विराटनगर । मनपरी राहत बाँडेको आरोपमा प्रहरीले ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेको छ । हाम्रो नेपाल, हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाहीलाई ललितपुरबाट पक्राउ गरेको हो । मंगलबार राति १० बजे उनको डेराबाट नै पक्राउ गरिएको हो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई नै थ्रेट गरेको तथ्य खुलेपछि शाही पक्राउ परेका हुन । मनपरी राहत बाँड्न नपाएको भन्दै शाहीले सामाजिक सञ्जालमार्फत सिडियोको नम्बर सार्वजनिक गरेका थिए ।
शाहीले विगत केही दिनदेखि जथाभावी राहत वितरण गर्दै आएका थिए । लकडाउनको समेत उल्लंघन गर्दै राहत वितरण गरेपछि स्थानीय प्रशासनले शाहीलाई स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरेर राहत बाँड्न भनेको थियो । तर, जथाभावी राहत वितरण गर्दै हिडेपछि प्रशासनले उनलाई नबाँड्न भनेका थियो ।
सो भिडियो सार्वजनिक भएसँगै ललिपतुरका सिडियो भागिरथ पाण्डेलाई देश विदेशबाट फोनमा धम्क्याउने, मेसेजहरु पठाएर धम्की दिने क्रम बढेको थियो । शाहीको भिडियो सन्देशपछि देश विदेशबाट धम्की दिएपछि सिडियो पाण्डेले गृह मन्त्रालयका समकक्षीहरुसँग परामर्श गरेर उनलाई पक्राउ गरेको बताइएको छ ।
ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राईले लकडाउन उल्लंघन गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिनुभयो ।