विराटनगर । बन्दाबन्दीका कारण काम छोडेर घरमा बस्न बाध्य भएका मजदुरहरुलाई यस अवधिको बेतन निशर्त उपलव्ध गराउन अखिल नेपाल औद्योगिक मजदूर संघले माग गरेको छ ।
संघको प्रदेश १ का अध्यक्ष सुमन मंग्रातीले जारी गरेको प्रेस विज्ञप्तिमा ‘बन्दाबन्दी अवधिको सम्पूर्ण तलब, बेतन सुविधा मजदुरहरुलाई बिना शर्त उपलव्ध गराउनका निम्ति सम्बन्धित संस्था र सरोकारवाला सबैमा हार्दिक आग्रह गर्दछौं ,’ भनिएको छ ।
सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योग र उद्योगीहरुको साझा संगठनले नै बन्दाबन्दीको अवधिको तलब वेतन मजदुरलाई दिन नसक्ने निर्णय गरेपछि मजदुर संगठनले त्यसको प्रतिकार गर्ने चेतावनी दिएका हुन् ।
भोक, अभाव र रोगले प्रताडित मजदुरलाई उत्तेजित र क्रोध तुल्याउन उद्योगीले सुनियोजित र षड्यन्त्रपूर्वक त्यस्तो धारणा सार्वजनिक गरेको भन्दै पारिश्रमिक नदिए त्यसपछि उत्पन्न हुने परिणामका लागि तयार रहन चेतावनी मजदुरहरुले दिएका छन् । विज्ञप्तिमा सम्भावित आन्दोलनका लागि तयार रहन मजदुरहरुलाई आव्हान गरिएको छ ।