शोकाप्तिः हार्दिक श्रद्धाञ्जलि साहित्यका रक्तबीज परशु दाइ

  अनन्तराज न्यौपाने

मध्यावधि चुनाव २०५१ पछि सबैभन्दा ठुलो दलका हैसियतले नेकपा एमालेले सरकार बनायो । संसारमै राजतन्त्र भएको मुलुकमा कम्युनिस्ट प्रधानमन्त्री र कम्युनिस्ट पार्टीको सरकार बनेको बेला थियो । त्यागी नेता मनमोहन अधिकारी प्रधानमन्त्री भए । सञ्चारमन्त्रीमा प्रदीप नेपाल आए । उग्र र अतिरञ्जित स्वभाव र शैलीका नेपाल त्यस बेला एमालेको लडाकु दस्ताका प्रमुख थिए । एमालेले आफ्नो लडाकु युवा दस्तालाई लाल सेना नाम दिएको थियो । नेपाल लाल सेनाका प्रमुख थिए ।

परशु प्रधान त्यस बेलासम्म सरकारी सेवामै थिए । सायद उनी सूचना विभागको महानिर्देशक थिए (लेखकलाई ठ्याक्कै सम्झना छैन) । प्रधान र नेपालबिच गुरु शिष्यको सम्बन्ध थियो । प्रधान भोजपुर स्कुलमा प्रधानाध्यापक हुँदा नेपाल त्यही स्कुलका विद्यार्थी थिए । सञ्चारमन्त्रीमा आएपछि नेपालले प्रधानलाई सरकारी सेवाका विभिन्न आकर्षक र नेतृत्वदायी ठाउँमा लैजाने वचन दिए । तर नेपालको उग्रता र अतिरञ्जित स्वभावका सामुन्ने गुरुलाई दिएका सबै वचनले हार खाए । यसपछि प्रधानमा सरकारी सेवाप्रति विरक्ति सुरु भयो । तैपनि २०५३ सालसम्म उनले सरकारी सेवा छाड्न सकेनन् । यो वर्ष उनको जागिरे जीवनमा अर्को विडम्बना थपियो । तिनताक उनी लोकसेवा आयोगमा थिए र सहसचिवका लागि पक्का एवम् योग्य उम्मेदवार थिए । धेरै साथीभाइ र सहकर्मीले बधाइ पनि दिइरहेका थिए । तर सहसचिव बनाउने बेलामा उनीउपर ठुलो झ्याली गरियो । कार्यसम्पादन मूल्यांकनमा उनको ३ नम्बर नपुगेको भन्दै उनलाई सहसचिव हुनबाट वञ्चित गरियो । २०२७ सालमा एक नम्बरमा अधिकृत पास गरेका प्रधान यसरी षडयन्त्रमा परेर बढुवामा परेनन् । अर्को वर्ष उनी सहसचिव हुन्थे होला तर सचिव हुने टुंगो थिएन । त्यसैले सुषुप्त भइसकेको उनको २०५१को विरक्तिले यस पटक झ्याँगिने मौका पायो । उनले तत्काल जागिरबाट राजीनामा दिए र उनी सपत्नी विराटनगर बसाइँ सरे । जेठा छोरा प्रतीक पत्रकारितामा र कान्छा प्रतिबोध आफ्नै व्यवसायमा जमिसकेका थिए ।

सबैले प्रेम र आदरपूर्वक परशु दाइ भनेर सम्बोधन गरिने उनी विराटनगर आएर त्यत्तिकै बसेनन् । गर्जो टार्ने समस्याको समाधान गर्न उनले घरजग्गा खरिदविक्रीको काम गरे । र, त्योभन्दा पनि महत्त्वपूर्ण उनले विराटनगरको मुर्झाइसकेको साहित्यिक वातावरणलाई ह्वात्तै माथि उठाउन सशक्त, सफल र नेतृत्वदायी भूमिका निर्वाह गरे ।प्रजातन्त्रको पुनःस्थापनापछि विराटनगरको साहित्यिक वातावरण मलिन भइरहेको थियो । साहित्यिक संघसंस्थाहरू बर्सेनि नवीकरण मात्र गरेर आफ्नो कागजी अस्तित्व टिकाइरहेका थिए । विधानमा ‘पञ्चायती व्यवस्थालाई शिरोपर गरेर….’ भन्ने वाक्यांशका साथ गठन गरिएको पूर्वाञ्चल साहित्य प्रतिष्ठान पनि कुनै गतिविधिमा थिएन । पञ्चायत कालको उत्तरार्धमा यस प्रतिष्ठानले सरकारी छत्रछहारीमा प्रशस्त क्रियाशीलता देखाएको हो । प्रतिभा पुरस्कार प्रतिष्ठान वर्षमा एक पटक पुरस्कार वितरणमा सीमित थियो । अन्य संस्थाहरू निष्क्रिय भइरहेका थिए । यसैबिच परशु दाइको विराटनगर आगमन यस सहरका लागि कोरामिन सिद्ध भयो । उनकै नेतृत्वमा २०५४मा वाणी प्रकाशन सहकारी संस्था लिमिटेडको स्थापना भयो । यस संस्थाले १ सयभन्दा बढी कृतिको प्रकाशन गरेको छ । स्थापनादेखि नै वाणीले हरेक १५ दिनमा साहित्यिक गोष्ठी सुरु ग¥यो । यसपछि यहाँको वाङ्मयीय वातावरणले उर्वर स्वरूप धारण ग¥यो । विराटनगर एकाएक कविलेखक र साहित्यकारका लागि उर्वर भूमि बन्यो ।

त्यसो त, यो सहर पहिलेदेखि नै स्रष्टा र साहित्यसेवीहरूको थलो थियो । देवकुमारी थापा, बालकृष्ण पोखरेल, भानुभक्त पोखरेल, सुशीला भण्डारी, गणेश भण्डारी, कृष्णभूषण बल, प्रमोद प्रधान, विवश पोखरेल, बद्री भिखारी, नारायण तिवारी, नरेन्द्र चापागाईं, दधिराज सुवेदी लगायतका थुप्रै स्वनामधन्य साधकहरू आआफ्ना साधनामा तल्लीन थिए तर साहित्यिक वातावरणको निर्माण हुन सकिरहेको थिएन । यसका कारण नयाँ पुस्ता आउन पाइरहेको थिएन । विराटनगर आएर परशु प्रधानले सबैलाई जोड्ने मियोका रूपमा आफूलाई उभ्याए । वाणी प्रकाशनले एक दर्जनभन्दा बढी साहित्यिक पुरस्कारको स्थापना र वितरण ग¥यो । सबै कार्यक्रमका उत्प्रेरक परशु दाइ नै थिए ।

परशु दाइ आफू सिद्धहस्त एवम् वरिष्ठ कथाकार त छँदै थिए, वाणी प्रकाशननको स्थापनापछि पूर्वमा धेरै प्रतिभा जन्माउने श्रेय पनि उनलाई नै जान्छ । किशोर र युवाहरूलाई भाषा, साहित्य र कलाप्रति उन्मुख गराउने उनको शैली र स्वभाव बेजोडको थियो । उनी नयाँ पुस्ताका लागि प्रेरणा, मार्गदर्शक र एक सफल गुरु थिए । एक सफल साहित्यकारले धेरै अध्ययनपछि मात्र लेख्नुपर्छ भन्ने उनको मान्यता थियो । साहित्यमा उनी प्रयोग रुचाउँथे तर प्रयोगका नाममा ‘जे पायो त्यै’का विरोधी थिए । विराटनगरलाई उनले साहित्यिक शंखघोषले अनुगुञ्जित नबनाएको भए अनि उनको प्रेरणा, मार्गदर्शन र साहचर्य नपाएको भए आज मनु मञ्जिल, सीमा आभास, ज्योति जंगल, रमेश शायन र उमेश राई अकिञ्चनजस्ता कविलेखकहरू राष्ट्रिय स्तरका नहुन पनि सक्थे वा साहित्यिक आलोकमा प्रवेश नगरेका पनि हुनसक्थे । उनकै उत्प्रेरणा र दीक्षाबाट मीनकुमार नवोदित, मन्दिरा मधुश्री, उमेश लुइँटेल, जानुका खतिवडा, रीता खत्री, शर्मिला खड्का दाहाल, रीता ताम्राकार, रमेशचन्द्र अधिकारी, शुभलक्ष्मी लम्साल र सविता गौतम दाहालजस्ता सयौँ साहित्यकारको उदय भएको हो ।

तर समय सधैँ एकनाशले अघि बढ्दैन । ज्ञानेन्द्रले ‘कु’मार्फत् शासनसत्ता हातमा लिएपछि वासुदेव त्रिपाठीलाई एकेडमीको उपकुलपति बनाए । त्रिपाठीले विराटनगर बसिरहेका परशु प्रधानलाई काठमाडौँ बोलाए र एकेडमीको सदस्यसचिव बन्न आग्रह गरे । प्रधानले स्वीकृति जनाए । तर अन्तिममा त्रिपाठीले धोका दिए, सदस्य सचिव परशु होइन अरू नै कसैलाई नियुक्ति गरियो । प्रधान यसपछि झन् बिरक्तिए । उनको २०५१ र २०५३ को विरक्तिको घाउलाई वाणी प्रकाशनका गतिविधिले खाटा बसाइसकेको थियो । तर वासुदेव त्रिपाठीले झन् गहिरो घाउ बनाइदिए । वाणी प्रकाशनमा पनि उनको रिस, डाहा गर्ने धेरै हुन थाले, उनको सफल नेतृत्वलाई विवादमा पार्न थालियो । त्यसपछि उनले वाणीको नेतृत्वबाट पनि विदा लिए । यति बेलासम्म उनमा वाद्र्धक्यले घेरा हाल्न थालिसकेको थियो । त्यसैले सन्तानका आश्रयमा काठमाडौँ पुग्नु नै उनले श्रेयस्कर सम्झिए । यसपछि वाणी प्रकाशन के भयो त्यसको चर्चा नगरेकै वेश ।

काठमाडौँ पुगेपछि पनि उनी सक्रिय जीवनमै थिए । यसैबिच ७ वर्षअगि काठमाडौँका एक ठुला डाक्टरले उनलाई प्रोस्टेट ग्रन्थी र हर्नियाको शल्यक्रिया एकैपटक गर्नुहुन्छ भन्ने सल्लाह दिए । प्रधानले पनि यसै गरे । तर यो सल्लाह गलत साबित भयो । उनको वृद्धोन्मुख शरीरले दुई वटा शल्यक्रिया थाम्न सकेन । लामो समय उनी ओछ्यान परे । यो शल्यक्रियापछि उनको क्रियाशील साहित्यिक जीवन लगभग समाप्तजस्तो भयो । अन्ततः मंगलवार ब्राह्म मुहूर्तमा उनले धरतीसित विदा मागे । प्रोस्टेट र हर्नियाबाहेक केही रोग नभएका उनको मृत्युको कारण भने हृदयाघात बन्यो ।

परशु दाइ एक स्वाभिमानी राष्ट्रसेवक र साहित्यकार थिए । उनका शब्दकोशमा कुनै नेता, मन्त्री वा उच्च अधिकारीका घरमा बिहानबेलुका चाकडी बजाउन जाने शब्दहरू थिएनन् । देखेको कुरा बोल्न उनी पछि पर्दैनथे र डराउँदैनथे । साहित्य होस् वा अरू क्षेत्रमा, उनी राम्रोको प्रशंसा गर्थे र नराम्रोलाई झाँको झार्थे । यही स्वभावका कारण हुनुपर्छ, २०४६ र २०६३ को परिवर्तनपछिका सरकारले उनलाई कुनै पदप्रतिष्ठा दिएनन् । ज्ञानेन्द्रको कालमा पनि त्रिपाठीले बेइमानी गरे । राज्यले उनलाई जुन सम्मान वा अवसर दिनुपथ्र्यो त्यो दिएन ।

सत्य यही हो, परशु दाइ अब भौतिक रूपमा हामीबिच छैनन् । तर विराटनगर र पूर्वी नेपालले उनको साहित्यिक गुन सम्झिरहनेछ । नेपाली साहित्यका आकाशमा उनका धेरै मानसपुत्र र मानसपुत्रीहरू उज्ज्वल नक्षत्रका रूपमा चम्किरहेका छन्, लाग्छ परशु दाइ एक साहित्यिक रक्तबीज हुन् । उनीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।

बुधबार, ०७ चैत, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर