यवस्थामाथि प्रहार हुँदा न व्यवसायिक पत्रकारिता रहन्छ न त लोकतन्त्र न त अभिव्यक्ति स्वतन्त्रता ।
आज पत्रकार महासंघको स्थापना दिवस मनाइरहँदा ०६२÷६३ मा पत्रकारले खेलेको महत्वपूर्ण भूमिकालाई सोचेर मनन गरेर जनताको जीवनस्तर उकास्न पनि हाम्रो खबरदारी आवश्यकता परेको छ । मोफसलमा स्थानीय सरकारहरुको भरमा मिडिया हाउस चल्ने वातावरणले हाम्रा सुशासनका खबरदारीहरु भुत्ते हुन थालेका छन् । बेथिति र विकृतिका विरुद्धमा हाम्रा कलमहरु चल्न छाडेका छन् । आज नयाँ प्रविधिका मिडियाले मूलधारका मिडियाहरु ओझेलमा परेका छन् । हामीले नयाँ प्रविधिसँग जुध्दै समय सुहाउँदो पत्रकारिता गर्न जरुरी छ । हामी राजनीतिक आस्थाभन्दा माथि अनेकौँ लोभ र लालचभन्दा पर र जनतालाई साक्षी राखेर काम गर्न तर्फ लाग्यौं भने पनि यो देशको बेथिति सुधार हुनेछ । मुलुकको सुशासन ठिक ढंगले जान्छ । बढ्दो युवा पलायन र बेरोजगारी समस्यालाई न्युनीकरण गर्नका लागि पनि हामीले कलम चलाउनुपर्ने अवस्था छ । हामी यो वा त्यो व्यक्तिको मान्छे भनेर या त्यो संस्थाको मान्छे भनेर चिनिनेभन्दा पनि पत्रकारका रुपमा मात्रै चिनियौँ भने पनि देशको अवस्थाले कोल्टे फेर्न सक्छ ।
यी सबै कुराहरुलाई मनन गर्नुपर्ने आवश्यकता छ । एकातिर मिडिया मालिकहरुको रोजाइमा मात्र समाचार लेख्नुपर्ने बाध्यता छ । यो बाध्यताले जनताका खास आवाज आउन सकेको छैन । आजको यो दिवसले लोकतन्त्र र गणतन्त्र साथै पत्रकारिता पेसालाई मर्यादित र व्यवसायीक बनाउन हामीलाई प्रेरणा मिलोस् । अहिलेलाई यति नै शुभकामना ।