समाजवादी र राजपाको एकतालाई रोक्न समाजवादी फुटाउने प्रयास, सांसद यादव फुटाउने समूहबाट फुत्किए

काठमाडौं । सरकारले ल्याएको अध्यादेशका कारण समाजवादी पार्टी फुटाउने तयारी भएको सूचना पाएपछि करिब एक वर्षदेखि चलेको एकता प्रक्रियालाई बुधबार राति राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले पूर्णता दिएका छन् ।

समाजवादी पार्टी फुट्ने अवस्था आएपछि त्यसलाई रोक्न रातारात राजपा नेपाल र समाजवादी पार्टी एकीकरणको सहमति भएको हो ।

पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको छ भने चुनाव चिन्ह राजपा नेपालकै छाता रहने भएको छ । झण्डा भने समाजवादी पार्टीले नै प्रयोग गर्दै आएको रहने सहमतिपत्रमा उल्लेख छ ।

दुई दलबीच एकीकरण भइरहँदा रेणु यादवको नेतृत्वमा समाजवादीका ८ सांसदले पार्टी विभाजनको तयारी गरिरहेका छन् । सरकारले दल विभाजनको लागि केन्द्रीय समिति वा संसदमा ४० प्रतिशत भए हुनेगरी अध्यादेश ल्याएपछि समाजवादी विभाजनको तयारी भएको थियो ।

समाजवादी पार्टी फुट्नुअघि एकीकृत भएको पार्टी जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा दर्ता भइ आधिकारिता प्राप्त गर्यो भने सो पार्टी फुटाउन सकस हुनेछ । किनभने अहिले समाजवादी पार्टी फुटाउनका लागि ४० प्रतिशत पुर्याउन ७ जना सांसद मात्र चाहिनेछ तर जनता समाजवादी पार्टी दर्ता भयो भने १५ जना सांसद चाहिन्छ ।

अहिले दुवै पार्टीसँग १७–१७ जना सांसद रहेका छन् । ३४ जना सांसद भएपछि पार्टी फुटाउन गाह्रो हुने भनेर नै रातारात दुई पार्टीबीच एकीकरण भएको हो । आज कुन पार्टी पहिला दर्ता हुन्छ त्यसले नै बाजी मार्नेछ ।

यद्यपी समाजवादीका नेताहरुले असन्तुष्ट सांसदहरुलाई मनाउने प्रयास जारी राखेका छन् । काठमाडौंको होटल मेरियटबाट सांसद सुरेन्द्र यादव असन्तुष्ट समुहबाट बाहिर आएका छन् । उनलाई अशोक राईसहितका नेताले होटलबाट उद्धार गरेको पार्टीका नेता विश्वदिप पाण्डेले जानकारी दिनुभयो । यादवलाई बुधबार जनकपुरबाट सरकारी सुरक्षामा काठमाडौं ल्याइएको थियो ।

अन्य सांसदलाई भने होटलमै बन्धक बनाएर राखिएको र भेट गर्नसमेत नदिएको सो पार्टीले जनाएको छ ।

बिहिबार, ११ बैशाख, २०७७, बिहानको ०९:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर