विराटनगर । विराटनगर महानगरपालिकाले इन्धन खर्चका लागि २ करोड रुपैयाँ भन्दा बढी रकम विनियोजन गरी चालु आर्थिक वर्षको कार्यक्रम तथा बजेटको विस्तृत विवरण सार्वजनिक गरेको छ । गएको असार १० गते नगर सभामा एकमुष्ठ रकमसहित बजेट पारित गरेको महानगरले तीन महिनापछि मात्र कार्यक्रम शीर्षकमा रकम विनियोजन गरी सार्वजनिक गरेको हो । यद्यपि महानगरले कार्यक्रम तथा बजेट पुस्तिका भने प्रकाशन गरिसकेको छैन । महागनरको वेवसाइटमा सार्वजनिक विवरण अनुसार इन्धन खर्चका लागि महानगरले २ करोड ५ लाख ८० हजार रुपैंयाँ छुट्याएको छ ।
विभिन्न तीन शीर्षकमा महानगरले इन्धन खर्चको विनियोजन गरेको छ । महानगरले पदाधिकारीले खर्च गर्ने इन्धन सुविधाका लागि ७० लाख रुपैयाँ छुट्याएको छ । महानगरले कार्यालय प्रयोजनका लागि १ करोड २० लाख रुपैयाँ इन्धन खर्च छुट्याएको छ । ढल निकास परियोजना अन्तरगत सञ्चालित सवारी साधनमा प्रयोग गर्न भन्दै महानगरले छुट्टै शीर्षकमा १५ लाख ८० हजार रुपैयाँ इन्धन खर्च छुट्याएको छ । महानगरले इन्धन शीर्षकमा विनियोजन गरेको बजेट अनुसार सार्वजनिक बिदा बाहेक २७५ कार्यदिनमा हरेक दिन ७४ हजार ८३६ रुपैयाँ इन्धनका लागि मात्र खर्च गर्नेछ ।
इन्धन खर्चमा ठूलो रकम विनियोजन गरेको महानगरले विद्युत खर्चको नाममा विनियोजन गरेको बजेटले झन् धेरै बेथिति सिर्जना गर्न खोजेको देखिन्छ । हरेक वडालाई ५ लाख देखि ८ लाख रुपैयाँसम्म बिजुलीका सामान खरिद गर्न रकम उपलब्ध गराएको छ । महानगरका १९ वटा वडाका लागि बिजुलीका सामान खरिद गर्न १ करोड रुपैयाँ भन्दा बढी रकम खर्च गर्ने योजना बनाएको महानगरले विद्युत सम्बन्धी अन्य शीर्षकमा १ करोड ६१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । भर्खरै सार्वजनिक भएको कार्यक्रम तथा बजेट विवरणमा सडक बत्तीका लागि ९० लाख, पोलमा लाइन बिस्तार गर्न १० लाख, सोलार बत्ती मर्मत गर्न १० लाख, कार्यालय तथा सभागृह बत्ती ममर्त गर्न ८ लाख, सडक बत्ती मिटर जडान गर्न ५ लाख, जेनरेटर मर्मत, ब्याट्री खरिद गर्न ३ लाख, पानी तथा बिजुली शीर्षकमा थप ३ लाख र विद्यालय विद्युत महशुलका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ । यसरी महानगरले विद्युत प्रयोजनका लागि मात्र २ करोड ६० लाख रुपैयाँ भन्दा बढी रकम खर्च गर्ने गरी कार्यक्रम बनाएको छ ।
महानगरले पूर्वाधार विकास तर्फ साना कार्यक्रमबाहेक उल्लेख्य योजना अगाडि सारेको छैन । चालु आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड रुपैयाँको बजेट ल्याएको महानगरले वडास्तरीय योजना बाहेक नगरस्तरीय योजनाहरुमा खासै बजेट छुट्याएको छैन । नगरस्तरीय केही योजनाहरुमा २५ लाख रुपैयाँ दरले बजेट विनियोजन गरेको छ । महानगरले वितरणमूखी योजनाहरुमा ५० हजारदेखि २ लाख भित्रका सयौं योजनाहरुमा बजेट छर्ने गरी कार्यक्रम सार्वजनिक गरेको छ ।
महानगरले विविध खर्च र अन्य संघ संस्था अनुदानका तीन शीर्षक र वडाहरुले खर्च गर्ने गरी विनियोजन गरिएको विविध खर्च शीर्षकमा २ करोड ४७ लाख रुपैयाँ बजेट व्यवस्था गरेको । महानगरका हरेक वडाले ३ लाख रुपैयाँका दरले विविध खर्च छुट्याएका हुन् । महानगरका १९ वडाले विविध खर्चको नाममा ५७ लाख रुपैयाँ खर्च गर्ने छन् ।
संघीय अनुदानबाट महानगरमा सञ्चालन हुने योजना अन्तरगत कृष्णप्रसाद भट्टराईका सामुदायिक भवनको नाममा मात्र विभिन्न चार शीर्षकमा १ करोड २५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । विराटनगर ४ बस्ता डिलमा निर्माणाधीन सामुदायिक भवन निर्माण गर्न ५० लाख, सोही भवन निर्माण गरिरहेको फाउण्डेसनको भवनका लागि २५ लाख, उक्त भवनसम्म जाने बाटोको नाला बनाउन २५ लाख र भवन परिसरसँग जोडिएको बस्ता खोलामा ढल बनाउन २५ लाख विनियोजन गरेको महानगरको कार्यक्रम तथा बजेट विवरणमा उल्लेख छ ।
महानरले पत्रपत्रिकामा सूचना प्रकाशन गर्न भन्दै ७० लाख रुपैयाँ बजेट छुट्याएको छ भने सञ्चार माध्यम अनुदानका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । महानगरले आफ्नै रेडियो सञ्चालन गर्न भन्दै ११ लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ । त्यस बाहेक रेडियो सञ्चालन हुने तारणिदत्त कोइराला सञ्चारग्रामका लागि छुट्टै २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
महानगरले प्रदेश प्रहरी कार्यालय ब्याण्ड टोलीका लागि आवश्यक पर्ने बाजा खरिद गर्न भन्दै १० लाख रुपैयाँ बजेट छुट्याएको छ । उक्त बजेट प्रदेश सरकारबाट प्राप्त हुने अनुदान बाट खर्च गर्ने महानगरले उल्लेख गरेको छ । यस्तै महानगरले सामुदायिक विद्यालयहरुलाई पंखा खरिद गरेर वितरण गर्न भन्दै ३० लाख रुपैयाँ छुट्याएको छ ।