काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालसहित सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठविरूद्धको अपहरण तथा शरिर बन्दकसम्बन्धी जाहेरी लिन प्रहरीले अस्वीकार गरेको छ।
सांसद तथा पूर्वराज्यमन्त्री सुरेन्द्र यादवलाई उनीहरुले अपहरण गरी जनकपुरबाट काठमाडौं ल्याएको भन्दै दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्त गर्न नमानेको हो ।
जाहेरी दिन अपहरित भनिएका सांसद यादवसहित जनता समाजवादी पार्टीका नेताहरू आइतबार परिसर कार्यालय टेकु पुगेका थिए। सुरूमा मुद्दा शाखाका डिएसपीले महोत्तरीको भएकोले उतै गएर दर्ता गर्नु भनेपनि कार्यालय प्रमुख एसएसपी श्याम ज्ञवालीले दर्ता नगर्ने भन्दै फर्काएको नेताहरुले बताएका छन् ।
कार्यालय समय सकिने केही मिनेटअघि काठमाडौं परिसरका नवनियुक्त प्रमुख ज्ञवालीले जाहेरी ठाडै अस्वीकार गरिदिएको पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले जानकारी दिनुभयो। प्रहरीले जाहेरी लिन नमानेपछि टेकु पुगेका सांसद यादवसहित जनता समाजवादी पार्टीका नेताहरू फर्किएका छन्।
राज्य आफैँले अनुसन्धान गर्नुपर्ने घटनामा जाहेरी दर्ता नहुनु ओलीतन्त्रको अराजहता र अपराधिक हर्कत भएको नेता भट्टराईको दावी छ । राज्यको कानुन, विधान सबै लत्याएर सरकार आफैं अपहरणमा जोडिएको उहाँले बताउनुभयो ।
खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याइपुर्याएका थिए। पूर्वआइजिपी खनाल र पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उनकै योजना अनुसार काठमाडौं आउन सहजीकरण गरेको दाबी गर्दै आएका छन् ।
समाजवादी फुटाउने योजनासहित जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको थियो। तर, बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएर पार्टी सम्पर्कमा पुगेका थिए ।