काठमाडौं । विवादास्पद अध्यादेश खारेज गर्ने निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्नुभएको छ ।
काँग्रेस सभापति देउवासँगको भेटपछि अध्ययक्ष प्रचण्डलाई पनि बालुवाटार बोलाएपछि अहिले तीन नेताबीचको छलफल भइरहेको छ ।
छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा एक घण्टापछि प्रचण्ड प्रवेश गर्नुभएको हो । कोरोना भाइरसको संक्रमणविरुद्ध सबै मिलेर अगाडि बढ्नेबारे छलफल भएको स्रोतले जनाएको छ ।
आफ्नै पार्टी र प्रतिपक्षसमेतको विरोधका कारण सरकारले शुक्रबार दुई अध्यादेश खारेज गरेको थियो । त्यसलगत्तै सुरुमा ओली र देउवाबीच तथा केहीबेरपछि ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो ।
आक्रामक रुपमा प्रस्तुत भएका प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरुले त सरकारले वैधानिक हैसियत गुमाएको भन्दै प्रधानमन्त्री फेर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए । यस्तै नेकपाका शीर्ष नेताहरुको बैठकले अध्यादेश फिर्ता लिन सरकारलाई सुझाव दिएको थियो ।